काभ्रेलाई प्रदेश राजधानी तोक्न प्रस्ताव दर्ता

नगेन्द्र अधिकारी

हेटौंडा — काभ्रेलाई प्रदेश राजधानी तोक्न ३ नम्बर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।एमाले सांसद चन्द्रबहादुर लामा प्रस्तावक र सांसदहरु बसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक रहेर प्रस्ताव दर्ता गरिएको हो ।

प्रदेशसभा सचिवालयमा हेटौंडाको अस्थायी मुकाम सार्न पहिलोपटक औपचारिक प्रस्ताव दर्ता गरिएको हो।

संविधानको धारा २८८ को उपधारा (२) अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्नेछ।

प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधारलगायतका दृष्टिकोणले काभ्रेको बनेपा, पनौति र धुलिखेल नगरपालिकास्थित आईटी पार्क रहेको स्थानमा प्रदेश राजधानी तोक्न काभ्रेका प्रदेशसभा सांसदहरुले प्रस्ताव गरेका छन्।



प्रकाशित : चैत्र १४, २०७४ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुरु भयो सन्दीपको आईपीएल यात्रा

सुरेशराज न्यौपाने

नयाँदिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली ओर्लनासाथ आफ्नो क्लब दिल्ली डेयरडेभिल्सका प्रायोजकका लागि फोटोसुट र नेट अभ्यासमा व्यस्त भएका छन् । सन्दीप मंगलबारमात्र दिल्ली आइपुगेका हुन् । 

यसैबीच बुधबार साँझ ५:३० देखि उनले र टोलीले दिल्ली डेयरडेभिलको गृहमैदान फिरोज शाह कोटला मैदानमा नेट अभ्यास सुरु गर्ने कार्यक्रम छ । आफ्नो व्यस्तताबारे सन्दीपले भने, ‘म यहाँ आउनासाथ फोटोसुटमा व्यस्त छु, बुधबारदेखि अभ्यास पनि सुरु हुँदै छ ।’ सन्दीप र उनको टिम नयाँ दिल्लीको बाह्रखम्बास्थित ललित होटलमा बसेको छ ।

आईपीएलकै पहिलो नेपाली खेलाडीका रूपमा सन्दीप र उनको खेलप्रति नेपालमा मात्र होइन, भारतमै पनि विशेष चासोसाथ हेरिएको छ । सन्दीपको खेलबारे सोधिएको प्रश्नमा दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले सन्दीपको खेलसँग आफू परिचित नभए पनि आईपीएल उनका लागि राम्रो प्लेटफर्म हुने बताए ।

सन्दीपले भने आईपीएल र आफूले पाएको अवसरबारे खासै प्रतिक्रिया जनाएनन् । ‘यसलाई सामान्य रूपमा लिएको छु, कुनै दबाब छैन,’ उनले भने । दिल्ली डेयरडेभिल्सले किंग्स इलेभन पन्जाबविरुद्ध उसैको गृहमैदान मोहालीमा ८ अप्रिलमा खेल्नेछ । दिल्ली अप्रिल ६ मा मोहाली जाने कार्यक्रम छ ।

प्रकाशित : चैत्र १४, २०७४ १८:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT