कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–भारतले आपसी सम्बन्धको आत्मसमीक्षा गरेका छन्—परराष्ट्र मन्त्री ज्ञवाली

—पुरानै एजेन्डामा संविधान संसोधन गर्ने स्थिति अब रहेन—भ्रमणमा भारत पहिले जाने कि चीन भनेर प्रश्न गर्नु नै असान्दर्भिक भैसक्यो —राजदूत नियुक्ति वा थमौतीमा मुल्यांकन पद्धति लागु हुनेछ—चीनसँग भएका सम्झौताहरुको शीघ्र, प्रभावकारी र परिणाममुखी कार्यान्वयन हुनेछ ।

काठमाडौँ — परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको यो साता हुन लागेको भारतको राजकीय भ्रमणलाई ‘विशुद्ध सद्भाव भ्रमण’ भन्दै भ्रमणमा कुनै राजनीतिक एजेन्डामा द्वीपक्षिय कुराकानी नहुने बताएका छन् ।

नेपाल–भारतले आपसी सम्बन्धको आत्मसमीक्षा गरेका छन्—परराष्ट्र मन्त्री ज्ञवाली

आसन्न भ्रमणमा ‘सहयोग–सम्झौताको कुनै नयाा कार्यसूची’ नरहेको स्पष्ट पार्दै परराष्ट्र मन्त्री ज्ञवालीले ‘बिगतमा भारतसाग भएका दर्जनौं सहमतिको कार्यान्वयन र तदारुकतामा सक्दो ध्यान रहने’ बताएका छन् । चैत २३ बाट हुन लागेको ३ दिने भ्रमणका आयाम, सम्भावित मुद्दा र बदलिदो राजनीतिक सन्दर्भमा मन्त्री ज्ञवालीसंग कान्तिपुरका देवेन्द्र भट्टराईले परराष्ट्र मन्त्रालयमा गरेको कुराकानी :


हरेक भ्रमणलाई सम्बन्ध ‘सहजीकरणका निमित्त’ भन्ने गरिन्छ । अहिले पनि त्यँही भनिएको छ । सहजीकरण भने कहिले भैसक्ला ?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको अहिलेको स्थिति र दुई बर्ष पहिलेको सन्दर्भमा पक्कै पनि केही तात्विक अन्तर देखिन्छ । खासगरी नेपालले संविधान निर्माण गर्ने क्रममा भारतले दिएका कतिपय सुझाव, सल्लाहलाई बेवास्ता गर्दै त्यो संविधान जारी गरेकोमा कतिपय असन्तुष्टि प्रकट भएका थिए । त्यसमा भएका अनेकौं औपचारिक/अनौपचारिक संवादहरुले प्रधानमन्त्री ओलीको भ्रमणलाई सम्भव तुल्याएको थियो । त्यो भ्रमणले थुप्रै कुराहरुमा स्पष्टता हासिल पनि गरेको थियो । तैपनि केहीकेही प्रश्नहरु बाँकी रहेका थिए । त्यतिबेला जनादेश पनि एक किसिमले खण्डित–खण्डित थियो ।

अहिले परिस्थिति आधारभुत किसिमले नै परिवर्तन भएको छ । बिशेषत: अहिले प्रधानमन्त्री ओलीले राखेको राजनीतिक अडानलाई व्यापक जनसमर्थन मिलेको अवस्था छ, यस्तै जनाधारमा सरकार बनेको अवस्था छ । जनादेश आफैंले राजनीतिक अडानलाई समर्थन गरिसकेको छ । यसबीचमा नेपाल–भारत दुबैले आपसी सम्बन्धको उतारचढावमा गम्भीर आत्मसमीक्षा गर्न पाएका छन् । र, साझा निष्कर्षमा पुगिसकेको यथार्थ के हो भने नेपाल–भारत बीचमा असल सम्बन्ध रहनुको अर्को बिकल्प छैन, अर्को बाटो छैन । यो सच्चाइ, यो अनुभुतिलाई प्रधानमन्त्रीको अबको भ्रमणले बल दिनेछ भन्ने मलाई लाग्छ । भारतीय पक्षले पनि यस बीचका समग्र घटनाहरुमा आत्मसमीक्षाका साथ नयाँ उँचाइबाट अघि बढ्न खोजेको स्पष्ट देखिन्छ । अहिलेको भ्रमण र सहजीकरणको अर्थ यसकारण पनि अझ महत्वपूर्ण छ ।


भनेपछि पहिले रहेजस्तो राजनीतिक अर्थको संविधान संसोधन र हदैसम्मको लचकताको सन्दर्भ अब सामयिक रहेन ? भारतीय पक्षको यो अडानको अर्थ अब रहेन ?

यो स्पष्ट भैसकेको छ कि यी बिषयमा हामी यसपटक छलफलमैं जाँदैनौं । हामीले अस्ति भर्खरै पनि सबैजसो अन्र्तराष्ट्रिय मित्रहरुलाई के सन्देश दिएका छौं भने नेपाल आफ्ना समस्याहरुको पहिचान र समाधानको बारेमा आफैं सचेत र सक्षम दुवै छ । हाम्रा आन्तरिक बिषयहरु द्वीपक्षिय छलफलको बिषय बन्नु हुँदैन भन्ने धारणा फेरि पनि हामीले राखेका छौं । त्यसमाथि राजनीतिक मुद्दामा छलफल गर्ने आधार किन रहेन भने निर्वाचनमा भएको सबै पक्षको सहभागिता र निर्वाचनमा खसेको मतले धेरै बिषयलाई टुङ्ग्याइसकेको छ । राजनीतिक तहमा विवाद गर्ने बिषयभन्दा पनि जनादेश स्वयंमा धेरै कुराको जवाफ बनिसकेको छ । बाँकी केही बिषय छ भने नेपाली राजनीतिक दलहरु आपसमा बसेरै त्यसको छिनोफानो गर्न सक्छन् भन्ने हो ।


विदेशी नियोगलाई ‘ब्रिफिङ’ गर्ने क्रममा बाम गठबन्धन सरकारका माओवादी घटकका कोही मन्त्री उपस्थित नभएको अवस्था देखियो नि ?

यस्ता प्रश्नहरुबाट कुनै ‘गहिरो अर्थ’ खोजिरहने स्थिति अब रहेन । कहिलेकाँही कार्यव्यस्तता वा पूर्व निर्धारित अन्य कार्यक्रमहरुका कारण पनि सहभागिता नरहेको हुन सक्छ । यसमा कुनै बिशेष अर्थ लुकेको छैन ।


ओली सरकारकै पालामा दुई बर्षअघि उत्तरको छिमेकी चीनसँग व्यापार–पारवहनसहितका सम्झौताहरु भएका थिए । छिमेकीसँगको सम्बन्ध प्राथमिकता अलग भएजस्तो देखिएको थियो । अहिले फेरि सरकार बनेको दुई महिना नहुँदै भारत भ्रमणमा जान हतारिएको अवस्था छ नि ?

एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने आजको युगमा हामीले भारत कि चीन भनेर विवादमा ल्याउनु अथवा बहसमा उत्रनुको अर्थ छैन । भ्रमणमा भारत पहिले जाने कि चीन भनेर प्रश्न गर्नु नै असान्दर्भिक भैसक्यो । बरु कुन भ्रमण कुन कार्यसूचीमा आधारित छ भन्ने हो । राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राख्दै भ्रमणताका बन्ने समझदारी सबैभन्दा महत्वपूर्ण हो । दोस्रो कुरा, हाम्रा निम्ति हाम्रा दुवै छिमेकीहरु असाध्यै महत्वपूर्ण छन् । यी छिमेकीसँगको सम्बन्ध एकअर्कामा तुलना हुन पनि सक्दैन । सम्बन्ध भनेको एकअर्काको बिकल्प पनि होइन । कतैपट्टि ढल्केर अर्काको संवेदनशीलतामाथि नोक्सान पुऱ्याउने काम पनि हामी गर्दैनौं । हाम्रो सन्तुलन भनेकै हाम्रा निम्ति दुवै छिमेकी असाध्यै महत्वपूर्ण छन् भन्ने हो । हो, दुई बर्षअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणताका केही महत्वपूर्ण सम्झौता भएकै हो । तर, दुर्भाग्यवस ओली सरकारबाट हटेपछि ती सम्झौताको कार्यान्वयन र ‘फलो अप’ भने निराशजनक रह्यो । बीआरआई हस्ताक्षर गर्नमै पनि ढिलाइ भयो । त्यसअन्तर्गत छनौट गर्नुपर्ने परियोजनाहरु अहिलेसम्म पनि छानिएका छैनन् । यो सबै नियतवस थियो अथवा प्राथमिकतामा नपरेको हो, भन्न सकिन्न । तर, जे भएपनि त्यसले मुलुकलाई नोक्सान गऱ्यो । तर, अब भने चीनसँग भएका ती सम्झौताहरुको शीघ्र, प्रभावकारी र परिणाममुखी कार्यान्वयन हुनेछ ।


भारत भ्रमणको सन्दर्भमा भने अहिले कुनै सम्झौता अथवा ठूलो सहमति हुने संकेत केही छ कि ?

मुलत: यो सद्भाव भ्रमण मात्रै हो । संघीय गणतान्त्रिक नेपालमा संविधान कार्यान्वयनपछिको पहिलो जननिर्वाचित सरकारका तर्फबाट हुन लागेको पहिलो भ्रमण हो, यसकारण मैत्री र सद्भावना अहिलेको भ्रमणको सर्वोपरी केन्द्रमा छ । हामीसँग सहयोग–सम्झौताको कुनै नयाँ कार्यसूची छैन । बरु बिगतमा भएका सहमतिको कार्यान्वयन र तदारुकतामा हाम्रो सक्दो ध्यान रहनेछ ।


राजनीतिक सहमतीको अबको चरणमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सरकारमा सहभागिता हुने सम्भावना छ/छैन ? अहिले यसबारेको बहस सेलाए जस्तो देखिन्छ नि ।

यस बारेमा राजपाको आफ्नो ‘पोजिसन’ देखिन्छ । राजपाले संसददेखि बाहिरसम्म संविधान संसोधनको अडान राखिरहेकै छ, त्यो हामी सबैले सुनेकै छौं । सरकारले संविधान संसोधन गरेर हामीलाई सरकारमा आउने वातावरण बनाइदिनेछ भन्ने एकतर्फी धारणा राजपाको आइरहेको छ । फोरमको हकमा भने निरन्तर छलफल चलिरहेकै अवस्था छ, समझदारीको नजिकै छौं ।


यसबेला के स्पष्ट हुनु जरुरी छ भने संविधान संसोधन भनेर जेजस्तो मुद्दामा अडिग भएर राजपाका साथीहरु बोलिरहनुभएको थियो, त्यो त निर्वाचनको परिणाम र जनमतले बदर गरिसकेको अवस्था छ । संविधान एक गतिशिल र परिवर्तनशील दस्तावेज हो । औचित्य, आवश्यकता, देश र जनताको हितअनुकुलको सर्तमा संविधान संसोधन हुनसक्छ । जहाँसम्म हिजो अगाडि सारिएका संविधान संसोधनका बुँदा र आधार थिए, त्यसमा त जनमत आइसकेको अवस्था छ । संविधान संसोधनभन्दा पनि कार्यान्वयनको स्थिति आइसकेको छ । ती एजेन्डाहरु अब अर्थहीन भैसके । यसकारण पनि राजपाले भनेजस्तो पुरानै एजेन्डामा उभिएर संविधान संसोधन हुन सक्दैन ।


माओवादी पार्टीेसँग एमालेको एकता साइत सरेको सऱ्यै छ । बिशेषत: प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि एकता हुनुपर्ने भनेर आइरहेको फरक बिचारबारे के भन्नुहुन्छ ?

प्रधानमन्त्रीको भारत भ्रमणसँग पार्टीगत एकताको कुरा जोडिरहनुको कुनै अर्थ छैन । यी दुई नितान्त फरक बिषय हुन् । अझै पनि पार्टी एकता दिवस बैशाख ९ अगाडी नै पार्टी एकता गर्ने बिषयमा हामी दृढसंकल्पित छौं । एकता नभएकै कारण भातृ संगठनको अधिवेशन रोक्नेदेखि अरु कामकारवाही ठप्प भएका छन् । सांगठनिक कामहरु रोकिएका छन् । यसकारण पनि पार्टीमा जीवन्तता र गति ल्याउन पार्टी एकताको काम यथाशीघ्र हुनेछ ।


राजदूत नियुक्तिको सन्दर्भलाई जोडेर रिक्त रहेका स्थानको पदपुर्ती र अहिले कार्यभार सम्हालिरहेका पार्टीगत फरक हिसाव (कांग्रेस, राप्रपा आदि) का राजदूतलाई फिर्ता गर्ने कार्ययोजना छ कि छैन ?

हो, भारतसहितका केही महत्वपूर्ण मुलुकमा राजदूत पद रिक्त रहेको अवस्था महत्वपूर्ण छ । त्यसमाथि भारतमा प्रधानमन्त्रीको भ्रमण भैरहेका बेला राजदूत रिक्त रहनु असहज स्थिति हो । यसमा निश्चित कार्यबिधि बनाएर रिक्त स्थानमा यथासक्य चाँडो राजदूत पठाउनेछौं । यसका लागि संसदीय सुनुवाइ समितिको गठन पनि पर्खेका छौं । अरु स्थानका हकमा र बिगतको सरकारले भिन्न राजनीतिक आस्था वा बिचारका आधारमा राजदूत नियुक्त गरेको भनेर तत्काल फिर्ता गर्ने अथवा बिकल्प खोज्नेबारे सोचिएको छैन । बरु कार्यरत राजदूतहरुको कार्यपद्धति मुल्यांकन र सामयिकता भने हेर्न सकिन्छ । यसका आधारमा पुर्नमुल्यांकन हुन सक्छ । बदलिंदो सन्दर्भमा नेपालको छविलाई अझ उँचो बनाउने र प्रभावकारी आर्थिक कुटनीति संचालन गर्न चाहिने कार्यसम्पादन भने अब मुल्यांकनमा पर्नेछ ।


प्रधानमन्त्री ओलीकै पालामा २ बर्षअघि गठित प्रबुद्ध समुह (इपीजी) का वैठकहरु एकपछि अर्को गर्दै भैरहेका छन् । ६५ बर्ष पुरानो नेपाल–भारत मैत्री सन्धिलाई खारेज गर्नुपर्ने तहको छलफल भैरहेको अवस्थामा इपीजीबारेको धारणा के छ ?

इपीजीको छलफल एकदमैं सकारात्मक र अर्थपूर्ण छ । द्वीदेशिय कानूनी र अन्य प्रावधानका हरेक बँुदामा कुरा गर्न ‘म्यान्डेट’ अन्तर्गत रहेर बिज्ञहरुले निरन्तर छलफल गरिरहेका छन् । द्वीदेशिय कुनै पनि सन्धी–सम्झौतालाई पुर्नमुल्यांकन गर्दै २१ औं शताब्दी सुहाउादो सन्धि/समझदारी बन्न सक्ने स्थिति छ, किनभने अहिले नेपाल–भारत सम्बन्धको हकमा धेरै तहमा समझदारी राखेरै अघि बढ्ने दोहोरो बुझाइ बनेको अवस्था छ ।


नेपालको निर्वाचन प्रकृया र परिणाममा युरोपेली युनियनले हालै जारी गरेको अध्यन प्रतिवेदनमा परराष्ट्र मन्त्रालयको ‘प्रतिवाद’ बिज्ञप्ती निकै अर्थपूर्ण थियो । यसरी, एकपछि अर्को बिषय र मुद्दामा परराष्ट्रले प्रतिवाद मात्रै गरिरहेर सम्भव हुन्छ ? यसका लागि एउटा संयन्त्र बन्नुपर्ने होइन र ?

हो, बिभिन्न कुटनीतिक नियोगका अधिकारीले प्रदेश तहमा गएर गरिरहेको आफूखुशी भेटघाटलाई परराष्ट्रसँगको समन्वय र अनुमतिमा मात्रै जान पाइने भनेर नियम पारित भैसकेको छ । केन्द्रमा पनि यस्तै पद्धतिमार्फत राजदूतहरुले भेटघाट गर्न पाउने परिपत्र जारी हुँदैछ । किनभने विदेशी नियोग, दाता वा दातृ समुहसँगको हरेक भेटघाट रेकर्डेड (अभिलेखवद्ध) हुनैपर्छ । अर्कातिर, दाता र दातृनिकायले अब जनचेतनामूलक कार्यक्रम र अभियानका नाममा (सफ्टवेयर सहयोग) ‘रिसोर्स’ छर्न नपाउने पद्धति स्थापित गर्न लागेका छौं । बरु आत्मनिर्भर बनाउने, रोजगारी बढाउने, पूर्वाधार तयार गर्ने जस्ता योजनाहरु हामीलाई बढी चाहिएको छ । ‘रिसोर्स’ छर्नेभन्दा च्यानलमा लैजाने पद्धति अबका दिनमा हुर्काउनु जरुरी छ ।

प्रकाशित : चैत्र १९, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?