२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वैशाख २ देखि भर्ना अभियान

सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाख २ देखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान घोषणा गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सरोकारवालाको उपस्थितिमा अभियानको घोषणा गरेका हुन् ।

वैशाख २ देखि भर्ना अभियान

विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षा कोठासम्म ल्याउन र भर्ना भएकै दिन पूरा सेट पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यसाथ अभियान घोषणा गरिएको हो । अभियानअन्तर्गत प्रधानमन्त्री केपी ओलीले कर्णालीका कुनै एक बालबालिकालाई विद्यालयमा भर्ना गरेर पाठ्यपुस्तक हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जानकारी मन्त्री पोखरेलले दिए ।


मन्त्रालयले घोषित अभियानमा साथ र सहयोग दिन अपिल गरेको छ । अभियानको नारा ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने छ । यसअनुसार शिक्षाको पहुँचबाट टाढा रहेका विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा अन्य पिछडिएका वर्गका बालबालिकालाई विद्यालयमा भर्ना गरी सहयोग गर्न सरोकारवालालाई अनुरोध गरिएको छ ।


‘शिक्षाको महत्त्व बुझेका प्रत्येक नागरिकले विद्यालयभन्दा बाहिर रहेका एक/एक बालिबालिकालाई भर्ना गरी सहयोग गरून् भन्ने हाम्रो उद्देश्य हो,’ मन्त्री पोखरेलले भने, ‘भर्ना भएका बालक वा बालिकालाई आवश्यक न्यूनतम स्टेसनरी र पोसाकको व्यवस्थासहित निरन्तर अभिभावकत्व ग्रहण गरिदिनसमेत आग्रह गरेका छौं ।’ अभियानलाई सशक्त र प्रभावकारी बनाउन सातवटै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकासमन्त्रीलाई डाकेर छलफल गरिने उनले बताए ।


२०७४ को शैक्षिक तथ्यांकअनुसार प्राथमिक तहमा (५ देखि ९) उमेर समूहका २ दशमलव ८ प्रतिशत र आधारभूत तह (१–८) कक्षाका ५ वर्ष देखि १२ वर्ष उमेरका ७ दशमलव ७ प्रतिशत बालिकाबालिका अझै पनि विद्यालयबाहिर छन् । यसअघि पनि प्रत्येक वर्ष विद्यालय भर्ना अभियान सञ्चालन गरे पनि विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गराएर कक्षाकोठामा टिकाइराख्न विशेष अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।


आधारभूत तहमा सबभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेका २५ हजार ५ सय १५ बालबालिका विद्यालयबाहिर छन् । यसपटक १० वर्षपछि समयमा पाठ्यपुस्तक छपाइ भएकाले भर्ना भएकै दिन विद्यार्थीले पाठयपुस्तक पाउने शिक्षा विभागको दाबी छ ।

प्रकाशित : चैत्र २३, २०७४ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?