ओलीलाई पूर्वप्रधानमन्त्रीहरूको सुझाव- ‘अडानबाट पछि नहट्नुस्’

चन्द्रशेखर अधिकारी

काठमाडौँ — भारतसँगका पूर्वअडानबाट पछि नहट्न पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । उनीहरूले नेपाल–भारत सम्बन्धलाई बदलिँदो अवस्थामा अझ उचाइमा पुर्‍याउन आग्रह गरे ।

ओलीलाई पूर्वप्रधानमन्त्रीहरूको सुझाव- ‘अडानबाट पछि नहट्नुस्’

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सम्बन्धमा आफ्नो पूर्ववर्ती अडानमा स्थिर रहन ओलीलाई सुझाए । नेपालले सधैं भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेको, बरु कहिलेकाहीँ उतैबाट समस्या उत्पन्न हुने गरेको औंल्याउँदै भने, ‘मीठा कुरामात्र होइन, केही समय बाहिर छताछुल्ल भएको भारतीय रूपलाई समेत ध्यान दिएर अघि बढ्नुस् ।’ दुई देशबीच ‘भाइ–भाइ’ को होइन, ‘मित्र–मित्र’ को जस्तो सम्बन्ध आवश्यक रहेको उनले सुझाए ।’


प्रधानमन्त्री ओलीले दिल्ली यात्रामा निस्कनु दुई दिनअघि बुधबार पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका थिए । ओलीलाई पूर्वप्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेताद्वय नेपाल र झलनाथ खनाल, राप्रपा नेता लोकेन्द्रबहादुर चन्द र चुनावी मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले भ्रमणका विषयमा सुझाव दिएका थिए ।


प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको छलफलमा ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्यहरूलाई समेत राखेका थिए ।


पूर्वप्रधानमन्त्रीहरू सबैले नेपाल–भारत सम्बन्ध पुरानो र घनिष्ठ रहेको भन्दै यसलाई अझ बलियो बनाउँदै लैजान सक्नुपर्ने बताएका थिए । उनीहरूले मुलुकको पछिल्लो अवस्था र परिस्थितिबारे समेत छलफल गरेका थिए । पूर्वप्रधानमन्त्रीहरूले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उँचो बनाउन केन्द्रित हुन पनि ओलीलाई आग्रह गरे ।


दुई देशबीच यसअघि भएका सन्धि र सम्झौता कार्यान्वयनमा उतार्न पनि उनीहरूले सुझाव दिए । संविधान जारी भएपछि नाकाबन्दी लगाएको भारतले त्यही संविधानमा अडेर निर्वाचनपछि बनेको सरकारलाई यो तहमा स्वागत गर्न खोज्नुलाई सम्बन्ध सुधारको संकेत भन्दै उनीहरूले यो समयलाई प्रधानमन्त्रीले ‘क्यास’ गर्न सक्नुपर्ने धारणा राखे । पुरानो मानसिकताले २१ औं शताब्दीको सम्बन्ध विकास गर्न नसकिने जनाउँदै उनीहरूले नयाँ सोचसाथ नेपाल ‘प्रोएक्टिभ’ भएर अघि बढ्न सुझाए ।

देउवाले भारतसँगको व्यापार घाटा कम गर्नेबारे छलफल केन्द्रित गर्न आग्रह गरे । नेपालको हित हुने गरी भारतलाई साथ लिने विषयमा ध्यान दिनुपर्ने उनको जोड छ ।


दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला असजिलो अवस्थाको नेपाल–भारत सम्बन्ध अहिले सुधार हुँदै गएकाले यसलाई थप उचाइमा लैजानुपर्ने सुझाए । ‘भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यो, खास समस्या छैन भनेर बुझाउनुपर्छ । भारतका केहीले संविधानको अपव्याख्या गरेर दिएको गलत सन्देश चिर्न भ्रमण सफल हुनुपर्छ,’ दाहाललाई उद्धृत गर्दै भेटमा सहभागीले भने, ‘निर्वाचनमा जनताको सहभागिता, गणतान्त्रिक संविधानको अनुमोदनजस्ता विषय राजनीतिक नेतृत्वलाई सुझाउन सक्नुपर्छ ।’ सडक, यातायात, ऊर्जा र विकास निर्माण क्षेत्रमा यसअघि भएका सन्धि–सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने उनको सुझाव छ ।


पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘हाम्रो भूगोल नै त्यस्तै छ, नेपाली सधैं सचेत हुनुपर्छ, हौसिनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो यो ‘सद्भावना’ भ्रमण भएको र यो देशको हितका लागि हुने स्पष्ट पारे । ‘यसपालिको भ्रमणमा कुनै सन्धि–सम्झौता हुँदैन । देशको अहितमा कुनै काम गरिँदैन । विगतका सन्धिसम्झौता कार्यान्वयनमा जोड दिइनेछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ, ‘यस भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’


छलफलमा कतिपय विषय ईपीजीमै छलफलमा रहेकाले त्यसमा प्रवेश नगर्न नेपाली पक्षका ईपीजी सदस्यहरूले सुझाव दिएका छन् । ईपीजी टोलीले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित सरकारका उच्च अधिकारीहरूको सहभागिता थियो ।


प्रधानमन्त्री ओली तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली प्रस्थान गर्दैछन् ।

प्रकाशित : चैत्र २१, २०७४ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?