देशभर एन्टीरेबिज भ्याक्सिन अभाव

सरकारसँग ५ दिनको लागि मात्र पुग्ने स्टक
भिषा काफ्ले

काठमाडौँ — समयमा नै खरिद प्रकृया नहुँदा एन्टी रेबिज भ्याक्सिन(एआरभी) खोपको अभाव हुन थालेको छ ।कुकुर लगायत जनवारले टोकेमा त्यस विरुद्ध यो खोप दिइन्छ ।

देशभर एन्टीरेबिज भ्याक्सिन अभाव

देशभर दैनिक एक हजार भाइल भन्दा बढी खपत हुने सो खोप अहिले स्वास्थ्य मन्त्रालयको स्टकमा पाँच हजार भाइल मात्र रहेको स्वास्थ्यका अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. केदार सेन्चुरीका अनुसार स्टकले अबको पाँच दिन मात्र धान्ने बताए । तत्काल सिधा खरिद गर्न नसके केही दिनबाट देशभर समस्या हुने उनले बताए । ‘हामीसँग भएको स्टक थोरै छ, केही दिनलाई मात्र पुग्छ ।’ उनले इकान्तीपुरसँग भने ‘सिधै खरिद गर्न सकिएन भने समस्या आउँछ ।’ तत्कालका लागि समाधान गर्न मन्त्रालयमा प्रस्ताव पठाएको उनको भनाइ छ ।


समयमा नै सो खोपको टेन्डर स्वीकृत हुन नसक्दा अहिले आएर समस्या परेको हो । गत साउनमा मन्त्रालयले आह्वान गरेको टेन्डरमा तोकिएको सिलिङ्ग भन्दा बढिको प्रस्ताव मात्र परेपछि रद्ध गरिएको थियो । सिलिङ्गलाई पुर्नविचार गरी पुन खोलिएको टेन्डरको भने प्रस्ताव स्वीकृत गरिएको छ । तर पछिल्लो टेण्डर प्रकृया अनुसार औषधी आइपुग्न अझै कम्तीमा दुई महिना लाग्ने हुँदा तत्कालको लागी सिधै खरिद गर्नुको विकल्प नरहेको डा सेन्चुरीको भनाइ छ । एक हप्ता अघि मात्र महाशाखको प्रमुख भएर आएका सेन्चुरीले समस्या समाधान गर्न सिधै खरिद प्रस्ताव मन्त्रालयमा पठाइएको जानकारी दिए ।


‘यस अघि औषधीका लागि आह्वान गरिएको टेण्डरमा सिलिङ्ग भन्दा बढीको प्रस्ताव पर्न आएर स्वीकृत हुन सकेन ।’ उनले भने ‘त्यो टेन्डर प्रकृया समयमा नै स्वीकृत हुन नसक्दा अहिले समस्या पर्ने अवस्था आयो । ’ मंगलबार नै सिधा खरिद प्रकृयाका लागि मन्त्रालयमा पठाइएको प्रस्ताव शुक्रबारसम्म पनि कुनै जानकारी नआएको उनको भनाइ छ । महाशाखाले करिब २ करोड बराबरको ४६ हजार भाइल खोप किन्नका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेकाे छ ।


खोप कम हुँदै गएपछि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबैभन्दा बढी चाप हुने राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मात्र पर्याप्त खोप दिएर जिल्लामा पठाउने मात्रा कम गरेको एक अधिकारीले बताए । ‘शुक्रराजमा दैनिक ५ सय भाइल खपत हुन्छ ।’ उनले भने ‘यहाँ बिरामीकाे बढी चाप हुने हुँदा अन्त कम पठाउने गरेका छौँ । ’


महाशाखाले दिएको तथ्यांक अनुसार देशभरमा मासिक २५ हजार भाइल खपत हुने गरेको छ ।

सरकारले सरकारी स्वास्थ्य संस्था र तोकिएका केन्द्रबाट निशुल्क रुपमा एन्टी रेबिज भ्याक्सिन वितरण गर्दै आएको छ । सरकारले दिने भ्याक्सिन अभाव भएमा बिरामीले निजी अस्पताल तथा क्लिनिकमा महंगो रकम तिरेर लगाउनुपर्ने हुन्छ । निजी अस्पताल तथा क्लिनिकहरुमा एक भाइलको ५ सय भन्दा बढी शुल्क लिने गरेका छन् ।

प्रकाशित : चैत्र २३, २०७४ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?