१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रधानमन्त्रीको भारत भ्रमण: अरुण तेस्रो दुवै नेताले शिलान्यास गर्ने

सुरेश न्यौपाने

नयाँदिल्ली — प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास हुने भएको छ । भारतीय सरकारी कम्पनी सतलजले निर्माण गर्न लागेको ९०० मेगावाटको यो आयोजनाको प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भारत भ्रमण: अरुण तेस्रो दुवै नेताले शिलान्यास गर्ने

स्रोतका अनुसार हैदराबाद हाउसमा हुने एक विशेष समारोहमा दुवै प्रधानमन्त्रीले स्विच थिचेर आयोजना शिलान्यास गर्नेछन् । भारत सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीले परियोजनाको लाइसेन्स पाएको छ । गत वर्ष भारत सरकारले कम्पनीलाई परियोजना विकासका लागि अनुमति दिँदै ९१ अर्बको बजेटसमेत स्वीकृत गरेको थियो । अरुण तेस्रोकै लागि भनेर सतलज अरुण विद्युत् विकास कम्पनीसमेत स्थापना गरिएको छ । संखुवासभा जिल्लामा पर्ने परियोजना सम्पन्न गर्न करिब ५ वर्ष लाग्ने अनुमान छ ।

तीन वर्षअघि सतलज र लगानी बोर्डबीच परियोजना विकास सम्झौता (पीडीए) भएको थियो । पीडीएअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१.९ प्रतिशत बिजुली नेपाललाई नि:शुल्क उपलब्ध गराउनुपर्नेछ । उत्पादन थालेको २५ वर्षपछि आयोजना नेपाललाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ । उक्त अवधिमा आयोजनाबाट नेपालले ३ अर्ब ४८ अर्ब रुपैयाँका अलावा एक खर्ब १६ अर्ब रोयल्टी र ८० अर्ब रुपैयाँ आयकर प्राप्त गर्नेछ । कम्पनीले व्यावसायिक उत्पादन सुरु गरेको १० वर्षसम्म शतप्रतिशत आयकर छुट र त्यसको पाँच वर्षपछि नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिने प्रावधान पनि पीडीएमा समेटिएको छ । आयोजनाको कुल अनुमानित लागत एक खर्ब चार अर्ब रुपैयाँभन्दा बढी छ । नेपालले प्राप्त गर्ने नि:शुल्कबाहेकको बिजुली भारत निर्यात गरिए अकासिँदै गएको भारतसँगको व्यापारघाटा कम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : चैत्र २०, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?