कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दुई हातका कथा

अतुल मिश्र

काठमाडौँ — ललितपुर लेले, तल्लोगाउँका ३४ वर्षीय नवीनकुमार विष्टको जीवनमा १२ दिनअघि नसोचेको भवितव्य आइलाग्यो । विष्टको काम बगलामुखी मन्दिरअगाडि रहेको स्वर्गद्वारी अफसेट प्रिन्टिङ प्रेसमा मेसिनले कागज काट्ने थियो ।

दुई हातका कथा

त्यस दिन कागज काट्ने मेसिनको लक खुस्किएर ठूलो फलामे ‘ब्लेड’ खस्दा काटिने ठाउँमा कागजको सट्टा उनका दुई हात थिए । उनका दुवै हात नाडीनेर च्वाट्टै छिने र पञ्जा टेबलमा अलग्गै उछिट्टिए । तर उनी बेहोस भएनन् । ‘हात काटिनेबित्तिकै दिमागमा पहिलो कुरा अब मैले कसरी काम गर्ने भन्ने आयो,’ विष्टले भने, ‘अब कसरी परिवार पाल्ने भन्ने चिन्ता छायो ।’

मेसिनले झ्याप्पै काटेर पञ्जा उछिट्टिएर ठुटो बनेका विष्टका हातबाट रगत बग्न थाल्यो । तत्कालै उनीसँग एउटै मेसिनमा काम गर्ने प्रकाश कार्कीले रगत बगिरहेका हातलाई आफ्ना दुवै हातले च्याप्पसँग समाते । रगत बग्न केही रोकियो । प्रेसका अरू साथीले हातका काटिएका टुक्रालाई झोलामा हाले । काटिएको हात त्यसरी नै समाइसमाई छिमेकीको गाडीमा राखेर २० मिनेटमा उनलाई सिनामंगलको केएमसी अस्पताल पुर्‍याइयो । ‘त्यतिन्जेलमा मैले आफूलाई अपांग मानिसकेको थिएँ,’ विष्टले कान्तिपुरसँग भने, ‘अब नमस्कार कसरी गर्ने भन्ने चिन्ता पनि लाग्यो ।’ उनको परिवारमा आमा, बुबा, श्रीमती र छोरा छन् । ‘अपांग भएपछि अब कसरी परिवार पाल्ने भन्ने चिन्ता फेरि लाग्यो,’ उनले सुनाए ।

केएमसी अस्पतालले हात जोड्न नसक्ने बतायो । तर हातबाट रगत बग्न रोकिदियो र ब्यान्डेज गरिदियो । साथै तुरुन्त शिक्षण अस्पताल महाराजगन्जको इमर्जेन्सीमा लैजान भनियो । अस्पतालले उनका छिनेका हातका पञ्जालाई प्लास्टिक थैलीमा हालेर त्यो थैलीलाई बरफ पानीमा राखेर दियो । यसरी राख्दा हात जोड्न सकिने सम्भावना बाँकी रहन्थ्यो । केएमसीले नै त्रिवि शिक्षण अस्पताललाई यस्तो ‘केस’ आउँदै छ भनेर पूर्वजानकारी पनि दियो ।

शिक्षण अस्पतालको आकस्मिक कक्षमा विष्ट पुग्नासाथ अत्यावश्यक परीक्षण गरेर तुरुन्त शल्यक्रिया कक्षमा लगेर अप्रेसन सुरु गरियो । अप्रेसनको नेतृत्व गरेका थिए– डाक्टर ईश्वर लोहनीले । लोहनी तिनै चिकित्सक हुन् जसले काटिएको हातलाई नेपालमै पहिलोचोटि जोड्ने अप्रेसन गरेका थिए । उनका अनुसार कुनै पनि काटिएर रक्त सञ्चार नभएको तन्तुलाई यसरी बरफ पानी नपर्ने गरी बेरेर राख्दा ८ देखि १० घण्टासम्म जोगाउन सकिन्छ । विष्टको हातको करिब साढे ६ घण्टा लगाएर अप्रेसन गरियो । उनका दुवै हात जोडिए ।

‘अहिले ठीकै छ, औंला चल्न थालेका छन्,’ विष्टले जोडिएका आफ्ना हात देखाउँदै भने, ‘डाक्टरले फिजियोथेरापी गराउन भन्नुभएको छ, नयाँ जीवन पाएजस्तो लागेको छ । तर, हातले पहिलेजस्तै काम गर्न सक्ने हो कि होइन, डर पनि लागिरहेको छ ।’ बुधबारदेखि शिक्षण अस्पतालमै उनको फिजियोथेरापी सुरु भएको छ । ‘सबै तन्तु जोडिए पनि हातले राम्रो काम गर्न फिजियोथेरापीको महत्त्वपूर्ण भूमिका रहन्छ,’ डा. लोहनीले भने ।

डा. लोहनीले ८ वर्षअघि २०६६ को वैशाखमा पनि छिनिएका दुवै हात जोडेका थिए । त्यसबेला शमशेर कार्कीका हात पनि प्रिन्टिङ मेसिनमा नै काटिएका थिए । त्यसबेला हात जोड्ने अप्रेसनलाई १० घण्टा लागेको थियो । शिक्षण अस्पतालमा दुवै हात जोडिएका विष्ट दोस्रो व्यक्ति हुन् । एउटा मात्रै हात भने यसअघि ७ पटक जोडिएको लोहनीले बताए । यसमध्ये एउटा थियो– कुख्यात गुन्डा नाइके चक्रे मिलनको हात । अर्का गुन्डा नाइके दीपक मनाङेको ग्याङले काटिदिएको हात बोकेर चक्रे आफैं अस्पताल पुगेका थिए ।

लोहनीको नेतृत्वमा भएको यो शल्यक्रियामा प्लास्टिक सर्जन कृष्ण मानन्धर, सर्जरी विभागका रेजिडेन्टहरू प्रशान्त पौडेल, रुद्र दाहाल, इशा दाहाल संलग्न थिए । यस्तै शल्यक्रियामा एनेस्थेसियातर्फ पंकज जोशी, अब्दुल्ला, शिव पौडेल तथा निकिता गुरुङको टिमले सघाएको थियो ।

कुनै अंग काटिए के गर्ने ?
हातलगायतका अंग छिन्दा जतिसक्दो चाँडो काटिएको अंगलाई सुक्खा प्लास्टिकको थैलो, सर्जिकल पञ्जा आदिमा सुरक्षित रूपले राख्नुपर्छ । त्यसपछि त्यो अंगलाई अर्को प्लास्टिकको थैलोमा करिब २ देखि ४ डिग्री सेन्टिग्रेड तापक्रमको पानीमा डुबाएर राख्नुपर्छ । तापक्रम त्यति नै बनाउन थैलोको पानीमा बरफ मिसाउन सकिने चिकित्सक बताउँछन् ।

‘पहिलेका केही घटनामा हातलाई पानीमा डुबाएर ल्याइएको थियो,’ त्रिवि शिक्षण अस्पतालका सर्जन डा. ईश्वर लोहनी भन्छन्, ‘काटिएको भागलाई पानी वा स्लाइनमा डुबाएर राख्नु हुँदैन ।’ बरफको प्रत्यक्ष सम्पर्कमा समेत काटिएको अंगलाई राख्नु हुँदैन ।

सामान्य तापक्रममा काटिएको अंग राखेर ल्याउँदा करिब ६ घण्टासम्म जोड्न मिल्ने भए पनि कम तापक्रममा सुरक्षित प्रकारले राखेर ल्याउँदा ८ देखि १० घण्टाभित्र समेत जोड्न सकिन्छ । छिनेका अंगमा पनि धारिलो हतियारले काटेको भाग जोड्न सजिलो हुने उनी बताउँछन् ।

‘मेसिनमा अड्किएर छिनेको, साइकलको चेनमा अड्किएको, निकै क्षत–विक्षत भएको अंग जोड्न अप्ठ्यारो हुन्छ,’ डा. लोहनी भन्छन्, ‘अस्पतालमा सबै सुविधा उपलब्ध हुँदा जोड्न सकिन्छ ।’

प्रकाशित : चैत्र २३, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?