आफ्नै स्कुलबाट परीक्षा दिए हुँदैन ?

गौरीकलाका बुबा भन्छन्–‘ऋण काढेर छोरीलाई जाँच दिन पठाएँ, तर ज्यानै गयो’
मकर श्रेष्ठ

काठमाडौँ — सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् ।

आफ्नै स्कुलबाट परीक्षा दिए हुँदैन ?

घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बैतडी, कैलापालकी १७ वर्षीया पूजा बोहरा सिद्धेश्वर उमाविमा पढ्थिन् । ०६८ चैत ७ देखि सुरु एसएलसी परीक्षा केन्द्र बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उमाविमा तोकियो । केन्द्रबाट उनको घर ५ घण्टा पैदल यात्रा गर्नुपथ्र्यो । परीक्षा बिहानै ८ बजेदेखि हुने भएपछि बुबाले बजारमै एक आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिए । दुई दिनको परीक्षापछि गणितको तयारीका लागि आफन्तको अनुमति लिएर उनी पाटनबजारस्थित पुस्तक पसलमा गेसपेपर किन्न गएकी थिइन् । पसलमा पानी माग्दा लठ्याउने पेय पदार्थ खुवाएर उनलाई बलात्कार गरियो । उनले परीक्षा दिन सकिनन् । मानसिक अस्पतालमा राखेर उपचार गराउनुपर्‍यो ।

कालिकोटको गेल केन्द्रबाट परीक्षा दिइरहेकी १८ वर्षीया छात्रा ०६९ चैत ७ गते बलात्कृत भइन् । उनी परीक्षा दिन आफन्तको घरमा बसेका बेला महिनावारी भएपछि छाउगोठमा सुतिरहेका बेला बलात्कृत भएकी थिइन् । संखुवासभाको महेश्वरी मावि, ताम्कुमा एसएलसी दिन आएकी १५ वर्षीया छात्रा ०७० चैत १५ मा बलात्कृत भइन् । याफुबाट ताम्कुमा परीक्षा दिन आएका बेला उनलाई प्रहरी जवान अमृत राईले बलात्कार गरेका थिए ।
***

यी घटना कक्षा १० को अन्तिम परीक्षा (एसएलसी/एसईई) दिन अर्को विद्यालयमा रहेको परीक्षा केन्द्र जाँदा भएका हुन् । यस्ता घटना हरेक वर्ष कुनै न कुनै विद्यार्थीमा हुने गर्छन् । आफूले पढेको विद्यालय छाडेर अर्को विद्यालयको परीक्षा केन्द्रमा परीक्षा दिन जाँदा हुने दुव्र्यवहार र बलात्कारका घटना कति सार्वजनिक हुन्छन्, कति गुपचुप बनाइन्छन् । साहसी छात्रा आफूमाथि भएको अन्याय र अस्मिता लुट्नेलाई कारबाही गर्न प्रहरीमा उजुरी दर्ता गर्छन् ।

अनि यस्ता घटना बाहिर आउँछन् । जसले आफ्नो बेइज्जत हुने डरले लुकाइएका घटना कति छन् कति ।

शिक्षा मन्त्रालयले परीक्षा मर्यादित बनाउने नाममा एउटा विद्यालयका विद्यार्थीलाई अर्को विद्यालयमा परीक्षा दिन बाध्य पार्दै आएको छ । नयाँ ठाउँमा परीक्षा दिन जाने छात्रभन्दा छात्राले बढी सास्ती र अनपेक्षित दुर्घटना बेहोर्ने गरेका छन् ।

सरकारले विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षालाई मान्ने कानुन बनाइसक्यो । १० कक्षाको परीक्षाको नाम एसएलसीबाट एसईई बनायो । अंकका आधारमा विद्यार्थीको मूल्यांकन गर्दा विद्यार्थी धेरै फेल भएको तथ्यांक आउन थालेपछि अक्षरांक (ग्रेडिङ) मा नतिजा सार्वजनिक गर्न थालेको पनि दुई वर्ष भइसक्यो । कक्षा १० मा यस वर्षदेखि गणितबाहेक सबै विषयमा २५ पूर्णांकको प्रयोगात्मक परीक्षासमेत व्यवस्था भइसकेको छ । यो नम्बर विद्यालयले नै पठाउने गर्छ । बाँकी ७५ पूर्णांकको मात्रै लिखित परीक्षा हुन्छ । विद्यालय तहमा विद्यार्थी फेल नगर्ने नीतिसमेत अवलम्बन गरिसकिएको छ । तर अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गर्दा परीक्षा अमर्यादित हुने भन्दै विद्यार्थीलाई भन्दा सरकारलाई सहज हुने गरी परीक्षा केन्द्र तोक्ने व्यवस्था भने फेरिएको छैन ।

‘प्रयोगात्मकमा विद्यालयले २५ पूर्णांकमा २५ नै दिँदा विश्वास हुने, ७५ पूर्णांकको परीक्षामा पनि फेल हुने होइन,’ शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले भने, ‘जतिसुकै परीक्षा टाइट बनाए पनि चोरी रोकिने त होइन । त्यसैले जहाँ पढेको हो, त्यहीँ परीक्षा लिने संयन्त्र बनाए हुन्छ ।’ सरकारले आफ्नो सिस्टम राम्रो देखाउन विद्यार्थीलाई सास्ती दिइरहेको उनले बताए ।

‘अहिले राज्यलाई सहज हुने काम मात्रै गरेको छ । यो प्रणालीको क्षमता देखाउने दुस्साहस मात्रै हो,’ उनले भने, ‘विद्यार्थीलाई एउटा विद्यालयबाट अर्को विद्यालयमा लगी परीक्षा दिन लगाएर मानसिक तनाव दिइरहेको छ । बरु अन्यत्रबाट शिक्षक ल्याएर परीक्षा लिन लगाए भइहाल्यो नि ।’

एउटा विद्यालयबाट सरकारलाई पायक पर्ने गरी तोकिएको केन्द्रमा परीक्षा लिन पठाउँदा कक्षाका सबै विद्यार्थी पठाउनुपर्ने हुन्छ । सरकारले व्यवस्थित योजना बनाउने हो भने अर्को विद्यालयका बढीमा १० जना शिक्षक मात्रै खटाए पुग्छ । सुपरिटेन्डेन्ट पनि अर्कै विद्यालयमा पठाउँदा हुन्छ । टाढाको विद्यालयमा परीक्षा दिन छोराछोरी पठाउँदा अभिभावकलाई सास्ती पनि हुँदैन । आर्थिक बोझ पनि बेहोर्नुपर्दैन ।

अन्यत्र परीक्षा केन्द्रमा परीक्षा दिन पठाउँदा कोठा भाडा, खानका लागि ऋण गरेर पठाउनुपर्ने अभिभावक उत्तिकै छन् । शिक्षकलाई अर्को विद्यालयमा परीक्षा लिन पठाउँदा सरकारको लगानी मात्रै बढ्ने हो । अहिले पनि सरकारले परीक्षामा गार्ड बसेबापत भत्ता दिइरहेकै छ ।

माध्यमिक तहको परीक्षा १२ कक्षामा लिने हो भने १० कक्षाको परीक्षा विद्यालयलाई नै लिन दिनुपर्ने कोइरालाको तर्क छ । विद्यालयको संरचना मात्रै नभई मुलुकको संरचना पनि फेरिइसक्यो ।

‘सिंहदरबारको अधिकार गाउँगाउँ पुग्ने संवैधानिक व्यवस्था भइसकेको छ । तर, परीक्षा लिने प्रणालीमा भने उही केन्द्रकृत सोचाइ कायम छ,’ गौरीकला अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक गोकुल पाण्डेले फोनमा भने, ‘जुन विद्यालयबाट अध्ययन गरेको हो, त्यहीँ परीक्षा लिन सकिन्छ । गार्ड अर्को विद्यालयको शिक्षक पठाउँदा व्यवस्थापन हुन्छ ।’ होम सेन्टर नराख्ने नाममा १६ वर्षका बालबालिकालाई टाढाको विद्यालयमा पठाउनुभन्दा पाका शिक्षकलाई अर्को विद्यालयमा परीक्षा लिन पठाउँदा व्यावहारिक हुने उनले पनि बताए ।

अर्को विद्यालयबाट शिक्षक पठाउँदा व्यवस्थापन गर्न कठिन हुने र राज्यको खर्च बढी हुने भन्दै शिक्षा मन्त्रालय पन्छिने गरेको छ । ‘परीक्षा मर्यादित बनाउन होम सेन्टर नराखेका हौं । यसले विद्यार्थीले अर्को विद्यालयमा गएर परीक्षा दिनुपर्ने बाध्यता छ,’ एसईईसम्बन्धी पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिका रेग्मीले भने, ‘विद्यार्थीलाई सहज हुने गरी परीक्षा लिन सकेका छैनौं । व्यवस्थापन चुस्त गर्न सकिने हो भने एउटा विद्यालयको शिक्षक अर्कोमा पठाएर परीक्षा लिने व्यवस्था गर्न सके विद्यार्थीलाई सहज हुन्थ्यो ।’

गौरीकला अध्ययन गरेको विद्यालयमा साधारण विषय अध्ययन गरेका ५५ जनाले बाबियाचौर र प्राविधिक विषयका ४७ जनाले वीरेन्द्रनगरबाट परीक्षा दिए । परीक्षा मर्यादित बनाउने नाममा विद्यार्थीलाई सास्ती भइरहेको पाण्डेले बताए । ‘विद्यार्थीलाई मात्र होइन, अभिभावकले पनि परीक्षा दिइरहेका छन् । छोराछोरी अन्यत्र परीक्षा दिन जाने भएपछि परिवारका सदस्य पनि सँगै जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘परीक्षा केन्द्र वरिपरि सबै विद्यार्थीले कोठा पाउन गाह्रो हुन्छ । अभिभावकलाई आर्थिक पिरलो उत्तिकै हुन्छ । विद्यार्थीलाई पनि नयाँ ठाउँमा परीक्षा दिन जाँदा पीडा छ, जानेको कुरासमेत लेख्न सक्दैनन् ।’

कक्षा ९ को परीक्षा विद्यालयले लिँदा मान्यता दिइएजस्तै १० कक्षाको पनि विद्यालयमै परीक्षा दिने व्यवस्था हुनुपर्ने पाण्डेले बताए । ‘मेरै विद्यालयमा परीक्षा केन्द्र भइदिएको भए गौरीकलाको मृत्यु हँ‘दैनथ्यो । उनी घरबाटै परीक्षा दिन आउँथिन्,’ पाण्डेले भने, ‘९ कक्षासम्म मैले लिएको परीक्षाको विश्वास हुने, एसईईको किन नहुने ? हाम्रो विश्वास छैन भने अन्य विद्यालयका शिक्षक ल्याएर परीक्षा गराए भैगो नि ।’

सहरी क्षेत्रका विद्यालयमा विद्यार्थी हिँडेर पनि अर्को विद्यालयमा तोकिएको केन्द्रसम्म जान सक्छन् । परीक्षा दिन कोठा खोज्नुपर्ने बाध्यता हुँदैन । दुर्गम गाउँका विद्यार्थीले भने सुरक्षा व्यवस्था नभएको केन्द्रमा परीक्षा दिनुपर्ने बाध्यता छ । सहरमा अर्को विद्यालयमा केन्द्र तोकेर दुर्गममा भने अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने व्यवस्था गर्न सकिने शिक्षाविद्हरू बताउँछन् ।

‘१५ सय ऋण काढेर जाँच दिन पठाएको थिएँ’
सुर्खेत, पञ्चपुरी नगरपालिका–३ चौरका ७० वर्षीय काले रोकायले आफू निरक्षर भए पनि छोरी गौरीकलालाई १० कक्षासम्म पढाउने सपना देखेका थिए । १५ सय ऋण काढेर एसईई दिन दुई घण्टा टाढाको बाबियाचौरस्थित परीक्षा केन्द्र पठाएका उनले त्यो सपना पूरा गर्न पाएनन् ।

हिँडडुल गर्न पनि समस्या भएपछि रोकायले छिमेकीलाई छोरीका लागि कोठा खोजिदिन आग्रह गरेका थिए । परीक्षा अवधिभर (१५ दिन) को एक हजार रुपैयाँ भाडामा कोठा भेटियो । रोकाय परिवारको आर्थिक अवस्था यति कमजोर थियो कि त्यही खर्च जोहो गर्न पनि छिमेकीसँग ऋण लिनुपर्‍यो । छिमेकीसँग एक हजार ५ सय ऋण लिएर छोरीलाई खर्च पठाएको रोकायले सम्झिए । ‘छोरी जाँच दिन जाने भनेपछि गाउँमा ऋण खोजेर पठाएँ,’ उनले फोनमा कान्तिपुरसँग भने, ‘जाँच दिन पठाउँदा छोरी गुमाएँ ।’ गौरीकला उनकी कान्छी छोरी हुन् ।

परीक्षाको तयारी कक्षा लिन कोचिङ पढाएको ऋण पनि अझै तिरेका छैनन् । गौरीकला चैत ४ गते घरबाट ओढ्ने–ओछ्याउने बोकेर बाबियाचौर पुगेकी थिइन् । घरबाट कहिल्यै टाढा नगएकी छोरी १५ दिन टाढिने भएपछि ६० वर्षीया आमा गामदेवी खिन्न भइन् । ‘१५ दिनसम्म अर्काका ठाउँमा के खान्छे, कसरी बस्छे भन्ने चिन्ताले रुँदै आमाछोरी छुट्टिएका थिए,’ रोकायले फोनमा सुनाए, ‘मरेको खबर सुन्दा सपनाजस्तो लाग्यो ।’

गौरीकला अंग्रेजी र नेपाली विषयको परीक्षा दिएर चैत १० गते शनिबार चैते दसैं मनाउन घर आइन् । भोलिपल्ट फर्किइन् । १२ गतेको परीक्षा पनि दिइन् । त्यही राति उनी कोठामा मृत भेटिइन् । ‘हाम्रो परिवारमा आठ कक्षाभन्दा बढी पढ्ने कोही थिएन । छोरीले एसएलसी पास गरेको हेर्ने रहर थियो,’ रोकायले भने, ‘छोरी घरबाट गएको भोलिपल्टै हामीलाई शत्रु लाग्यो ।’

रोकायका तीन छोरा, तीन छोरी छन् । दुई छोरा मानसिक रूपले फरक क्षमता भएका छन् । माइला छोरा कामको खोजीमा भारत गएका थिए । बहिनीको मृत्युको खबरपछि शुक्रबार फर्केका छन् ।

प्रकाशित : चैत्र १८, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?