१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

बाल यौन दुराचारको आरोपमा एक क्यानेडीयन पक्राउ

दीपेन्द्र विष्ट

काठमाडौँ — प्रहरीले गरीब तथा विपन्न परिवारका बालबालिकालाई पढाइ दिने प्रलोभन देखाउँदै लामो समयदेखि बाल यौन दुराचार गर्दै आएको आरोपमा ६० वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई पक्राउ गरेको छ । 

बाल यौन दुराचारको आरोपमा एक क्यानेडीयन पक्राउ



काभ्रेको मन्डन, देउपुर नगरपालिका १ मा करीब १४ रोपनी जग्गामा विलासी ‘भिल्ला’ बनाएर बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले डालगिल्सलाई पक्राउ गरेको हो ।


‘एकजना स्थानीयको नाममा त्यो घर छ, लामो समयदेखि त्यही घरमा बस्दा रहेछन् । २ जना बालकलाई पढाई दिने प्रलोभन देखाएर यौन शोषण गरेको अवस्थामा भेटिए,’ ब्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले भने, ‘लामो अनुसन्धानपछि यो पत्ता लागेको हो ।’


उक्त घर स्थानीय चिलकाजी महर्जनको नाम रहेको प्रहरीले जनाएको छ । दुई वर्षदेखि पटकपटक नेपाल आउने गरेको उनले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली विपन्न तथा गरीब वर्गका बालबालिका पढाइ दिने गरेको खुलेको छ ।


शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्रमा काम गर्ने आडमा उनले बाल यौन दुराचार गरेको कार्कीले बताए । २ जना बालकलाई उद्धार गरे पनि अरु पनि पीडित हुनसक्ने प्रहरीको अनुमान छ ।


‘अहिले भन्न सकिने अवस्थामा छैन,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं ।’


डालगिल्स सन् २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्रसंघमा काम गरेको अनुसन्धानबाट खुलेको छ । नेपाल आउनु अघि प्रहरीले डालगिल्सले बालयौन दुराचारी रहेको सूचना पाइसकेको भन्दै उनले त्यसपछि प्रहरीले पछ्याएको बताए ।


१५ जना भन्दा बढी बालकलाई यौन दुराचार गरेको प्रहरी अनुसन्धान खुलेको छ । डालगिल्सले द्वन्द्व पीडित, बाल मजदूर तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पाएका ३ वटा मानार्थ विद्यावारिधिसमेत प्राप्त गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।


डालगिल्सले लाइबेरियामा विश्व स्वास्थ्य संगठनमा वरिष्ठ सहरी विकास सम्बन्धी सल्लाहकारको रुपमा काम गरेको, अफगानिस्तानमा यूएन हेविटयटमा राष्ट्रिय प्रतिनिधिमा रुपमा काम गरेको समेत अनुन्धानमा देखिएको छ । त्यसका साथै डाफरमासमेत काम गरेको उल्लेख छ ।


डालगिल्सलाई जिल्ला अदालत काभ्रेबाट बालयौन दुराचारमा मुद्दा चलाई अनुसन्धान थालिएको कार्कीले बताए ।


घटनामा नेपालीको संलग्नता रहेको भन्दै त्यसबारेमा पनि अनुसन्धान जारी रहेको उनले बताए । बालयौन दुराचारमा ७ वटा मुद्दा दायर गरेको भन्दै उनले ६ जना विदेशी र एकजना नेपाली गरी ७ जनालाई पक्राउ गरेको बताए ।


मुलुकी ऐन अनुसार बाल यौन दुराचार अपराध प्रमाणित भए बढीमा १५ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव क्षतिपूर्तिको व्यवस्था रहेको छ ।


प्रकाशित : चैत्र २५, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?