कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कसरी रहलान् ‘एकै जंगलमा दुई शेर’ ?

टिप्पणी
गंगा बीसी

काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिब टुंगो भएपछि स्वाभाविक रूपले भन्न थालिएको छ, ‘दुई शेर मिलेको कम्युनिस्ट पार्टी ।’

कसरी रहलान् ‘एकै जंगलमा दुई शेर’ ?

एउटा जंगलमा दुई शेर (सिंह) भए भने राज कसले चलाउने भन्ने विषयमा ठूलो लडाइँ हुन्छ । केही समय ठूलो सिकार गर्नुपर्‍यो भने एकआपसमा मिले पनि अन्तत: भागबन्डा मिलेन भने ठूलो लडाइँ हुन्छ । यही प्रश्न उठेको छ, ओली र दाहालबीच एकतापछि भागबन्डा मिलेन भने के होला ?

‘एउटै म्यानमा दुई तरबार रहलान् त ? एउटै जंगलमा दुई शेर रहलान् त ? भन्ने उखान पनि छ । यी सबै उखान र विगतका अनुभव छन् । हामीले असम्भव देखिने कुरालाई सम्भव बनाउनुपर्छ र मानव जातिलाई योगदान दिन सकिन्छ भन्ने बुझाएमा स्पष्ट छौं,’ दाहालले हालै अन्तर्वार्तामा भनेका छन् । के उनले भनेजस्तो एक म्यानमा दुई तरबार अट्लान वा एक जंगलमा दुई शेर कसरी मिलेर बस्लान् ?

ओली र दाहालबीच पाँच वर्ष सरकार चलाउनेबारे ‘प्याक्ट’ भएको छ । अनौपचारिक सहमतिअनुसार ओलीले तीन र दाहालले दुई वर्ष सरकार चलाउने कुरा भएको छ । पार्टी र सरकार आलोपालो प्रमुख हुने अनौपचारिक सहमति पनि सार्वजनिक भएको छ । यद्यपि प्रचण्डले सबै कुरा पार्टी एकतापछि हुने महाधिवेशनले तय गर्ने घुमाउरो जवाफ दिएका छन् । यसको अर्थ हो, आगामी महाधिवेशनमा दाहाल एकीकृत पार्टीको अध्यक्ष हुने अवस्थामा ओलीलाई पाँच वर्ष सरकार चलाउने मौका हुनेछ ।

सरकारलाई दिएको समर्थनलाई हेर्दा ओली २०४६ पछिकै शक्तिशाली प्रधानमन्त्री भएका छन् । एमाले र माओवादीको चुनावी तालमेल नभएको भए ओली र प्रधानमन्त्री यति शक्तिशाली अवस्थामा पुग्ने थिएनन् । त्यसकारण पनि ओली र प्रचण्डबीच अझै सहकार्य हुने देखिन्छ । वामपन्थीको हातमा बहुमतका साथ पहिलो पटक सरकार बनेको अवस्थामा यी दुई नेताबीच अब हुने सम्बन्धले आगामी नेपालको भविष्य निर्धारण गर्ने देखिन्छ । योसँगै नेपाली वामपन्थीको भविष्य पनि जोडिएको छ ।

ओली र दाहाल एउटै पार्टीमा हुने भनेको एउटा जंगलमा दुई शेर भएजस्तै हो । आगामी दिनमा यी दुईको सम्बन्ध सबभन्दा महत्त्वपूर्ण हो । वामपन्थीको भविष्य बनाउने र बिगार्ने जिम्मा पनि यी दुई नेताको हातमा छ । खासगरी पार्टी एकतापछि यी नेताबीच हुने सम्बन्धले थप दिशा निर्धारण गर्ने छ । जस्तो: सरकार र पार्टीको कार्यविभाजन कसरी मिलाउने ? दुई पार्टीका प्रभावशाली नेतालाई कसरी व्यवस्थापन गर्ने ? पार्टीको आगामी कार्यदिशा कुन मोडेलको हुने ? सरकार सञ्चालनमा दुई पक्षको सन्तुलन कसरी गर्ने ?

विगतको इतिहास हेर्ने हो भने नेपालका कम्युनिस्ट पार्टी गुट, उपगुटले बिग्रिएका छन् । त्यस्ता गुट र उपगुट अहिले पनि छन् । जसका कारण पार्टी विभाजनसम्म भएका छन् । एमाले र माओवादीको एकतापछि गुटको अन्त्य गर्नु असम्भव प्राय: जस्तो देखिन्छ । अहिले एमालेमा स्पष्ट दुई र माओवादीमा स्पष्ट दुई गुट छन् । पार्टी एकता भएपछि चार गुट मिलेर एक पार्टी हुनेछ । त्यसबेला दुई गुट बढी शक्तिशाली हुने छन्, पूर्वएमाले गुट र पूर्वमाओवादी गुट वा पक्ष । पार्टी एकता भइसकेपछि दुवै गुटले आआफ्नो अस्तित्व खोज्ने छन् । जस्तो हाल पनि एमालेभित्र पूर्वमाले, ओली र माधव नेपाल गुट जीवितै छ । यी दुई नेताबीच उचित जिम्मेवारी बाँडफाँट मिलेन एउटै जंगलमा दुई शेरको लडाइँ जस्तो हुनेछ । त्यसबेला एकले अर्को अस्तित्व निषेध गर्ने अवस्थामा पुग्ने छन् ।

केही समयअघि सम्पन्न भएका निर्वाचनमा ओली र प्रचण्डले जसरी पार्टी ‘कमान्ड’ सम्हाले, त्यो प्रभावकारी रह्यो । एक दुई निर्वाचनबाहेक वाम उम्मेदवारप्रति विश्वासघात भएन । यी दुई नेताको मुख्य विशेषता नै पार्टीलाई एक आदेशले चलाउने हो । एक प्रकारले भन्ने हो भने दुवै नेताले पार्टीभित्र ‘आफ्नो निर्णय’ चलाएर पार्टीलाई सफलतातिर लगेका छन् । ‘यी दुई व्यक्ति (दाहाल र ओली) मात्र होइनन्, आन्दोलन, इतिहास र जनताले निर्माण गरेका संस्थाजस्ता हुन् । यदि त्यो अथोरिटी हुँदैनथ्यो भने दुइटा नेताले सही गरेर लाखौं मान्छे एकतामा लाग्दैनथे । त्यो अथोरिटी भएको हुनाले वर्षौं संघर्षको केन्द्रीकरण भएको हुनाले यो सम्भव भयो भनेर बुझ्नुपर्छ,’ दाहालले पार्टी एक हुनुको कारण यसरी खुलाए । यी नेता स्वयं पार्टी जस्ता छन् । जे चाह्यो त्यहो निर्णय गर्न सक्ने शक्तिमा पुगेकाले पनि पार्टी एकताका लागि अघि बढ्न सहज बन्यो ।

संघ र प्रदेशको चुनावअघि तालमेल र पार्टी एकता घोषणा यी दुई नेताको ‘बोल्ड’ निर्णय थियो । अरू जबकि त्यसअघि कांग्रेससँग सहकार्य गरिरहेको माओवादी युटर्न भएर एमालेसँग मिल्नु ‘सरप्राइज’ थियो । उनीहरूले गोप्य सहमति गरेपछि एकैचोटि तालमेल र पार्टी एकता घोषणा सार्वजनिक गरे ।

एमाले र माओवादी एकता हुनुमा मुख्यगरी दुई कारण छन्– पहिलो, दुई पार्टी अलग हुँदा चुनावमा बहुमत आउने सम्भावना कहिलै नआउने देखियो । वाम बहुमतको सरकारका लागि यी दुई पार्टी एक हुनु बाध्यता बन्यो । दोस्रो, दुई पार्टीको तत्कालीन कार्यनीति र दीर्घकालीन रणनीति मिल्न गयो । शान्तिपूर्ण प्रतिस्पर्धासहित आर्थिक समृद्धि तत्कालीन कार्यनीति तय गरे । आर्थिक समृद्धिमा टेकेर समाजवादको बाटो लिने नीति यी पार्टीको छ । पार्टी मिल्दा ‘दुवै हातमा लड्डु’ हुने अवस्था आएपछि कुनै बेला अलगअलग धार लिएका एमाले–माओवादी चुनावको मुखमा एकताबद्ध हुने निर्णयमा पुगे ।

यसले खासगरी ओली र प्रचण्डलाई शक्तिशाली नेताका रूपमा देखाउनुका साथै केन्द्रीय सरकारसहित ६ प्रदेश चलाउने ठूलो अवसर मिल्यो । करिब दुई तिहाइ बहुमतको केन्द्रीय र प्रदेश सरकारबाट मुलुकमा समृद्धिको जग बसाल्ने मौका छ, त्यो मौकासामु ठूलो चुनौती छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला सत्तासीन भएका एमाले–माओवादीलाई आर्थिक वृद्धिको चुनौती ‘काँडेघारीको यात्रा’ हो । यसलाई एमाले र माओवादीका दुई ‘शेर’ ओली–दाहाल कसरी अघि बढ्लान् ? यसको संकेत देखिन अबको केही महिना कुर्नैपर्ने हुन्छ ।

प्रकाशित : चैत्र २९, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?