१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वन्यजन्तु आक्रमणमा दुई दशकमा १७६ को मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणमा दुई दशकमा १ सय ७६ जनाको मृत्यु भएको छ । उनीहरूको निकुञ्ज सीमाबाहिर मध्यवर्ती क्षेत्रमा आएका जनावरले २१ वर्षको अवधिमा गरेका आक्रमणमा मृत्यु भएको हो ।

वन्यजन्तु आक्रमणमा दुई दशकमा १७६ को मृत्यु

निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी, पर्सा र मकवानपुरका केही भूभाग पर्छन् ।


मध्यवर्ती क्षेत्रमा ३ लाख स्थानीयको बसोबास भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । निकुञ्ज सिमानाभन्दा बाहिर निस्केका वन्यजन्तुले आक्रमण गर्दा स्थानीयको ज्यान गएमा मृतकका परिवारले राहत रकम पाउने गर्छन् ।


निकुञ्जले आर्थिक वर्ष ०५३/५४ यता वन्यजन्तुको आक्रमणमा परेकालाई राहत दिन थालेको हो । ‘आर्थिक वर्ष ०५३/५४ देखि ०७३/७४ सम्मको २१ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएका १ सय ७६ जनाका आफन्तलाई राहत वितरण भएको छ,’ ढकालले भने ।


निकुञ्जका अनुसार आर्थिक वर्ष ०६०/६१ मा वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका २५ व्यक्तिका परिवारलाई राहत दिइएको थियो । वर्षमा कम्तीमा ५ जनासम्मको ज्यान वन्यजन्तुले लिने गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । पछिल्ला वर्षहरूमा ७ देखि १५ जनासम्मको ज्यान जाने गरेको छ ।


‘मानवबस्तीलाई जोगाउन तारबार गर्ने र पर्खालसम्म लगाउन थालिएको छ । वन्यजन्तु मानवबस्तीमा आउन रोक्न निकुञ्जभित्र वन्यजन्तुको बासस्थान सुधार गर्ने घाँसेमैदान व्यवस्थापन गर्न थालिएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए ।


चितवन निकुञ्जमा विश्वमा दुर्लभ मानिने वन्यजन्तुहरू एकसिंगे गैंडा, पाटेबाघलगायतका जनावर छन् । गैंडा र बाघसँगै जंगली हात्ती, बँदेल, भालु तथा गोहीको आक्रमणमा स्थानीयको ज्यान जाने गरेको छ । पछिल्लो समय निकुञ्जमा वन्यजन्तुहरू बढेका कारण पनि स्थानीयहरू बढी जोखिममा परेका हुन् ।

‘जनावरलाई बस्तीमा आउन रोक्ने उपाए पनि गरिएकै छ । पहिलाको जस्तो मान्छेहरू घाँसदाउराका लागि वनजंगल जाने क्रम पनि घटदै गएको छ । तर पनि वन्यजन्तु आक्रमणमा परेर ज्यान गुमाउनेहरू खासै कम भएको छैन,’ मध्यवर्ती जनताको हकअधिकार अभियन्ता नारदमणि पौडेलले भने । चितवनको माडी क्षेत्रमा वन्यजन्तु आक्रमणमा हालसम्म धेरै जनाले ज्यान गुमाएका छन् ।


निकुञ्जको सीमाबाहिर वन्यजन्तुको आक्रमणमा ज्यान गएमा प्रशासनले मृतकका परिवारलाई यस वर्षदेखि १० लाख रुपैयाँ राहत दिन थालेको हो । निकुञ्ज प्रशासनले ७२ सालको वैशाखदेखि दिन थालिएको ५ लाख राहत रकम बढाएर १० लाख बनाएको छ ।


निकुञ्ज कार्यालयका अनुसार राहतबापत् हालसम्म २ करोड ४८ लाख १५ हजार रुपैयाँ वितरण भइसकेको छ । निकुञ्जले घाइतेलाई पनि उपचार खर्च दिने गर्छ । गम्भीर घाइतेलेबढीमा २ लाख रुपैयाँसम्म उपचार खर्च पाउँछन् ।


आर्थिक वर्ष ०५३/५४ देखि ०७३/७४ सम्म ६ सय ५४ जना घाइते भएको निकुञ्जको तथ्यांक छ । यी घाइतेका लागि ९० लाख १७ हजार ५ सय ९७ रुपैयाँमा खर्च उपलब्ध गराएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए । निकुञ्ज क्षेत्र वरपर वन्यजन्तुको आक्रमणमा परेर अंगभंग भएकाहरू कष्टपूर्ण रूपमा बस्न बाध्य छन् ।


मानव मृत्युमा राहत र घाइते उपचार खर्चका साथै घरपालुवा जनावर, स्थानीयको घर नोक्सान, घरमा राखेको अन्न र खेतको बाली नोक्सान भएमा पनि क्षतिपूर्ति दिने नियम छ । मानव मृत्युको राहत र घाइते उपचारसहित अन्य सबैमा गरेर २१ वर्षमा चार करोड ९४ लाख २३ हजार ५ सय ११ हजार रुपैयाँ उपलब्ध गराएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए ।

प्रकाशित : चैत्र २८, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?