१० वर्षपछि ट्राफिक लाइट

‘ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न निकै फितलो भएको थियो । बत्ती हुनैपर्छ । ट्राफिकलाई उपत्यकाकाको धूलो–धूवाँले निकै हैरानी गरेको छ । लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौं ।’
दीपेन्द्र विष्ट

काठमाडौँ — उपत्यकाका ७ स्थानमा दस वर्षपछि ‘स्मार्ट ट्राफिक’ बत्ती बल्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौं महानगरपालिकाले मर्मत तथा नयाँ जडान गरेर महाराजगन्जस्थित नारायणगोपाल चोक, सोल्टी मोड, नयाँबानेश्वर चोक, पुतलीसडकस्थित पद्मोदय मोडमा मंगलबार लाइट राखिएको हो ।

१० वर्षपछि ट्राफिक लाइट

त्यस्तै कुमारी बैंक र काठमाडौं महानगरपालिकाअगाडि स्मार्ट ट्राफिक लाइट जडान गरिएको छ ।

पहिलो चरणमा नमुनाका रूपमा यी चोकमा जडान गरेयता केही दिनभित्रै अरू ठाउँमा पनि बत्ती राखिनेछ । स्मार्ट ट्राफिक लाइट जडान जिम्मा यार्सा टेक्नोलोजीले लिएको थियो । सडक विभागले बिग्रेका बत्तीको मर्मत नगर्दा १० वर्षदेखि ट्राफिक प्रहरीले हातको इसारामा सवारी नियन्त्रण गर्दै आएका थिए । बिग्रेका बत्तीको मर्मत तथा जडान हुन नसकेको भन्दै यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको चर्को आलोचना भएपछि सरोकारवाला निकायले प्रक्रिया अघि बढाएको हो ।

पैदलयात्रीलाई समेत अप्ठ्यारो भएकाले ट्राफिक जेब्रा क्रसिङमा समेत बत्ती राख्न सुरु गरिनेछ । महाराजगन्ज शिक्षण अस्पतालअगाडि, हरिहरभवन र जावलाखेलको जेब्रा क्रसिङमा बत्ती राख्ने उनले जानकारी दिए । जेब्राक्रसिङमा राखिने बत्तीमा साइरनसमेत जडान गरिनेछ । जसले गर्दा रातो बत्ती बलेको बेला दृष्टिविहीनलाई समेत सडक पार गर्न सजह हुनेछ । बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक बत्ती जडान प्रक्रिया अघि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी सर्वेन्द्र खनालले जानकारी दिए ।

उनले भने, ‘लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौं । पहिलो चरणमा यी ७ स्थानमा जडान गर्दै छौं । बिस्तारै अन्य स्थानमा काम अघि बढाउँछौं । अब यात्रुले ट्राफिक जाममा बढीमा डेढ मिनेट पर्खनुपर्नेछ ।

ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न निकै फितलो भएको छ । बत्ती हुनैपर्छ । ट्राफिकलाई उपत्यकाकाको धूलो–धूवाँले निकै हैरानी गरेको छ । लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौं ।’

एक ठाउँमा भएको ट्राफिक जामले पूरा उपत्यकामा दिनभर असर पार्ने उनले बताए । हाल जडान गरिएको नयाँ प्रविधि भएको दाबी गर्दै उनले नियन्त्रण कक्षबाट सबै सवारी आवतजावत तथा ट्राफिक जामको अवलोकन गर्न सकिने बताए । यार्सा टेक्नोलोजीका इन्जिनियर सिद्धिक अन्सारीले पाँच वर्षसम्म लाइटको मर्मत तथा सम्भार जिम्मा आफूहरूले लिने बताए ।

सोलारबाट लाइट बाल्ने यार्सा टेक्नोलोजीका रामचन्द्र खड्काले बताए । पछिल्लो समय १० लाखभन्दा बढी सवारीलाई १ हजार २ सय ट्राफिक प्रहरीले हातको इसाराले नियन्त्रण गर्नुपरेको छ । लाइट जडानपछि ट्राफिक प्रहरीलाई केही राहत हुने डीआईजी खनालले बताए । विभागका अनुसार उपत्यकामा ३ सय ६५ बत्ती भए पनि हाल ५ स्थानमा मात्र सञ्चालनमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले उपत्यकाका ३५ स्थानमा ३७ ट्राफिक बत्ती जोड्ने तयारी गरेको छ । लाइट नहुँदा ट्राफिक प्रहरीलाई सास्ती भएको भन्दै चाँडो जडान गर्न सडक विभाग र काठमाडौं महानगरलाई पत्र पठाएको खनालले बताए । विभागले बढ्दो ट्राफिक जामलाई व्यवस्थित गर्न आधुनिक तथा प्रविधियुक्त ट्राफिक लाइट जोड्ने तयारी गरेको हो ।

माइतीघर, तीनकुने, जयनेपाल हल, थापाथली चोक, जावलाखेल चोकमा लाइट जडान गरिनेछ । त्यस्तै त्रिपुरेश्वर, दरबारमार्ग, भद्रकाली, कमलपोखरी, जमल, लौनचौरलगायत क्षेत्रमा पनि जडान गरिनेछ । सडक विभागका महानिर्देशक गोपाल सिग्देलले नेपाली प्रविधिअनुसार पहिलो पटक ट्राफिक बत्ती जडान गर्न थालिएको बताए ।

प्रकाशित : चैत्र १४, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?