२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एमाले–माओवादी एकता: दाहाल भन्छन्–‘बराबरीमा’

गंगा बीसी

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहिलेकाहीँ भन्छन्, ‘कहिले दायाँ, कहिले बायाँ त कहिले अघि र पछि गर्दै माक्र्सवाद अघि बढ्छ ।’ यही सन्दर्भमा विगतमा फुट्दै आएका कम्युनिस्ट पार्टी एक हुनु माक्र्सवादकै एक रूप ठान्छन् उनी ।

एमाले–माओवादी एकता: दाहाल भन्छन्–‘बराबरीमा’

एमाले र माओवादीबीच एकताको अन्तिम चरणमा पुगेका बेला दाहालले शुक्रबार सुनाए, ‘विगतका तीतामीठा अनुभवले हामी एक हुनुपर्ने बोध भयो ।’

एकतालाई विगतको निर्वाचन परिणामका आधारमा हेर्न नहुने उनको भनाइ छ । उनले समानताका आधारमा पार्टी एक हुन लागेको खुलासा पनि गरे । ‘विगतको ठूलो सानो परिणामका आधारमा एकता होइन, समानताका आधार हुन्छ । हामी बराबरीका आधारमा एकता गर्ने कुरामा स्पष्ट छौं,’ उनले शुक्रबार कान्तिपुरसँग भने, ‘चुनाव लडदा खास बेलामा ६०/४० प्रतिशत भन्ने कुरा एकतामा लागू हुँदैन । प्रतिशत भन्यो भने एकता हुँदैन । यो एउटामा अर्को मिसिने कुरा होइन । दुवै मिलेर नयाँ बनाउने हो । बराबरीको सिद्धान्तमा टेकेर पार्टी एकता गर्ने भन्ने कुरामा हामी सहमत छौं ।’

कुनै बेला एमाले र माओवादीबीच एकताको प्रसंग नदीका दुई किनारा मिलाए जस्तै ठानिन्थ्यो । माओवादीले एमालेलाई दक्षिणपन्थी र एमालेले माओवादीलाई उग्रपन्थीको पगरी गुथाएका थिए । खासगरी गणतन्त्र स्थापना, संविधान निर्माणसँगै राजनीतिक परिस्थितिले दुवै दललाई एउटै स्थानमा ल्याइदियो । पहिलो र दोस्रो संविधानसभाको निर्वाचन परिणामले एउटा कमजोर नभई अर्को बलियो नहुने अवस्था देखियो । एउटाको मत नतानी अर्को बलियो नहुने अवस्थामा दुवै दल पुगे । त्यसलाई मसिनो गरी नियालेका दाहालले एकताका लागि मौका कुरेका थिए ।

‘स्थानीय तहको निर्वाचन सकिएलगत्तै संघ र प्रदेशको निर्वाचनमा मैले नै तालमेल, गठबन्धन मात्र होइन, पार्टी एकता नै गर्नुपर्छ भनेर केपी ओलीजीसँग भने, उहाँले स्वीकार गर्नुभयो,’ उनले भने ।

अढाई दशकभन्दा बढी माओवादीको नेतृत्वमा रहेका दाहाल एमाले र माओवादीबीच एकता बनाउने अभियान भने २०६४ पछि शान्ति प्रक्रियामा आइसकेपछि थालेको सम्झन्छन्, ‘हामीले काभ्रेको फूलबारी बैठकमा एमालेसँग एकताबारे प्रस्ताव पारित गरेका थियौं, एमालेले पनि पार्टी एकता गर्नेबारे प्रस्ताव बनाएको थियो । दुवै पार्टीबीच डकुमेन्ट आदानप्रदान भए पनि त्यसबेला सफल हुन सकेन ।’

२०६५ मा माओवादी सरकारको प्रधानमन्त्री दाहाल भएकै बेला तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणपछि पार्टी एकताको प्रसंग हराएजस्तै भयो । त्यसबेला पनि दाहाललाई दुई पार्टीबीच एकता गर्ने मनस्थिति मरेको थिएन । पहिलो संविधानसभामा पहिलो भएको माओवादी दोस्रो संविधानसभामा तेस्रो र पहिलो संविधानसभामा तेस्रो भएको एमाले दोस्रो संविधासभामा दोस्रो भएपछि एकताबारे चेत खुलेको ठान्छन् उनी ।

दाहालले नेतृत्व गरेको संयुक्त जनमोर्चा २०४८ को निर्वाचनमा एमालेभन्दा निकै कमजोर अवस्थामा थियो । त्यसबेला उनलाई लाग्यो– संसदीय व्यवस्थाबाट उँभो लाग्न सकिँदैन, सशस्त्र युद्ध गर्नुपर्छ । उनको नेतृत्वमा २०५१ मा माओवादी पार्टीको गठन भई २०५२ मा सशस्त्र युद्ध सुरु भयो । भूमिगत रहेका दाहाललाई ‘प्रचण्ड’ का रूपमा चर्चाको शिखरमा पुर्‍याइदियो । दस वर्ष माओवादी युद्ध हाँकेका प्रचण्डलाई २०६० सालतिर आइपुग्दा उनको युद्धको मनोविज्ञान फेरियो । उनले सशस्त्र युद्धबाट भन्दा जनआन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित गर्ने नीति लिए र कांग्रेस, एमालेलगायत दलसँग कार्यगत एकता गरी राजतन्त्र अन्त्य गर्ने नीति लिए । राजतन्त्र अन्त्य गर्ने नीति लिएपछि राज्यसत्ता हातमा लिएका तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा मात्र टेकाएनन्, दलहरू मिलेर मुलुकमा गणतन्त्र ल्याए ।

बहुदलीय व्यवस्थाविरुद्ध सशस्त्र युद्ध गर्नु, राजतन्त्र अन्त्य गरी संविधानसभाको निर्वाचन भएपछि कुनै विन्दुमा गएर माओवादी एमाले मिल्ने वातावरण आउने विश्वास दाहाललाई थियो । त्यो साइत संघ र प्रदेशको निर्वाचन ठीक अघि जुर्‍यो । मुलुकको राजनीतिक परिस्थितिले एकता गर्ने विचार जन्माइदिएको अध्यक्ष दाहालको भनाइ छ ।

‘देशको वस्तुगत परिस्थितिले नेताको दिमागमा नयाँ विचार आउँछन्, सोच आउँछन् । अर्को कुरा दुवै पार्टीबीच विचारमा एकरूपता देखियो । शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तरिकाले जानुपर्छ भन्नेमा एमाले र माओवादी एकता देखियो,’ उनले भने, ‘रणनीतिक रूपले हामी जाने भनेको समाजवादतिर हो भन्ने कुराले मिलेर जानुपर्छ भन्ने सोच स्वत: पैदा भयो ।’

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल यस्ता हाइकमान्ड हुन्, जसले पार्टीमा आफूले सोचेअनुसार निर्णय गराउन सक्छन् । दाहालले आफू र ओली संघर्ष र आन्दोलनले निर्माण गरेको संस्था जस्तो भएकाले एकता सम्भव हुन लागेको बताए ।

‘आन्दोलन, संघर्षले निर्माण गरेका दुई व्यक्ति, व्यक्ति मात्र होइनन्, संस्था जस्ता हुन् । यदि त्यो अथोरिटी हुँदैनथ्यो भने लाखौं मान्छे एकताका लागि लाग्दैनथे । वर्षौंको संघर्ष नेतृत्वमा केन्द्रीकरण भएको हुनाले यो सम्भव भएको हो,’ उनले थपे, ‘समय र परिस्थितिअनुसार नेतृत्वमा नयाँ चीज गर्न आँट हुनुपर्छ ।’

मुख्य गरी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने तत्कालीन उद्देश्य र दीर्घकालीन रणनीतिका रूपमा समाजवादतिर लैजाने मनोविज्ञानले काम गरेको थियो । ‘एउटै पार्टी चुनाव लडेर बहुमत आउने अवस्था थिए, मिलेर लडे बहुमत आउँछ भन्ने कुरा स्वत: बुझिने भयो नि । एकताका लागि चुनावले मल र सिँचाइको काम गर्‍यो,’ उनी विगततिर फर्किए ।

पार्टी एकता अन्तिम चरणमा पुगे पनि केही आशंका हटाउने तयारीमा उनी देखिए । ‘पार्टी एकता गर्ने कुरा धेरै अघि गइसक्यो । तर राजनीतिकमा केही असम्भव हुने देखिँदैन, कुनै दुर्घटना हँुदैन भन्न सकिँदैन । हात्ती छिर्ने पुच्छर अड्किने पनि हुन्छ । तर म त्यो देख्दिनँ,’ उनले भने ।

एउटै जंगलमा दुई शेर भएजस्तै अब बन्ने कम्युनिस्ट पार्टीमा ओली र दाहाल कसरी अट्लान् भन्ने प्रश्नमा दाहाल मुस्कुराए । ‘सहअध्यक्ष वा दुई अध्यक्ष रहने र दुवैको अथोरिटी समान हुने गरी सोचेका छौं । पार्टीको अध्यक्षता र अन्य काम समान रूपले गर्ने र महत्त्वपूर्ण निर्णयमा दुवैको हस्ताक्षर गरेर जानुपर्छ भन्ने कुरा भएको छ,’ उनले भने ।

ओली र दाहालबीच प्रधानमन्त्री आलोपालोबारे दाहाल खुल्न चाहेनन् । ‘पाँच वर्ष यही पार्टीको सरकार चल्छ । पाँच वर्ष प्रधानमन्त्री, मन्त्री रहन्छन् भन्न सकिँदैन,’ उनले भने, ‘यसबीचमा महाधिवेशनमा निर्णय हुन्छ । त्यहीअनुसार अघि बढ्छ ।’

प्रकाशित : चैत्र १७, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?