२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वन्यजन्तु तस्करको एम्बुसमा परी एक बालकको मृत्यु, ३ घाइते   

मोहन बुढाऐर

धनगढी — मोहना कारिडोरमा पर्ने शिवशक्ति सामुदायिक वन भित्र वन्यजन्तु चोरीतस्करी गर्ने समुहले थापेको विद्युतीय एम्बुसमा एक बालकको मृत्यु भएको छ । ३ बालक घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका २ घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

वन्यजन्तु तस्करको एम्बुसमा परी एक बालकको मृत्यु, ३ घाइते   

धनगढी उपमहानगरपालिका- ११ बेला गाउँमा गएको शुक्रबार भएको घटनामा परि स्थानिय बाबुराम चौधरीको १२ वर्षीय छोरा अमन चौधरीको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै एम्बुसमा परेर सोही गाउँका तेजबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन, भक्तबहादुर पनेरुका १२ वर्षका छोरा सागर, र कर्णबहादुर कठायतका १२ वर्षका छोरा नविन घाइते भएका थिए । घाइते सागर र अर्जुनको अवस्था चिन्ताजनक छ । आइतवार दुवैजनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।


जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक बीरबहादुर बुढाले जंगलमा विद्युत पोलबाट तार तानेर करेन्ट विछ्याएका कारण उक्त घटना भएको बताए । ‘बेला गाउँबाट जंगल हुँदै शेहेयरी लगिएको हाइभोल्टेज विद्युतीय लाइनबाट चोरी गरि तानेको तारमा बालकहरु अल्झिन पुग्दा घटना भएको हो,’ डीएसपी बुढाले भने । घटनाको अनुसन्धान भइरहेको बुढाले बताए ।


वनखेतको जंगलमा सुगाको गुँड निकाल्न खोज्दा अमनको खुट्टा स्याउँला मुनि छोपिएको तारमा अल्झिँदा घटना भएको घाइते नविन कठायतले बताए । ‘अमनले खुट्टा अट्कियो भनेर हातले झिक्न खोज्दै थियो । स्याँउलामा झल्ल आगो बल्यो, उ ढल्यो,’ नविनले भने, ‘तानेर बचाउन खोज्दा सबैलाई करेन्टको झट्का लागेर पछारियौं,’ आफनो होश खुलेपछि रुँदै घरतिर आउँदा अरुले आएर अस्पताल पुर्‍याएको उनले बताए ।

खेतमा गहुँ काटिरहेकाले घाइते तीनै जना रगताम्य भएर कराउँदै आइरहेको खेतमा देखे पछि उद्धार गरिएको सामुदायिक मेलमेलाप केन्द्रकी सहजकर्ता पुष्पा भट्टले बताइन् । घटनास्थलको करिब एक बिगाहा क्षेत्रमा आगो लागेको भट्टले बताइन् । मृतक अमनको पुरै शरीर डढेको थियो । उनले वन्यजन्तु तस्करीले थापेको एम्वुसमा बालकहरु परेको दाबी गरेकी छन् ।


भट्टका अनुसार त्यँही ठाउँमा एक साता अघि एउटा कुकुर पनि करेन्ट लागेर मरेको र केहि महिना अघि स्याउला बटुल्न गएकी शेहरीगाउँकी एक महिला करेन्ट लागेर घाइते भएकी थिइन् । गम्भीर अवस्थामा रहेका सागर र अर्जुनको काठमाडौंमा उपचार भइरहेको आफन्तले बताएका छन् । नविनलाई उपचार पछि घर लगिएको छ । ‘डाक्टरले भित्री असर छैन, बाहिर जिउमा मात्रै घाउ हुन, बिस्तारै ठिक हुन्छ भनेपछि घरमा ल्यायौं,’ नविनका बुवा कर्णबहादुरले भने । वडा नम्बर ११ का सदस्य उत्तम जोशीले बन्यजन्तु चोरी सिकारी हुने गरेको बताए । ‘उनीहरुलेनै थापेको एम्वुसमा परि गाउँका बच्चाको मृत्यु भयो’उनले भने, ‘ प्रहरी प्रशासन र सरोकार निकायले चोरसिकारीहरु खोजी गरेर कठघरामा उभ्याउनु पर्छ ।’ उनले घटना भएको ३ दिनसम्म घटनामा संलग्नको पत्ता नलागेको बताएका छन ।


जिल्लाका प्रहरी प्रमुख बिनोद घिमिरेले विद्युतीय तार जंगलमा बिछ्याएर वन्यजन्तु तस्करी गर्नेको खोजी भइरहेको बताए । सामुदायिक उपभोक्ता समितिले आफ्नो वन क्षेत्रमा भइरहेको यस्ता गतिविधि नियन्त्रणका लागि बिशेष योजना बनाएर अघि बढ्नु पर्ने घिमिरेले बताए । सामुदायिक वनका अध्यक्ष जीतबहादुर रानाले चोरी सिकारी नियन्त्रणका लागि उपभोक्ता समितिले मात्रै नसक्ने हुँदा वन र प्रहरी प्रशासनको सहयोग चाहिने बताए ।

प्रकाशित : चैत्र २६, २०७४ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?