३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बनेपा-काठमाडौं रुटमा नयाँ इजाजत दिने घोषणा  

दीपेन्द्र विष्ट

काठमाडौँ — नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघसँग आबद्ध १३ वटा स्थानीय समितिले अरिनिको राजमार्गमा चल्ने सवारी सञ्चालनमा रोक लगाएपछि सरकारले व्यवसायी तथा कम्पनीलाई रुटको लागि निवेदन दिन आव्हान गरेको छ ।

बनेपा-काठमाडौं रुटमा नयाँ इजाजत दिने घोषणा  

स्थानीय व्यवसायीले सिन्डकेट नतोड्ने जनाएपछि विभागले बनेपा-काठमाडौं रुटमा चलाउने जुनसुकै कम्पनी र व्यवसायीलाई तुरुन्त रुट इजाजत दिने घोषणा गरेको हो । ‘सिन्डिकेट लगाएर चलाउँछौं, भन्नु कानुन विपरीत हो, त्यो अब चल्दैन, सिन्डिकेट खारेज भइसकेको छ,’ विभागका निर्देशक तुलसीराम अर्यालले भने, ‘कानुनी राज्यको पालन सबैले गर्नुर्छ, राम्रो र गुणस्तरीय सेवा दिनेलाई रुट इजाजत दिन्छौं ।’


जनताको सेवा गर्ने उद्देश्यले दर्ता भएका व्यवसायीले बन्द/हडताल गरे यात्रुलाई सास्ती दिनु नहुने उनले बताए । ‘मयुरलाई रुट परमिट दिंदा विरोध गर्नु हुँदैन’ उनले भने, ‘बरु मयूर भन्दा यात्रुलाई राम्रो सेवा दिने प्रतिस्पर्धा गर्नुपर्छ ।’ काठमाडौं–बनेपा रुटमा चल्ने मयूर यातायात प्रालिलाई स्थानीय समितिसँग समन्वय नगरी रुट इजाजत दिए भन्दै महासंघले विरोध गर्दै आएको छ । विरोध स्वरुप महासंघले बुधबार भक्तपुर, चाँगुनारायण, छालिङ, दुवाकोट, सिपाडोल, बागेश्वरी, तेलकोट, नगरकोट, सिपाडोल डोलेश्वर, बालकोट सिरुटार, च्यामासिङ, झौखेल, ताथलीलगायत ग्रामीण रुटमा सञ्चालित यातायात सेवा पूर्ण प्रभावित बनेको छ । यातायात सेवा ठप्प भएपछि ग्रामिण क्षेत्रमा यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन् ।


यस अघि आइतबार पनि महासंघले स्थानीय रुटमा चल्ने यातायात सेवालाई ठप्प पारेको थियो । ऐनमै नभएको सिन्डिकेट तथा कार्टेलिङ व्यवस्थालाई प्रश्रय दिए कारवाही हुने विभागका एक अधिकारीले बताए । ‘सर्वोच्च अदालतको आदेशको पनि व्यवसायीले खिल्ली उडाएका छन्’ ती अधिकारीले भने, ‘अब महासंघलाई दिए रुट खारेज गर्नुपर्छ, त्यसबारे छलफल पनि भइरहेको छ ।’ आर्थिक उदारीकरण र प्रतिस्पर्धात्मक बजार व्यवस्थामा पनि सिन्डिकेट पक्ष उभिनु भनेको राज्यको शासन सत्ता विरुद्ध सरह भएको ति अधिकारीले तर्क छ । ‘मयुर यातायातले राम्रो सेवा दिन्छु भने महासंघलाई के को आपति ?’ ती अधिकारीले भने। मयूर यातायातका बस बनेपा–कोटेश्वर–एयरपोर्ट–चाबहिल–नारायणगोपालचोक–बालाजु–कलंकी–बल्खु हुादै कोटेश्वरबाट पुन: बनेपा पुग्ने गरेका छन्। त्यसैगरी बनेपा–कोटेश्वर–एकान्तकुना–बल्खु–कलंकी–बालाजु–चक्रपथ–चाबहिल–गौशाला हुादै कोटेश्वरबाट पुन:बनेपा पुग्ने पनि यसको अर्को रुट छ । मयूरले यी रुटमा १४ वटा ४२ सिटे र अन्य ३७ सिट भएका प्रविधिमैत्री बस सञ्चालन गरेको छ । वाइफाई, टेलिभिजन, डिजिटल कार्ड, बसको अगाडि र पछाडि सीसी क्यामरा जडान गरिएको छ ।


‘६/७ वटा गाडी त तोडफोड गरि सके । भक्तपुर, ललितपुर, काभ्रेका ग्रामीण भेगमा चलाउने इजाजत दिए चलाउन तयार छौं । कसैको रुट परमिट खारेज गर भनेर हिडेका छैनौं । स्वच्छ प्रतिस्पर्धा गरौं । जसरी पनि यात्रुलाई सुविधा दिने हो,’ मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले भने, ‘तोडफोड गरेर केही पनि हुँदैन ।’ यो बसमा बच्चा हुने आमालाई आरक्षण सिट व्यवस्था गरिएको छ । ७० वर्षभन्दा माथिकालाई निशुल्क सिट, अपांगता भएका तथा अशक्तलाई निस्शुल्क सिट, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र ट्राफिक प्रहरीलाई निशुल्क सिटको व्यवस्था गरिएको छ ।


साथै, ६ महिनापछि चालक र सहचालकलाई स्थायी गरिने, विमाको व्यवस्थासमेत गरेको अध्यक्ष श्रेष्ठले बताए । राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले हस्तक्षेप गर्दै गए मुलुकभर यातायात ठप्प गर्ने चेतावनी दिए । ‘सिन्डिकेट चलायो भने हामीलाई भन्ने ? स्थानीय व्यवसायीसँग समन्वय गरेर चलाउनपर्छ भन्ने ऐनमा भएको व्यवस्था चलाउनपर्छ अनुसार हामीले माग गरेका छौं,’ उनले भने, ‘यस्तै हो भने, अब अर्को स्टेप चलाउन बाध्य हुन्छौं, त्यसको जिम्मा सरकारले लिनपर्छ ।’

प्रकाशित : चैत्र २१, २०७४ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?