कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘मानव अधिकार रक्षामा साझा प्रयास जरुरी’

घनश्याम खड्का

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाउँदै त्यसका सिफारिस कार्यान्वयन गर्न यससम्बन्धी काठमाडौंमा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले दक्षिण एसियाली सरकारहरूसँग आग्रह गरेको छ ।

‘मानव अधिकार रक्षामा साझा प्रयास जरुरी’

राष्ट्रिय मानव अधिकार आयोग नेपालले आयोजना गरेको तीनदिने सम्मेलनले यस क्षेत्रको मानवअधिकार अवस्था सुधार गर्न विभिन्न संकल्प र योजनासहितको दस्तावेजमार्फत यस्तो आग्रह गरेको हो ।

सम्मेलनद्वारा जारी काठमाडौं घोषणापत्रमा ‘दक्षिण एसियामा गृहयुद्ध तथा आतंकवादका कारण भएको मानव अधिकार हननका घटनामा संलग्न दोषीमाथि कारबाही नहुँदा दण्डहीनता बढेको, मानव अधिकार आयोगका सिफारिसलाई सरकारले बेवास्ता गर्ने गरेको, पेरिस सिद्धान्तअनुसार आयोगलाई स्वतन्त्र र प्रभावकारी नबनाएको, बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित हुन नसकेको’ लगायतका साझा समस्या औंल्याइएको छ । सम्मेलनले त्यसको समाधानका लागि सामूहिक रूपमा अघि बढ्नुपर्ने सहमतिसाथ समाधानको दस्तावेज अघि सारेको हो । रोम विधान लागू गरेर अन्तर्राष्ट्रिय फौजदारी अदालतको क्षेत्राधिकारमा दक्षिण एसिया पस्नुपर्ने, दण्डहीनता अन्त्यका लागि दक्षिण एसियाका मानव अधिकार आयोगहरूले नागरिक समाजसँगको सहकार्य बढाउने घोषणा पनि सम्मेलनले गरेको छ ।

सम्मेलनले दक्षिण एसियाका सरकारहरूलाई जात, धर्म, लिंग, क्षेत्रीयता र वर्णका आधारमा हुने घृणा अपराध रोक्न प्रभावकारी कदम चाल्न पनि आग्रह गरेको छ । नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तानलगायत दक्षिण एसियाली मुलुकमा जारी संक्रमणकालीन न्यायको यथाशक्य चाँडो टुंगो लाग्नुपर्ने र पीडितहरूले न्याय पाउनुपर्ने भन्दै सम्मेलनले यस क्षेत्रका सरकारलाई संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउन माग गरेको छ । आपसी सहकार्य र सहयोगमा पीडितहरूलाई न्याय दिलाउन कार्यगत एकता गर्न पनि सम्मेलनले सुझाएको छ । सम्मेलनमा दक्षिण एसियाका राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख, पदाधिकारी र युरोप–अमेरिकाका विज्ञको सहभागिता थियो ।

प्रकाशित : चैत्र २९, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?