३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सार्कका लागि परिस्थिति अनुकूल छैन : भारत

नयाँदिल्ली — भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई अगाडि बढाउन तत्काल परिस्थिति प्रतिकूल रहेको बताएको छ ।

सार्कका लागि परिस्थिति अनुकूल छैन : भारत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्तामा भारतीय समकक्षी नरेन्द्र मोदीले सार्कको अध्यक्ष राष्ट्र नेपाललाई यस्तो जानकारी गराएका हुन् ।

भारतीय विदेश सचिव विजयकेशव गोखलेले भेटका क्रममा प्रधानमन्त्री ओलीले बिमस्टेक, बीबीआईएन र सार्कजस्ता क्षेत्रीय संगठनको महत्त्व र भूमिकाबारे चर्चा गरेका थिए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले ‘सीमापार आतंकवादको अवस्था विद्यमान रहेकाले सार्कलाई तत्काल अगाडि बढाउन सहज नभएको’ बताएको भेटपछि विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गोखलेले जानकारी दिए ।

उनले दुई प्रधानमन्त्रीबीच मित्रवत छिमेकका आपसी विषयमा छलफल भए पनि चीन र उससँग जोडिएका बूढीगण्डकी, बीआरआई लगायतका विषयमा चर्चा नै नभएको दाबी गरे ।

दुई प्रधानमन्त्रीबीच चीनसँग सम्बन्धित कुनै पनि विषयमा छलफल नभएको पनि विदेश सचिव गोखलेले जानकारी दिए । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने जिम्मा फेरि चीनलाई नै दिने प्रक्रिया अघि बढेको हो ? भन्ने जिज्ञासामा उनले यसबारे दुई प्रधानमन्त्रीबीच कुनै छलफल नभएको बताए । लागूऔषध ओसारपसार, मानव तस्करी लगायतका सीमा सुरक्षासँग जोडिएका विषयमा सहकार्य गर्न दुवै पक्ष सहमत भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भारत सरकारका तर्फबाट दिइएको सम्मान गारद ग्रहण गर्दै ओली ।

भेटवार्तामा नेपालको बढदो व्यापार घाटासम्बन्धी विषय उठे पनि त्यसबारे आगामी वाणिज्य मन्त्रीस्तरीय बैठकमा थप छलफल हुने समझदारी बनेको जानकारी उनले दिए । गोखलेका अनुसार भारतको सहयोगमा सञ्चालनमा रहेका पूर्वाधारका आयोजनालाई गति दिन दुवै पक्ष सहमत भएका छन् ।

भारतले बनाएको विद्युत् खरिदसम्बन्धी निर्देशिकाका व्यवस्थाप्रति नेपाली मात्र होइन, नेपालमा लगानी गर्न चाहने विदेशी प्रवद्र्धकसमेत सशंकित छन् । भारत सरकार र भारतीय निजी क्षेत्रको ५१ प्रतिशत या त्योभन्दा बढी लगानी भएका प्रवद्र्धकले नेपाल या अन्य छिमेकी मुलुकमा बनाउने विद्युत् आयोजनाबाट मात्र विद्युत् खरिद गर्ने व्यवस्था निर्देशिकामा छ । त्यसबारे उठेको प्रश्नको जवाफमा सचिव गोखलले ‘निर्देशिकाका सम्बन्धमा नेपाल लगायतका छिमेकीबाट विभिन्न सुझाव आएको र त्यसलाई मध्यनजर गर्दै पारदर्शी संरचना बनाइने बताए । हैदरावाद हाउसमा भएको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले आफ्ना भनाइ राखे पनि पत्रकारलाई जिज्ञासा राख्न दिइएको थिएन ।

प्रकाशित : चैत्र २५, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?