अस्थायी शिक्षकको परीक्षा स्थगित

सुदीप कैनी

काठमाडौँ — शिक्षक सेवा आयोगले आगामी चैत २३ गतेलाई तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ ।

आयोगले शुक्रबार सूचना प्रकाशित गरी तत्काललाई परीक्षा स्थगित भएको जनाएको छ । प्रवक्ता दामोदर आचार्यका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट मात्रै सबै रिक्त पद पूर्ति हुन नसक्ने भएकाले खुला प्रतिस्पर्धा पनि सँगै गर्ने गरी परीक्षा स्थगित गरिएको हो ।


‘आन्तरिक र खुला विज्ञापन सँगसँगै गरी शिक्षक पदपूर्ति गर्दा उपयुक्त हुने देखिएकाले तत्काललाई परीक्षाको कार्यतालिका स्थगित गरिएको हो,’ आयोगको सूचनामा छ । परीक्षा स्थगनको माग गर्दै राजधानीमा शिक्षक र विद्यार्थीका दुइटा अनशन चलिरहे पनि आयोगले यसअघि परीक्षा नरोकिने बताउँदै आएको थियो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १५ मा आन्तरिक प्रतिस्पर्धाबाट मात्रै शिक्षक पदपूर्ति गर्दा रिक्त सबै पदपूर्ति हुन नसक्ने भन्दै आयोगलाई पत्राचार गरेको थियो । आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षक स्वत: सेवासुविधासहित घर जाने शिक्षा ऐनमा उल्लेख छ । फेल भएका शिक्षक घर जाँदा दरबन्दी खाली हुन गई नियमित पठनपाठन नै प्रभावित हुने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले बताए ।


‘आन्तरिक र खुला प्रतिस्पर्धा समानान्तर तरिकाले गर्न जरुरी छ,’ उनले भने, ‘आन्तरिक परीक्षा मात्रै गर्दा फेल भएका शिक्षकको पदमा फेरि अस्थायी शिक्षक नियुक्ति भएर समस्या बढै जान सक्छ ।’ मन्त्रालयले फेल भएका शिक्षकका ठाउँमा खुला प्रतिस्पर्धा गरेर आएका शिक्षक नियुक्त गर्ने गरी परीक्षाको तयारी अघि बढाउन आयोगलाई सुझाव दिएको छ ।


शिक्षा ऐनको विवादित नवौं संशोधनअनुसार हुन लागेको परीक्षा स्थगित गरी खुला प्रतिस्पर्धा गर्न शिक्षा संकायमा अध्ययनरत ३ विद्यार्थी अनशनमा बसेका छन् । परीक्षा स्थगित भएसँगै अनशन तोड्नने तयारीमा विद्यार्थीहरु छन् । विद्यार्थी संघर्ष समितिका प्रवक्ता दिग्गज धौरालीले भने, ‘अनशन स्थगित गरे पनि नवौं संशोधन खारेज गर्न संघर्षका कार्यक्रम जारी राख्छौं ।’ उनीहरूको आन्दोलनमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनलगायतले ऐक्यबद्धता जनाउँदै शैक्षिक हडतालका कार्यक्रम घोषणा गरेका थिए । परीक्षा स्थगित भएपछि हडतालका कार्यक्रम रोकेर ऐन खारेजीको आन्दोलन जारी राख्ने उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।


७५ प्रतिशत कोटामा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने प्रावधान अवैज्ञानिक र अव्यावाहरिक रहेको उनीहरूको ठहर छ । शिक्षण अनुमतिपत्र लिएर बसेका ६ लाखभन्दा बढी विद्यार्थीका लागि शतप्रतिशत खुला प्रतिस्पर्धा गराएर स्थायी शिक्षक बन्ने अवसर दिनुपर्ने विद्यार्थीले माग राख्दै आएका छन् ।


२३ गतेको परीक्षा स्थगित भएसँगै दुई शिक्षकले पनि अनशन तोडेर वार्तामा जाने तयारी गरेका छन् । अनशन तोडेर शिक्षा मन्त्रालयले गठन गरेको वार्तामा सहभागी हुन लागेको अस्थायी शिक्षक हरिवंश पराजुलीले जानकारी दिए । ‘शतप्रतिशत अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट स्थायी गरिनुपर्ने र स्थायी हुँदा शतप्रतिशत अस्थायी सेवा अवधि गणना गर्नुपर्ने हाम्रो माग यथावतै छ,’ उनले भने, ‘वार्ताबाट माग पूरा नभए पुन: अनशनमा बस्छौं ।’

प्रकाशित : चैत्र १६, २०७४ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?