तीन छोरा नै बाकसमा...

होम कार्की

काठमाडौँ — एक साताअघि मात्रै मलेसियाबाट काठमाडौं फर्किएका थमबहादुर रोकालाई उनका कान्छो भाइ धर्मलालले आफू पनि दसैंमा जसरी भए पनि फर्किने बताएका थिए । ‘म दसैंमा आउँछु, त्यतिन्जेल घर गएर तपाईंले बुबाआमालाई हेर्नुहोला,’ साइँला दाइ थमबहादुरलाई कान्छाले भनेका थिए । धर्मलाल आफूले भनेको भन्दा निकै अघि बुधबार नै काठमाडौं आइपुगे तर बाकसमा बन्द भएर । 

मलेसियामा मृत्यु भएका म्याग्दीका ३४ वर्षीय धर्मलाल रोका ।

म्याग्दी मालिका–२, रुमको रोका परिवारका दुई छोराको यसअघि नै वैदेशिक रोजगारीमा गएको देशमा मृत्यु भइसकेको थियो । चार दाजुभाइ भएको परिवारका कान्छा धर्मलालको चैत ११ गते मलेसियामा मृत्यु भयो । उनका जेठा दाइ समबहादुर रोकाको १० वर्षअघि मलेसियामा, माइला भक्तबहादुरको १२ वर्षअघि कतारमा मृत्यु भएको थियो । चारै जना वैदेशिक रोजगारीमा गएकामा साइँला थमबहादुर मात्र सकुशल नेपाल फर्किए । ‘कान्छोको बाटो हेरिरहेका बाआमालाई कुन हृदयले बाकस खोलेर देखाउँ,’ बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा शव बाहनमा भाइको शव राखिरहेका थमबहादुरले भने, ‘यति ठूलो चोट कसरी सहलान् ?’ थमबहादुर चैत ८ गते मात्र मलेसियाबाट फर्किएका थिए ।

‘चार वर्षदेखि म र भाइ मलेसियामा थियौं । भाइले सुरक्षा गार्डको काम गरिरहेको थियो,’ थमबहादुरले भने, ‘नेपाल फर्किने बेला मलाई बिदा गर्न कोठामै आएको थियो ।’ ड्युटी सकेर आफ्नो कोठामा फर्किएर कोठाको कुर्सीमा आराम गरिरहेका धर्मलाल बिहान मृत भेटिएका थिए । म्याग्दीस्थित घरमा रोगले थलिएका ७९ वर्षीय बुवा र ७६ वर्षीया आमा छन् । चार दाजुभाइमध्ये धर्मलालको मात्रै विवाह हुन बाँकी थियो । ‘कान्छो घर आउने भनेपछि बाआमाले दसैंमा बिहे गरिदिने भन्नुभएको थियो,’ थमबहादुरले भने । कान्छो छोरा घर फर्किने खबर पाएको तीन दिनमै उनी बितेको खबर गाउँमा फैलियो ।

‘१० वर्षपछि मेरा बाआमाको अर्को छोरा बाकसमा घर फर्किंदै छ,’ भावुक थमबहादुरले भने । वैदेशिक रोजगारीमा कतार पुगेका माइला छोरा भक्तबहादुरको १२ वर्ष पहिले कतारमा मृत्यु भएको थियो । त्यसको दुई वर्षपछि जेठा समबहादुरको मलेसियामा मृत्यु भएको थियो । मृत्यु हुँदा भक्तबहादुर २५ र समबहादुर ३० वर्षका थिए । कान्छा धर्मलालको उमेर ३४ वर्ष थियो । ‘भाइको गति पनि दाइहरूको जस्तै भइदियो,’ थमबहादुरले भने, ‘मेरा बाआमाले कसैको केही बिगारेको थिएनन् । किन यस्तो दिन देख्नुपर्‍यो ?’

विदेशमा मृत्यु भएका यी तीनै भाइमा कुनै खास रोग थिएन । तीनैजना ‘सुतेकै’ ठाउँमा मृत भेटिएका हुन् । समबहादुर मलेसियामा मोटर कम्पनीमा काम गर्थे । ड्युटी गरेर क्याम्प फर्केर सुतेका थिए । भोलिपल्ट ड्युटी जाँदा उठेनन् । साथीहरूले उठाउन खोज्दा राति नै प्राण गइसकेछ । भक्तबहादुर पनि कतारमा नाथुर (सुरक्षा गार्ड) नै काम गर्थे । ‘उहाँ गर्मी भएकाले सुत्न छतमा जानुभएछ । उहाँ पनि सुतेको सुत्यै हुनुभएछ,’ थमबहादुरले भने, ‘चार छोरामध्ये ममात्रै बाँचेको छु । यस्तो पीडा सहनुको सट्टा संसारबाटै बिदा हुन पाए हुन्थ्योजस्तो लाग्न थालेको छ ।’

घरबाट पहिलो पटक वैदेशिक रोजगारीमा माइला भक्तबहादुर गएका थिए । साइँला थमबहादुर र कान्छा धर्मलाल आफ्ना दुवै दाइको मृत्यु भइसकेपछि वैदेशिक रोजगारीमा गएका थिए ।

सन् २०१७ मा मात्रै मलेसियामा तीन सय ५४ जना नेपालीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । मलेसियामा मृत्यु भएका कामदारको पोस्टमार्टमलाई पुन: परीक्षण गर्ने सुविधा भए पनि खर्च अभावका कारण प्राय: पहिलो पोस्टमार्टमको रिपोर्टकै आधारमा शव पठाइदिने गरिएको छ । ‘कामदार किन सुुतेको सुत्यै हुन्छन् भन्ने तथ्यसहितको कारण हालसम्म खुलेको छैन,’ मलेसियाका पूर्वश्रमसहचारी सूर्य भण्डारीले भने, ‘कामदार मृत्युको विषयमा खोजबिन नै हुन सकेन ।’

मलेसियास्थित बार एसोसिएसनकी सुमिताह शाहादिनी कृशनाले मलेसियामा सबैभन्दा बढी नेपाली नै मृत्युको सिकार भइरहेको बताउँछिन् । ‘कामदारको स्वास्थ्य निकै जोखिमपूर्ण छ । किन बढी नै नेपालीको मृत्यु भइरहेको छ । यसबारे अध्ययन हुनुपर्छ,’ उनले कान्तिपुरसँग भनिन् ।

प्रकाशित : चैत्र १४, २०७४ १९:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बासि चैतली सुरु (फोटो फिचर)

बसन्तप्रताप सिंह

बझाङ — सुदुर पश्चिमको विशिष्ट परम्परा बोकेको बान्नीकी चैतली मेलाको अघिल्लो दिन लाग्ने बासी चैतली मेला सुरु भएको छ । बासि चैतली मेलामा छविस पाथिभेरा गाउँपालिकाका स्थानीय र विभिन्न क्षेत्रबाट मेला हेर्न आएकाहरुको उत्साहजनक सहभागिता रहेको छ ।

बासी चैतलीको दिनमा औसींको दिनमा काटिएको कांकर (काठको लिङगो) ठड्याउनका लागी बावियोको मोटो डोरी (स्थानिय भाषामा लडो) बाट्ने गरिन्छ । बासि चैतलीको विहान खाना खाइवरी प्रत्येक घरबाट २/२ मुठा बाबियो सहित ल्याएर पुरुषहरु एक ठाँउमा जम्मा हुने गर्दछन् । चैतलीको दिन करिब ३० मिटर अग्लो कांकरलाई डोरीकै सहायताले ठड्याउनु पर्ने भएकोले बलिया पुरुषहरुले डोरी बाट्ने र अन्यले यसमा सहयोग गर्ने गर्दछन् ।

धामीगाउँ, बोहरा गाउँ र मोतैमुम्ला गरेर तिन गाउँबाट तीन वटा कांकर ठड्याउनु पर्ने भएकोले तीनै गाउँका स्थानियहरुले आ–आफ्नो गाउँमा जम्मा भएर लडो बाट्ने काम गर्दछन् । बान्नीकी चैतलीको दिन सोही डोरीको सहायताले खुला चौरमा कांकर हिडाउने गरिन्छ । पछिल्लो समय चैतलीको कांकर हिडाएको दृश्य र यहाँको कला संस्कृति हेर्नका लागी देश विदेशका दर्शनार्थीहरु छविस पाथिभेरा स्थित बान्नी चौर पुग्ने गर्दछन् ।

दिनभर डोरी बाटेर साँझपख गाउँ नजिकै राखिएको कांकरलाई गाउँमा ल्याउने र भोलीपल्ट बान्नी चौर स्थित मष्टा मन्दिरमा लगेर चढाउने गरिन्छ । डोरी बाटेर कांकर ल्याई सके पछि प्रत्येक घरमा विभिन्न थरीको परिकारहरु पकाएर खाने चलन रहेको स्थानिय कटक कठायतले बताए ।

बासी चैतलीको दिन इष्टमित्र लगायतका बाटो हिड्ने जो सुकै मानिसलाई पनि घरमा बोलाएर पाहुनाको रुपमा मिठो मसिनो खुवाउने अनौठो प्रचलन रहेको छ । प्रत्येक घरमा मासको बटुक पकाउने आफन्तहरुलाई बाड्ने चलन समेत रहेको अर्का स्थानिय दानबहादुर अयडीले बताए ।

यस क्षेत्रको सबै भन्दा ठूलो चाडको रुपमा रहेको चैतली मेला लाई पर्यटनको आर्कषणको केन्द्र बनाउनका लागी गाउँपालिकाले भिडियो वृतचित्र निमार्ण गर्ने र देश विदेशमा प्रचार प्रसार गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष अक्कल बहादुर धामीले बताए । उनले चैतली बझाङ मात्र नभएर सुदुर र मध्यपश्चिम नेपालको धर्म र संस्कृतिसँग जोडिएको मेला भएकोले यसको महत्व बढेको बताए ।चैतली मेलाको दिन मष्टा मन्दिरमा पुजा आजा गर्नको लागी कर्णाली अञ्चलको जुम्ला, डोल्पा, हुम्ला, मुगु जिल्लाका मानिसहरु पनि यहां आउने गर्दछन । चैतली मेलामा पहिला राजदरबार र हाल पुर्वराजपरिवारबाट पनि भेटी र बैसेक (मन्दिरमा चढाउने कपडा) आउने गरेको स्थानियहरु बताउँछन् ।

प्रकाशित : चैत्र १४, २०७४ १९:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT