नापी प्रमुख घूससहित पक्राउ 

डिल्लीराम खतिवडा

उदयपुर — नापी कार्यालय उदयपुरका प्रमुख ५० हजार रुपैयाँ घुससहित बिहीबार बिहान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले नापी प्रमुख श्यामबाबुप्रसाद साहलाई उनकै निवासबाट घूससहित पक्राउ गरेको हो ।

नापी प्रमुख घूससहित पक्राउ 

सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सा सुधार र संशोधन गरिदिने भन्दै साहले २ लाख रुपैयाँ घुस मागेका थिए । २ लाख मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न भएपछि लिने– दिने सहमतिमा पेश्की रकम बुझ्दै गर्दा बिहान ८ बजेर १५ मिनेट जाँदा पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले बताए ।


सेवाग्राहीको ३ कठ्ठा जग्गाको नक्सा सुधार संशोधन गर्ने भन्दै साहले सुरुमा ५ लाख रुपैयाँ घुस मागेको बुझिएको छ । ठुलो रकम माग भएपछि सेवाग्राही नापी विभागमा पुगेका थिए । विभागले सुधार गरिदिन परिपत्र गरेपछि पनि साहले काममा ढिलासुस्ति र अल्झाउने जस्ता कार्य गर्दै पैसा नलिई नगर्ने संकेत देखाएपछि लिने र दिनेबीच २ लाख रुपैयाँमा सहमति भएको सेवाग्राहीले बताएका छन् ।

पक्राउ परेका साहले आफुले घुस नलिएको बताए । उनले भने, ‘म पुजा गर्दै थिएँ, सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए ।’ तर सेवाग्राहीले भने टेलिफोन गरेर निवासमा बोलाई पैसा हातले नै बुझेर राखेको दाबी गरे । पैसा हातले बुझे/नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्ट गर्दा हातले नै बुझेको फेला पारेको छ ।


प्रकाशित : चैत्र २९, २०७४ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?