कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राराबाट प्रधानमन्त्रीको सम्बोधन– ‘नेपाल बन्छ, बनाउनैपर्छ’

शेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बनाउने र जनताका सपनाहरु पूरा गर्नेमा आशंका नगर्न अपिल गरेका छन् ।
दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलोपटक मुगुको राराबाट शनिबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले निष्ठाका साथ काम गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छन् ।

राराबाट प्रधानमन्त्रीको सम्बोधन– ‘नेपाल बन्छ, बनाउनैपर्छ’

‘के नेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्नहरुमा मैले पटक–पटक भन्दै आएको छु– नेपाल बन्छ, बनाउनै पर्छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामर्थ्यकाे पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’

प्रधानमन्त्रीले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढेको बताउँदै देशमा स्थायित्वको नयाँ चरण आरम्भ भएको उल्लेख गरेका छन् । ‘निर्वाचन हुन नदिने, संविधान कार्यान्वयनमा व्यवधान खडा गर्ने र मुलुकमा अन्त्यहीन अस्थिरता सिर्जना गर्ने दुस्प्रयास विफल भएका छन्,’ प्रधानमन्त्रीको भनाइ छ, ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ ।’

विगतमा जनताको चाहना र संसदको अंक गणितको वीचमा रहेको खाडल यसपटक पुरिएको बताउँदै प्रधानमन्त्रीले समृद्धिको आधारशीला खडा गर्ने युगीन दायित्व सुम्पिएकोमा नेपाली जनतालाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीको सम्बोधन संक्षेपमा–


  • अर्को पृथक परिदृष्य पनि मेरा आँखामा नाचिरहेको छ– नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन् । कर्णाली लगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन् । अनि गर्भभित्र अपार संभावना बोकेर पनि मानव सूचकाङ्कको पुच्छारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रुपान्तरणको पर्खाइमा छ ।
  • नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । 'समृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो संकल्पलाई कर्णालीसँगै सिङ्गो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।
  • मैले जस्तासुकै प्रतिकूलताको सामना गरेर आफ्नो स्वाभिमान र स्वाधीनता कायम राख्न सफल हाम्रो राष्ट्रको विवेकपूर्ण फैसलाको रुपमा बुझेको छु ।
  • अन्यौल र अनिश्चयका बीचमा, हिंसा र अस्थिरताका प्रयासलाई छिचोल्दै गत मङ्सिरमा सम्पन्न निर्वाचनमा यहाँहरुले हाम्रो पार्टी र वामपन्थी–लोकतान्त्रिक चुनावी तालमेलका पक्षमा अपूर्व विश्वास प्रकट गर्नुभएको छ । यस विश्वासलाई मैले हाम्रो आगामी यात्राको मार्गदर्शन र अग्रगतिका लागि ऊर्जाको रुपमा लिएको छु ।
  • गत निर्वाचनमा कतै कठ्याङ्ग्रिँदो चिसो सहँदै त कतै हिंसाको सामना गर्दै, कतै काखमा नानीहरु च्याप्दै त कतै लौरो टेक्दै, अनि कतै स्ट्रेचरमा बोकिँदै त कतै आफन्तको वियोगलाई समेत आफूभित्रै दबाउँदै यहाँहरुले गर्नुभएको मतदान अहिले पनि मेरो आँखामा जीवन्त छ । यसरी तपाइँहरुले मतपेटिकामा खसाउनु भएको मतपत्र सामान्य कागज मात्र थिएन, त्यो निर्वाचन नयाँ युगको प्रवेश द्वार थियो र तपाईहरुले खसाउनु भएको मत त्यही प्रवेश द्वारको ताला खोल्ने साँचो थियो ।
  • राष्ट्र निर्माणका लागि बलियो आत्मविश्वास चाहिन्छ । भविष्य उज्ज्वल छ भन्ने दृढ विश्वास बिना, आफ्नो देश आफैँ बनाउन सक्छौं भन्ने उच्च मनोबल बिना र जस्ता सुकै अवरोधका पहाड पनि नाघ्न सकिन्छ भन्ने अदम्य साहस बिना राष्ट्रले सफलता हासिल गर्न सक्दैन । मनोवैज्ञानिक रुपमै कमजोर बनेको राष्ट्रले चुनौती सामना गर्न सक्दैन । हामी भित्रै लघुताभाष हुर्काउने, आफ्नै सामथ्र्यप्रति अविश्वास जगाइदिने र भविष्यप्रति निराशा पैदा गर्ने प्रयासहरु यदाकदा हुने गरेका छन् । तसर्थ, हाम्रो सर्वोपरि प्रयास राष्ट्रमा भरपर्दो आत्मविश्वास जगाउने कुरामा केन्द्रित हुने छ ।
  • नेपालको भविष्य सुदृढ र उज्वल छ । नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको छ । पराधीन बनाउने सोचहरु कमजोर भएका छन् । विभाजित गर्ने शक्तिहरु किनारा लागेका छन् । राजनीतिलाई सत्तारोहण र जिम्मेवारीलाई निजी या सङ्कीर्ण समूहगत स्वार्थपूर्तिको भर्‍याङ ठान्ने चिन्तन पराजित भएको छ ।
  • यस सरकारका कामहरु लोकतन्त्र मानव अधिकार र खुल्ला समाजको अवधारणाबाट निर्देशित हुने छन् । सरकारका कार्यक्रमहरु, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जरैसम्म सुदृढ गर्ने दिशामा परिलक्षित हुनेछन । प्रदेश र स्थानीय तहहरुलाई सक्षम, सुदुढ र आत्मनिर्भर बनाउन विशेष भूमिका खेलिनेछ ।
  • मैले पटक–पटक भन्दै आएको छु– हामीले चाहेको लोकतन्त्र, ‘दल खोल्ने, चुनावमा भाग लिने र बोल्ने–लेख्ने अधिकार भएको लोकतन्त्र मात्रै हैन, कम्प्रिहेन्सीभ (समग्र) लोकतन्त्र हो । आर्थिक अधिकार र सामाजिक न्याय बिनाको लोकतन्त्र, औपचारिक र अधुरो हुन्छ ।
  • हाम्रो संविधानले निर्देश गरेको ‘समाजवाद उन्मुख राज्य’ निर्माणका लागि सामाजिक उत्पीडन र आर्थिक शोषणका कारण समाप्त पार्ने दिशातर्फ हाम्रा कार्यक्रमहरु परिलक्षित हुनेछन् । निरपेक्ष गरिबी, निरक्षरता, आधारभूत स्वास्थ्य सेवा– यातायात–विद्युत–खानेपानी जस्ता न्यूनतम सुविधाबाट बञ्चित रहनुपर्ने वाध्यता र पूर्ण बेरोजगारी अब हाम्रा कामका मुख्य निशाना हुनेछन् । निश्चित समयावधिभित्र सबै नागरिकलाई यस्तो अवस्थाबाट मुक्त गर्न सशक्त राष्ट्रिय अभियान सञ्चालन गरिने छ । सबै बालबालिकालाई शिक्षाको अधिकार सुनिश्चित गर्न आजैबाट हामी सबैले सहजकर्ताको भूमिकामा विद्यार्थी भर्ना अभियान सुरु गर्नुपर्छ ।
  • बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक सामाजिक बनोट हाम्रो विशेषता मात्रै होइन, सामाजिक सम्पदा समेत हो । विविधता, बहुलता, सामाजिक सद्भाव र सांस्कृतिक सहचार्य हाम्रो समाजको विशेष पहिचान हो । यसैमाथि अडेको छ हाम्रो बलियो राष्ट्रिय एकता । तर यसलाई खल्बल्याउने, गरिबी, बेरोजगारी र अविकास जस्ता मुख्य मुद्दाबाट ध्यान बर्गेल्ने र त्यस अप्रिय परिस्थितिलाई दुरुपयोग गर्दै सामुदायिक सद्भावका ठाउँमा अविश्वास, सामाजिक द्वेष र घृणा फैलाउने प्रयास पनि यदाकदा देखा पर्ने गरेका छन् । यस्तो कुरा नेपाल र नेपालीलाई स्वीकार्य हुने छैन ।
  • भ्रष्टाचारले समाजलाई बर्बाद बनाउँछ । वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने छ । यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने छ । कुनै बहानाबाजी स्वीकार्य हुने छैन । कतैबाट पनि भ्रष्टहरुलाई संरक्षण गर्न दिइने छैन । भ्रष्टाचार कुनै परियोजना, सार्वजनिक खरिद प्रक्रिया या सेवाग्राहीसँग लिइने रकमको अपचलन मात्रै होइन । त्यसरी भएको आर्थिक क्षति त कुनै हिसाबले पूर्ति पनि हुन सक्ला । तर भ्रष्टाचारले सिर्जना गर्ने सामाजिक मूल्यहरुको क्षयीकरण, लोकतन्त्रप्रति अविश्वास र व्यक्ति एवं संस्थाको नैतिक चरित्रमा ल्याउने स्खलनको भने कुनै क्षतिपूर्ति संभव छैन ।
  • अबको हाम्रो सर्वोपरि राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि हो । विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइने छ । हामीले सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्नु छ र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिवद्धतालाई पूरा गर्नु छ । कतिपयलाई यो उद्घोष महत्वाकाङ्क्षी लाग्न सक्छ । तर उच्च आकाङ्क्षा नलिइकन, त्यसका लागि जोखिम नमोलिकन र त्यस निम्ति नयाँ नीति, संरचना र शैलीको अबलम्बन नगरीकन कुनै पनि राष्ट्रले फड्को मार्न सक्दैन ।
  • हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारामा अभिव्यक्त गरेका छौं । सरकार विकासका गतिलाई योजनावद्ध ढंगले अघि बढाउन प्रतिवद्ध छ । त्यसका निम्ति देश भित्रको प्राकृतिक र मानव श्रोत, पूँजी र सीप परिचालन गर्न सबै सामथ्र्यका साथ सरकार केन्द्रीत हुनेछ ।
  • राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रुपमा निजी क्षेत्रलाई सहभागी बनाउँदै लगानीमैत्री वातावरण, अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिनेछ ।
  • सार्वजनिक–निजी–साझेदारीलाई महत्वका साथ अघि बढाइने छ । यस प्रसंगमा हामी एक्लै काफी छौं भन्दैनौं, छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरु, वैदेशिक लगानीकर्ताहरु तथा वित्तिय संस्थाहरुसँग हातेमालो गरिनेछ । त्यसैले म यहींबाट आह्वान गर्दछु, स्वदेशी तथा विदेशी लगानीकर्ताहरु– ढुक्कसँग लगानी गर्नुहोस् । पारदर्शी कर, श्रमिकहरुको हित र वातावरणीय पक्षप्रति संवेदनशील हँुदै समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदानका लागि सरिक बन्नुहोस् । तपाईको लगानी र मुनाफाको सुरक्षाप्रति सरकार सजग छ, अनावश्यक कानुनी र प्रशासनिक झण्झट अब तपाइँहरुले सामना गर्नु पर्ने छैन । कुनै अतिरिक्त सेवा सुविधा र कमिशन दिन नसकेका कारण लगानीको अवसर प्राप्त नहुने या लगानी फिर्ता लैजानेजस्ता विगतका वाध्यता सामना गर्नु पर्ने छैन ।
  • कतिपयलाई लाग्छ– उपरोक्त लक्ष्य हासिल गर्न हामीसँग साधनस्रोतको अभाव छ । मैले भन्दै आएको छु– पैसा भएर, धन भएर कसैले विकास गरेको हैन । विकास गरेर मात्र देशहरु धनी भएका छन् ।
  • आर्थिक रुपमा परनिर्भर हुनु पर्दा कसरी राष्ट्रिय स्वाभीमानमा आँच पुग्दो रहेछ र राष्ट्रियता नै जोखिममा पर्दो रहेछ भन्ने पाठ इतिहासले हामीलाई कहिल्यै नबिर्सने सिकाएको छ । त्यसैले योजनावद्ध आर्थिक विकास, पारस्परिक अन्तरनिर्भरता र व्यापारको विविधीकरण मार्फत् मुलुकलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सरकार केन्द्रित हुने छ ।
  • दुई तिहाइ जनताको जीवन ज्युँने आधारको रुपमा रहेको कृषि अझै पनि निर्वाहमुखी, अव्यवसायिक, परम्परागत तथा अनुत्पादक रहनुलाई मैले ठूलो चुनौतीका रुपमा लिएको छु । यसै त टुक्रिएको जमिन, आधुनिकीकरण एवं उत्पादन र उत्पादकत्वको बृद्धिमा समस्याको रुपमा छँदैछ, त्यसमाथि बजार प्रबन्धमा समस्या, उर्बर जमिनको अतिक्रमण र जलवायु परिवर्तन आदिका प्रभावले कृषि क्षेत्रको सङ्कट बढाइदिएको छ ।
  • कृषि प्रधान देशबाट, कृषि सवल देशमा परिवर्तन गर्ने, कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच बर्षभित्र २५ प्रतिशतमा सिमित गर्ने, कृषि उत्पादकत्व ५ वर्ष भित्र ४ गुण बृद्धि गर्ने, राष्ट्रिय अर्थतन्त्रमा रहेको कृषिको हालको योगदान एक तिहाईबाट झारेर २० देखि २५ प्रतिशतमा सीमित गर्ने गरी हाम्रा कामहरु अघि बढाइने छ ।
  • कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेशा र किसानहरुलाई सम्मानित नागरिकका रुपमा अगाडि बढाउने कार्यक्रमहरु सरकारको नीति तथा कार्यक्रममा विस्तृत रुपमा चर्चा गरिने छ । यस्तै, आगामी नीति कार्यक्रममा जलस्रोत तथा ऊर्जाको विकास, रेल तथा जलमार्ग सहितको आधुनिक यातायात र पूर्वाधारको विकासको विस्तृत खाका प्रस्तुत गरिनेछ ।
  • आज हामी कर्णाली प्रदेशको लागि पर्यटन वर्षको शुभारम्भ केही समय पछि नै गर्दै छौं । पर्यटन उद्योग एउटा प्रदेशको मात्र नभई हाम्रो विकास र समृद्धिको मुख्य आधार पनि हो । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण, नेपालका पर्यटकीय सम्पदा र गन्तव्यहरुको प्रचार–प्रसार, बजार प्रवद्र्धन र पर्यटकीय सम्पदाको संरक्षण र सौन्दर्यमा विशेष ध्यान दिइने छ ।
  • शिक्षालाई मुलुकको आर्थिक विकास र समृद्धिसँग आवद्ध गर्दै यसका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्न तथा युवाहरुलाई आत्मनिर्भर तथा प्रतिष्पर्धी क्षमतायुक्त बनाउन पुनर्संरचना गरिने छ । मैले पद बहाल गरेकै क्षण सबै पालिका तहमा एक/एक वटा प्राविधिक तथा व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना गर्ने निर्णय गरिसकेको छु । हाम्रो शिक्षालाई काम र रोजगारीसँग आवद्ध गर्न प्राविधिक र साधारण शिक्षामा ‘सत्तरी–तीस’को अनुपातमा व्यवस्थित गर्ने नीति हामीले लिनेछौं ।
  • प्रदुषण र दुषित खाद्यका कारण अहिले संक्रामक सरुवा रोगबाट मात्रै हैन, नसर्ने रोगको महामारीबाट समेत हाम्रा जनता पीडित छन् । उनीहरुको स्वास्थ्यका बारेमा चासो राख्नु राज्यको दायित्व हो । स्वास्थ्य भनेको अस्पताल र ट्याव्लेट मात्रै हैन, स्वच्छ हावापानी, स्वच्छ वाताबरण, स्वच्छ खानपान, उचित आनिवानी र दिनचर्या पनि हो । एकचोटी सोचौं– हिऊँ पग्लिएर हामीकहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ । औषधि पखाल्दै पखाल्दै बगेको पानी खनिजसँग मिसिंदै मिनरल पानी हुँदै आउँछ । हाम्रो हावा र पानी यसरी औषधीय छन । जहाँको खानेकुरा स्वस्थकर र पवित्र छ, प्रदुषित छैन, त्यहाँका मानिस आज रोगी ? जुन देशमा जडिबुटी छ, ढुंगा सिलाजित हुन्छ, माटो सिम्रिक हुन्छ, जुन देशमा उम्रिने झार यार्सागुम्बा, पाँच औंले, संजिवनी हुन्छ, त्यस देशमा औषधीको अभावमा मान्छे मर्ने ? यो कसरी हुन्छ ? अव यो स्थितिको अन्त्य गर्नै पर्छ । तसर्थ, स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही बर्षभित्र अर्गानिक नेपाल बनाइने छ ।
  • गरिबीको रेखामुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने छ । स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिनेछ ।
  • कर्णाली प्रदेशको यो सुन्दर स्थानबाट संबोधन गरिरहँदा प्रथा र प्रचलनका नाममा हुने गरेका महिलाविरुद्धका केही घटनाहरु स्मरण गरिरहेको छु । जेसुकै तर्क वा कारणबाट होस्, अब महिलाविरुद्ध हुने सबै किसिमका हिंसा र विभेद प्रभावकारी ढंगले अन्त्य गरिने छ । बालविवाह, बहुविवाहलाई पूर्णत: निषेध गरिने छ । जातीय भेदभाव तथा छुवाछूत पूर्ण रुपमा उन्मूलन गरिनेछ ।
  • हामीलाई थाहा छ– समाजमा दृष्टान्त कायम गर्ने माथिबाटै हो । नैतिक स्वच्छता कायम गर्न सरकारले आफैबाट सुरु गर्ने छ । प्रधानमन्त्रीका रुपमा मैले यसको अगुवाइ गर्ने छु । म मेरा सबै मन्त्रीहरु, सांसदहरु र राष्ट्रसेवकहरुलाई आह्वान गर्छु– हामीले प्रकृतिको सुन्दर वरदानका रुपमा यो जीवन प्राप्त गरेका छौं । संयोगवश नेपालमा जन्मिन पाएका छौं र यसको राजनीतिक र प्रशासनिक क्षेत्रको नेतृत्वदायी स्थानमा आइपुग्न पाएका छौं । विरलै मान्छेलाई प्राप्त हुने यो अवसरको अधिकतम सदुपयोग गरौं । कुनै महत्वपूर्ण नीति तर्जुमा गरिरहेको बेला या कुनै निर्णय गर्न लागिरहेको बेला हामीले गाउँमा तर्तरी पसिना बगाइरहेका जनताको पीडालाई हेक्का राखौं, विदेशमा कष्टसाध्य परिश्रम गरिरहेका दाजुभाइ दिदीबहिनीहरुको आँखामा झल्किरहेका आशालाई याद गरौं– गलत निर्णय गर्न हात काँप्ने छन् । क्षणिक स्वार्थका लागि गरिने भ्रष्टाचार र अनियमितापछि खेप्नु पर्ने कानुनी र नैतिक दण्डका तुलनामा त्यसबाट आर्जित सुखसुविधाहरु क्षणिक हुन्छन् भन्ने कुरालाई सधैभरि मनन गरौं ।
  • निर्वाचनमा प्रतिष्पर्धा लोकतान्त्रिक प्रणालीको अपरिहार्य विशेषता हो । यस्तो प्रतिष्पर्धा राज्यसञ्चालनका लागि जनताबाट वैध आदेश प्राप्त गर्नका लागि हो । एकचोटी त्यस्तो जनादेश प्राप्त भएसँगै निर्वाचनकालीन प्रतिष्पर्धाको ठाउँ निर्माणमा सहकार्यले लिन्छ, लिनुपर्छ । निर्वाचनमा प्राप्त बहुमत दम्भ र वर्चस्वका लागि होइन । त्यसरी नै, प्रतिपक्षीको स्थान पनि अन्त्यहीन विरोध, असहयोग या कटुताका लागि होइन । म विनम्रताका साथ मुलुकमा क्रियाशील सबै राजनीतिक दलहरुलाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका वृहत्तर विषयहरुमा समझदारीका साथ अगाडि बढ्न आह्वान गर्दछु ।
  • म तपाईंहरुलाई आत्मविश्वासका साथ भन्न चाहन्छु– पाँच बर्षपछि नयाँ निर्वाचनमा तपाईंहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलव्धिहरुले तपाइँहरुलाई आफ्नो अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच बर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा । यसमा आश्वस्त हुन र नयाँ सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग पुर्‍याउनु हुन अनुरोध गर्दछु ।

प्रकाशित : वैशाख १, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?