१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मतदाता शिक्षाको भुक्तानी नपाएको गुनासो

निर्वाचन आयोगले भुक्तानी नदिँदा पैसा रोकिएको हो– संस्थान
व्यस्तताले ढिलो भयो, रकम पास भएर लेखामा पेन्डिङ छ, चाँडै भुक्तानी हुन्छ – आयोग
मधु शाही

काठमाडौँ — बारास्थित गढीमाई नाट्य कला समूहका अध्यक्ष रंगकर्मी रामरोशन चौरसिया अहिले तनावमा छन् ।

काठमाडौं– मतदाता शिक्षा प्रचारका लागि २ लाख रुपैयाँ ऋण लिएर सडक नाटक देखाएका उनी निर्वाचन आयोगले त्यसबापतको भुक्तानी नदिँदा उनी समस्यामा परेका हुन् । ‘एक महिनाको भाका राखेर ऋण लिइयो, चार महिनासम्म पाइएन,’ उनले भने ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे जनचेतना जगाउन चौरसियाको समूहले राष्ट्रिय नाचघरसँग सहकार्यमा ३० स्थानमा नाटक देखाएको थियो । यही पैसा उठाउन काठमाडौं आएका उनी बुधबार रित्तो हात फर्किए । ‘कलाकारलाई ऋण खोजेर पारिश्रमिक दिएँ, आफ्नो पनि डेढ लाख खर्च भयो । राष्ट्रिय नाचघरले आयोगबाट पैसा आएको छैन भन्छ, यता साहुलाई ब्याज तिर्नै समस्या भइसक्यो,’ चौरसियाले भने ।

आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) लाई सडक नाटकको जिम्मा दिएको थियो । संस्थानले देशभरका ७ सय ६ स्थानमा सडक नाटक देखाउन २८ वटा नाट्य समूहलाई जिम्मा लगाएको थियो । कुनै पनि समूहले अझैसम्म भुक्तानी पाएका छैनन् ।

नाचघरका महाप्रबन्धक राजेश थापा निर्वाचन आयोगले दुई महिनादेखि ‘भोलिभोलि’ भन्दै भाका सारेको बताउँछन् । सम्झौताअनुसार आयोगले नाचघरलाई ३ करोड रुपैयाँ दिनुपर्छ । आरोहण गुरुकुल, विराटनगरले निर्वाचनका बेला ६० स्थानमा नाटक देखायो । गुरुकुलका दीपेश भण्डारी नाटक देखाउँदा झन्डै ५ लाख रुपैयाँ ऋण गरेको बताउँछन् । ‘ऋण लिएर नाटक देखाइयो, अहिलेसम्म पैसा नपाउँदा मर्का परेको छ,’ भण्डारीले भने, ‘ब्याज तिर्ने कि कलाकारको पारिश्रमिक दिने ?’ कति पैसा पाउने र कहिले पाउने भन्ने टुंगो नहुँदा झन् अन्योल भएको उनी बताउँछन् ।

झोराहाट नाट्य समूह, मोरङका अध्यक्ष भरत गुरागार्इंले मतदाता शिक्षा कार्यक्रम चलाउन घरको दुहुनो गाई बचेको सुनाए । २५ हजार लगानीमा आफ्नो र अरू साथीहरूसँग आर्थिक सहकार्य गरेर कार्यक्रम पूरा गरे पनि रकम नपाउँदा दु:ख लागेको उनी बताउँछन् । ‘यसै पनि कलाकार गरिब छन्,’ उनी भन्छन्, ‘हामीमाथि अन्याय भयो ।’ मतदाना शिक्षाकै लागि सांस्कृतिक संस्थान आफैंले पनि ३० लाख ७० हजार रुपैयाँ लगानी गरेको महाप्रबन्धक थापाको दाबी छ । आयोगसँग पेस्की नलिई ७ सय ६ स्थानमा कार्यक्रम गरेको थापाले बताए । ‘संस्थानको पैसासमेत मतदाता शिक्षामा खर्च गरियो,’ उनले भने, ‘आयोगले रकम निकासामा ढिलाइ गरेपछि संस्थानका कर्मचारीले समेत २ महिनादेखि तलब पाएका छैनन् ।’

रकम फस्र्योट गर्न पटकपटक आयोगमा प्रक्रिया पुर्‍याइसक्दा पनि चार महिना उसै कटाएको थापाले बताए । ‘बैठक बसेपछि रकम दिन्छौं भन्नुहुन्छ, त्यो बैठक कहिले बस्ने हो, थाहा छैन,’ थापाले भने, ‘चार महिना बितिसक्यो, आयोग कति धाउने ?’

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले उपराष्ट्रपति निर्वाचन र विभिन्न गतिविधिले निर्णयमा ढिलाइ भएको स्विकारे । उनले सांस्कृतिक संस्थानको रकम पास भइसकेको र लेखामा पेन्डिङमा रहेको पनि बताए । तर, सांस्कृतिक संस्थानका महाप्रबन्धक थापा भने बुधबार पनि आयोगमा कर्मचारी पठाउँदा ‘चेक बनेको छैन’ भनेर रित्तै फर्काइएको बताउँछन् ।

प्रकाशित : चैत्र १५, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?