कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुटानी शरणार्थी ‘हाम्रो समस्या समाधान होस्’

अर्जुन राजवंशी

दमक — झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूले आफ्ना समस्या समाधान गरिदिन तीनै तहका सरकार प्रमुखसमक्ष गुहार मागेका छन् ।

भुटानी शरणार्थी ‘हाम्रो समस्या समाधान होस्’

झापाको दमक र मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख, प्रदेश १ का मुख्यमन्त्री तथा केन्द्रीय सरकारका प्रधानमन्त्री, परराष्ट्र र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भुटानी शरणार्थी समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

नेपाल सरकारले चासो नदिँदा भुटानी शरणार्थी अढाई दशकदेखि कष्टपूर्ण जीवनयापन गर्न बाध्य रहेको उनीहरूको भनाइ छ । शरणार्थीको एउटा समूहले बुधबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ । दमकको बेलडाँगीस्थित शरणार्थी शिविरका सचिव टीकाराम रसाइली र पथरीशनिश्चरे शिविरका सचिव चम्पासिंह राईसहितको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमार्फत शरणार्थीलाई सहयोग गर्दै आएको विश्व खाद्य कार्यक्रमले रासन कटौती गरेको जानकारी दिइएको छ । अहिले शरणार्थीलाई २८ दिनका लागि ९ किलो चामल मात्रै दिने गरिएको छ । यसअघि चामलसँगै नुन, तेल, सब्जी, चिनी, पीठो, साबुन, मट्टितेल र कपडासमेत दिने गरेको थियो । तर, अहिले ९ केजी चामलबाहेक सबै सुविधा कटौती हुँदा जीवन धान्न गाह्रो भएको सचिव चम्पासिंह राईले बताए ।

उनले शरणार्थीलाई उपलब्ध हुँदै आएको स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका सुविधा पनि कटौती भएको बताए । ‘पहिला सबैखाले स्वास्थ्य सेवा उपलब्ध थियो,’ राईले भने, ‘अहिले सबै कटौती भएर आकस्मिक मात्रै पाउने गरेका छौं । शिक्षातर्फ पनि माध्यमिक तहबाट घटाएर कक्षा ८ सम्म मात्रै सेवा दिने गरिएको छ ।’

उनीहरूले शिविरभित्रका समस्यासँगै शरणार्थी समस्या समाधानका लागि अघि सारिँदै आएका प्रस्ताव पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् । उनीहरूले पहिलो बुँदामा नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउनका लागि भुटान सरकारसँग पुन: वार्ता गर्नुपर्ने, नेपालमै बस्न चाहने शरणार्थीलाई त्यस्तो अवसर दिनुपर्ने, परिचय पत्रविहीन शरणार्थीलाई परिचय पत्र दिनुपर्ने र तेस्रो मुलुक पुनर्वास कार्यक्रमलाई पुन: सुचारु गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनीहरूले शरणार्थी समस्या समाधानका लागि प्रधानमन्त्री केपी ओलीलाई पनि आग्रह गरेका छन् । भुटानी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समिति र भुटान स्वतन्त्र नागरिक फोरमले छुट्टाछुट्टै ज्ञापनपत्रमार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

काठमाडौं पुगेको भुटान स्वतन्त्र नागरिक फोरमको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो । ज्येष्ठ नागरिक समितिले प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भुटानी शरणार्थीको मुद्दा उठाइदिन आग्रह गरेको छ । ज्ञापनपत्र बुझदै तीनै तहका सरकार प्रमुखहरूले शरणार्थी समस्या समाधानमा आफूहरू सकारात्मक रहेको बताएका छन् ।

प्रकाशित : चैत्र २५, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?