२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बच्चाको मुखमा के छ ?

मकर श्रेष्ठ

काठमाडौँ — सुर्खेत तरङ्गाका ६ वर्षीय याकुप नेपाली डटपेनको बिर्को मुखमा हालेर खेलिरहेका थिए । सासभित्र तान्दा बिर्को सिधै फोक्सोमा पुग्यो ।

बच्चाको मुखमा के छ ?

स्थानीय, जिल्ला र अञ्चल अस्पताल हुँदै वीर र कान्ति अस्पतालमा समेत उपचार हुन नसकेपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइयो । अहिले उनको त्यहीं उपचार भइरहेको छ ।

***

खोटाङ बाक्सिलाका ८ वर्षीय सुरेश अधिकारी विद्यालयमा डटपेन मुखमा राखेर खेलिरहेका बेला बिर्को स्वात्तै भित्र छिर्‍यो । विद्यालयमा बेहोस भएपछि सुरेशका अभिभावकले आत्तिएर एम्बुलेन्समा काठमाडौं ल्याए । कान्ति अस्पताल पुर्‍याए । कान्तिले शिक्षण अस्पताल रिफर गर्‍यो । उपचार गर्न १६ दिन लाग्यो । उनकी आमा निर्मला अधिकारीका अनुसार सुरेशको उपचारमा साढे दुई लाख रुपैयाँ खर्च भयो ।

***

कालिकोटका ९ वर्षीय अर्जुन बुढामगरलाई पनि फागुन अन्तिम साता डटपेनको बिर्को निलेपछि उपचार गर्न काठमाडौं ल्याइयो । दुई साता उपचारपछि उनी ठीक भए ।

***

यस्ता घटनाका कारण पछिल्लो एक महिनायता मात्र शिक्षण अस्पताल महाराजगन्जमा उपचार गर्न तीन जनालाई ल्याइयो । तर बेलैमा अस्पताल नल्याउँदा र चिकित्सकले रोग पहिचान गर्न नसक्दा मृत्यु भएका घटना पनि उत्तिकै छन् । शिक्षण अस्पताल आएका तीनै जनाको भने शल्यक्रिया सफल भएको नाक, कान, घाँटी विशेषज्ञ डा. रवीन्द्र प्रधानांगले बताए ।


उनका अनुसार सुर्खेतका नेपालीको थोराकोटोमी गरेर अड्किएको बिर्को निकालिएको थियो । त्यस्तै खोटाङका अधिकारीको ब्रोन्कोस्कोपी र कालिकोटका बुढामगरको ट्रयाकियोटोमी गरेर अड्किएको बिर्को निकालिएको थियो । थोराकोटोमीमा छाती र श्वासनली चिरेर भित्र अड्किएको डटपेनको बिर्को निकालिन्छ । ब्रोन्कोस्कोपीमा मुखबाट इन्डोस्कोपीको पाइप छिराएर अड्किएको सामान निकालिन्छ भने ट्रयाकियोटोमीमा घाँटीको श्वासनली चिरेर निकालिन्छ ।


अभिभावक र विद्यालयको लापरबाहीले यस्ता घटना बढिरहेका छन् । तल्लो कक्षाका विद्यार्थीलाई पनि डटपेनले लेख्न बाध्य पारिन्छ । विद्यार्थीले गृहकार्य गर्दा होस वा कक्षा कार्य गर्दा खेल्दै मुखमा डटपेनमा राख्छन् । दाँतले डटपेनको छेउको भाग घुमाइरहेका पनि हुन्छन् ।


श्वासप्रश्वासका क्रममा डटपेनको बिर्को स्वात्तै फोक्सोमा पुग्ने गर्छ । ‘बच्चाले डटपेन मुखमा राखेर खेल्दाखेल्दै श्वास तान्दा भित्र छिर्छ,’ डा. प्रधानांगले भने, ‘बिर्कोको एकातिर भाग सानो हुन्छ । त्यो भाग अगाडि भएपछि भित्र सजिलै जान्छ । तर, निकाल्न गाह्रो हुन्छ ।’


यस्तो घटनाको शल्यक्रिया गर्न जटिल हुने चिकित्सकहरू बताउँछन् । ‘बेहोस बनाउन एनेस्थेसिया दिने नली पनि त्यही हो । बाहिरबाट गएर अडकिएको सामान निकाल्ने पनि त्यही नली हो,’ शिक्षण अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. निनादिनी श्रेष्ठले भनिन्, ‘यसको शल्यक्रिया एकदमै जटिल र जोखिमपूर्ण हुन्छ । शल्यक्रिया गर्दा अलिकति कमजोरी भयो भने श्वास फेर्ने नली बन्दसम्म हुन्छ ।’


यस्तो घटनामा बिरामीको श्वास नलीमा बाहिरबाट गएको वस्तु अड्किएपछि शरीरमा अक्सिजनको मात्रा कमी हुन्छ । शल्यक्रिया गर्दा बेहास पार्न श्वास नलीबाटै एनेस्थेसिया दिनुपर्ने हुन्छ । ‘यही नलीबाट अड्किएको वस्तु निकाल्दा श्वास रोकिन सक्छ,’ उनले भने ।


बच्चाले दु:ख दिँदा भुलाउन अभिभावकले आफ्नो छेउमा जे भेटिन्छ त्यही दिन्छन् । कतिपय अभिभावकले छोराछारीलाई फकाउन मोबाइल, सिट्टी, डटपेन दिन्छन् । सिट्टी फुक्ने क्रममा त्यसभित्रको गेडा सीधै श्वासनलीमा पुग्ने गरेको घटना पनि उत्तिकै हुने गरेको डा. श्रेष्ठले बताइन् । माला, गेडागुडी खेल्न दिँदा श्वास नलीमा अड्काउने गरेकाले सचेत हुन पनि उनले अभिभावकलाई आग्रह गरिन् ।


‘बच्चालाई फकाउन जे पायो त्यही सामान दिन्छन् । त्यही सामानले ज्यानसमेत गएको घटना छ,’ उनले भनिन्, ‘मुखमा राखेर खेलाइरहेको हुन्छ । अचानक लडदा, कसैले पछाडिबाट हिर्काउँदा भित्र अड्किन्छ । केहीको ज्यानै जान्छ ।’


डा. प्रधानांगले पनि अड्किने सामान बच्चाको छेउछाउसमेत नराख्न आग्रह गरे । ‘सानो उमेरका बालबालिकालाई डटपेनले लेख्न दिनु हुँदैन ।


भुलाउने नाममा गुच्चा, पैसा, गेडागुडीसमेत दिनु हँ‘दैन,’ उनले भने ।


श्वासनलीमा यस्ता वस्तु अड्किएपछि उपचार गर्न आउने बच्चालाई चिकित्सक र स्वास्थ्यकर्मीले समेत निमोनियाँ भएको भन्दै उपचारसमेत गर्ने गरेका छन् । ‘यस्तो केसका बिरामीलाई सास फेर्न गाह्रो हुन्छ । नीलो हुन्छ,’ प्रधानांगले भने, ‘अड्किएको केही समयपछि सामान्य जस्तै देखिन्छ । केही दिनपछि निमोनियाँको जस्तै लक्षण देखिन्छ ।’


अस्पतालमा निमोनियाँ भन्दै उपचार गरे पनि के भएको हो भनेर पत्ता नलाग्दा धेरैको ज्यानसमेत गएको उनले बताए । ‘अन्तिम अवस्थामा थप उपचारका लागि ठूला अस्पतालमा रिफर गर्छन्,’ प्रधानांगले भने ।


‘बिर्को निलेको हो भन्दाभन्दै पनि डाक्टरले फोक्सो खुम्चियो भने’ सुर्खेत तरङ्गाका याकुप नेपालीले डटपेनको बिर्को निलेपछि उपचार गर्न अस्पताल पुग्दा चिकित्सकले दिसाबाट गइहाल्छ भन्दै फर्काए । तर बच्चालाई खोकी लाग्ने र बान्ता गर्न थालेपछि अभिभावकले फेरि अस्पताल लगे । एक्सरे गरियो । केही अस्पतालका चिकित्सकले फोक्सोमा दाग देखे भने केहीले फोक्सो खुम्चिएको भन्दै याकुपका अभिभावकलाई अत्याए । गाउँबाट ६ हजार ऋण गरेर सुर्खेत आएका उनीहरूले अञ्चल अस्पतालका चिकित्सकलाई छोराले डटपेनको बिर्को निलेको बताएका थिए ।् तर डाक्टरले फोक्सो खुम्चिएको भन्दै काठमाडौं रिफर गरे । २० हजार ऋण गरेर पहिलो पटक काठमाडौं आएका उनीहरू सोधखोज गर्दै छोरा च्यापेर वीर अस्पताल पुगे । वीरले उपचार गर्न नसक्ने भन्दै कान्ति पठायो । कान्तिले शिक्षण अस्पताल महारागन्ज पठाउँदा याकुप थला परिसकेका थिए ।


‘हाम्रो सम्पर्कमा आइपुग्दा फोक्सोमा पिप जमिसकेको थियो,’ ईएनटी विशेषज्ञ डा. प्रधानांगले भने, ‘ढिलै सम्पर्कमा आए पनि सफल शल्यक्रिया गरेर डटपेनको बिर्को निकाल्न सक्यौं । उनको स्वास्थ्य पनि सुधार भइसक्यो ।’


आर्थिक अवस्था कमजोर भएकाले मनमोहनले औषधिबाहेक उनको उपचारसमेत नि:शुल्क गराइरहेको छ ।

प्रकाशित : चैत्र २८, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?