पराजुलीको अवकाश विवाद सर्वोच्चमा

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादले सर्वोच्च अदालतमा प्रवेश पाएको छ । पराजुली साउन २१ गतेदेखि नै पदमा नरहेको दाबी गर्दै पेस भएको निवेदनलाई अस्वीकृत नगर्न सर्वोच्च अदालतले रजिस्ट्रारलाई आदेश दिएको हो ।

गत साउन २१ देखि नै पराजुली पदमा नरहेकाले उनले २०७४ साल फागुन ३० गते नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको शपथ अवैध हुने दाबी गर्दै अधिवक्ता नारायण खरेलले सर्वोच्चमा रिट दर्ता गर्न खोजेका थिए । तर चैत ६ गते उक्त निवेदन मुख्य रजिस्ट्रारले दरपीठ गरिदिए । दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो ।

प्रकाशित : चैत्र १४, २०७४ ०८:३०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अढाई दशकदेखि धोबीखोला करिडोर बनेको बन्यै 

विद्या राई

काठमाडौँ — दिलिपकुमार कार्की अनामनगरस्थित एक नीजि विद्यालयमा चालकको काम गर्छन् । विद्यार्थीहरुलाई विहान विद्यालय ल्याउने र बेलुका घरसम्म पुर्‍याउने उनको दैनिकी हो ।

सवारी चलाउनु उनका लागि जीविका धान्ने पेशा हो भने विद्यार्थीहरुको सेवा गर्ने आधार। तर उपत्यकामा सवारी जामले कहिलेकाहि त उनी आफ्नै पेशाप्रति दिक्दार पनि हुन्छन्। ‘जाम भएको बेला सिंहदरबारको पूर्वी गेटदेखि अनामनगर छिर्न एकघण्टासम्म लाग्छ, हेर्नुस्, यस्तो बेलाको दु:ख त भनिसाध्य छैन,’ उनी सुनाउँछन्।

विहान कार्यालय सुरु हुने तथा साँझ बन्द हुने समयमा जाम अत्यधिक हुन्छ। उनले विद्यार्थीहरुलाई विद्यालय ल्याउने र लैजाने समय पनि यसैबेला हुन्छ। हुन त काठमाडौ उपत्यकाको भित्रि रिङ्रोड विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबीखोला करिडोर करिव अढाई दशक अघिदेखि निर्माणको क्रममा छ। करिडोर हालसम्म निर्माण सम्पन्न नहुँदा सास्ती जस्ताको तस्तै छ। घट्टेकुलोका स्थानीय सुमन राई भन्छन्, ‘बाटो खनेको पाँच बर्ष भयो, ग्राभेलसम्म भएको छैन, उपत्यका (सुगम) को बसाइ भन्नुमात्रै। धुलोहिलो, खाल्डाखुल्डी दुर्गमको भन्दा कम छैन।’ करिडोरको ट्र्याक उनको घर नजिकैबाट खोलिएको छ। हिउँदमा धुलो र बर्षात्मा हिलोको सास्ती हुन्छ।



बढ्दो सहरीकरण र सवारी चापलाई व्यवस्थित गर्नका लागि सन् १९९३ मा बाग्मती दोभानदेखि राममन्दिरसम्म २४ किमि खण्डको करिडोर अवधारणा ल्याइएको थियो। धोबीघाट करिडोर आयोजनाले काम थालेको सात बर्ष अवधिमा एक अर्ब ४० करोड ६३ लाख ७४ हजार बजेट खर्च भैसकेको छ। पहिलो चरणको निर्माणसमेत हालसम्म सम्पन्न भैसकेको छैन। चालु आवमा ४५ करोड बजेट विनियोजन भएकोमा ४१ करोड खर्च भैसकेको आयोजना प्रमुख दिपक श्रेष्ठले बताए।

तर निर्माण ढिलाइ हुँदा यातायात आवतजावतमा समस्या छ। बस्तिभित्र धुवाँधुलोको सास्ती हुन्छ। यसैगरी हिलो, खाल्डाखुल्डीको समस्या हुन्छ। निर्माणस्थलहरुमा निर्माण सामाग्रीहरु जथाभावी छोड्दा दुर्घटनाको जोखिम हुने गर्छ। निर्माणको ढिलाइबारे पटक–पटक आवाज उठ्ने गरेपनि आयोजनाले सम्बोधन गर्न नसकेको उपभोक्ताहरु गुनासो गर्छन्।


अवधारणा आएको दशकपछि काठमाडौं महानगरपालिकालाई निर्माणको जिम्मा दिइएको थियो। करिव ६ वर्षसम्म काम गरेपछि पुर्वाधार विकासका लागि बजेटको अभावलगायतका कारण देखाएर महानगरले काम नगरेपछि धोबीखोला करिडोर सुधार आयोजनालाई हस्तान्तरण गरिएको थियो। तत्कालिन समयमा काठमाडौं उपत्यका नगर विकास समितिबाट सञ्चालन हुने गरी ०६४ मा हस्तान्तरण गरिएपनि पुर्वाधार विकासका काम ०६७ बाट सुरु भएका थिए।

हाल तीन चरणमा काम भैरहेका छन्। पहिलो चरणको बाग्मती दोभानदेखि बैजनी पुलसम्म एकापट्टिको निर्माण कार्य हालै सम्पन्न भएको छ। लामा–समानान्तर–महालक्ष्मी जेभीले ०७३ बैशाखबाट सुरु गरेको उक्त निर्माण दुईपटक म्याद थपेपछि करिब ढेडवर्षमा सम्पन्न गरेको छ। यस खण्डको दायाँबायाँ ५.५/५.५ किमि गरी ११ किमि लम्बाइ र ९ मिटर चौडाइ छ। करिडोरभित्र पर्ने सडकमा अधिकार सम्पन्न बाग्मती सरसफाई समितिले ढल हाल्ने सहमति भएकामा उसले निर्माण एकवर्षसम्म ढिलाई गरेकाले पटक–पटक म्याद थप्नुपरेको थियो।
वैजनी पुलदेखि निलो पुलसम्म दोस्रो चरण गतवर्षको ०७३ पुसबाट सुरु भएको थियो। कान्छाराम समानान्तर कमलजीत जेभीले निर्माणको जिम्मा लिएको छ। हालसम्म हरियो पुल, सिम्रिक पुल, सेतोपुल, रातोपुल, कालोपुल र पहेलो पुलमा मोड सुधारका लागि ५.६२ रोपनी जग्गा अधिग्रहण गरी मोड सुधार गरिएको आयोजनाले जनाएको छ। तेस्रो चरणमा निलो पुलदेखि भंगाल पुल हुदै राममन्दिर खण्डमा पनि मोड सुधार सकिएको छ। यसखण्डको निर्माण समानान्तर कमलजीत उमायङ कम्पनीले गत पुसबाट सुरु गरेको थियो।

आयोजना प्रमुखका अनुसार असार मसान्तसम्ममा पहिलो चरणको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ। दोस्रो चरणको ग्राभेल सम्पन्न गरेर कालोपत्रे गर्ने तथा तेस्रो चरणको ७ किलोमिटरमा ग्राभेल गर्ने, जसमध्ये ३ मिलोमिटरमा कालोपत्रे गर्ने र २ किलोमिटरमा फुटपाथ बनाइसक्ने जानकारी गराएका छन्।


निर्माण ढिलाइका सन्दर्भमा करिडोर बीचमा ढल निर्माण, मेलम्ची खानेपानी विस्तार, अव्यवस्थित विधुत विस्तार, जस्ता अन्य निर्माण योजना बाधक बनेको बताए। ‘करिडोरको बीचैमा कतिबेला कसले कहाँ खनिदिन्छ थाहै हुँदैन, आयोजनाको काम गर्न भनेर निर्माण स्थल पुग्दा कहिले मेलम्ची खानेपानीको डोजर सडक उल्टाएको हुन्छ, कहिले बिधुतको, कहिले ढलको यसरी हुँदा निरन्तर काम गर्न नपाएर सुस्त देखिएको छ हो,’ उनले भने।

यसैगरी बैजनी–भंगाल खण्डमा सुकुम्बासी बस्तीका कारणले पनि आयोजना अगाडी बढाउन समस्या छ। यस खण्डमा २८ परिवारको सुकुम्बासी बस्ती छ। आयेजनाले क्षतीपुर्ती दिन सक्ने तर मुआब्जा दिन तथा अन्यत्रै व्यवस्थापन गर्न नसक्ने भएपछि विस्तारमा अवरोध भइरहेको छ। सुकुम्बासी परिवारले भने स्थायी बसोबासको माग गरिरहेका छन्। सुकुम्बासी व्यवस्थापनका लागि जनप्रतिनिधिहरुसंग समन्वय गर्ने काम भइरहेको छ। प्रचण्ड प्रधानमन्त्री भएका बेला सुकुम्बासीहरुलाई हटाउन नपाउने वक्तव्य दिएकाले व्यवस्थापनमा अवरोध भैरहेको श्रेष्ठले बताए।

धोबीखोला करिडोर सम्पन्न गरेर पुर्ण रुपमा सञ्चालनमा ल्याउने हो भने उपत्यकाको जाम केहि हदसम्म कम गर्न सकिने महानगरीय ट्राफिक प्रहरीका एसएसपि उमेश रञ्जितकारको भनाइ छ। ‘पुलहरु मुनीबाट सवारी साधनहरु चल्ने हुनुपर्यो, सिधै आइरहेको सवारी पुलमाथि चढेर पारी तर्नुपर्यो भने पुलबाट आउदै गरेको सवारीसंग जुध्न सक्छ झन समस्या हुन्छ,’ उनले भने।

प्रकाशित : चैत्र १३, २०७४ २२:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT