२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘बिगुल फुक्न’ रारा तयार

प्रधानमन्त्री ओलीलगायत विशिष्ट पाहुना र पर्यटन व्यवसायी रारा पुगेका छन्, शनिबार ओलीले त्यहीँबाट कर्णाली भ्रमण वर्ष २०७५ को बिगुल फुक्दै छन्

काठमाडौँ — बैशाख १ अर्थात् नेपाली नयाँ वर्षको पहिलो दिन । नयाँ वर्षलाई स्वागत गर्न यतिबेला मुलुकका विभिन्न स्थानबाट पर्यटकहरू राराको आँगनमा छन् । प्रधानमन्त्रीदेखि सर्वसाधारण नयाँ वर्ष मनाउन रारा आएका छन् । मुलुककै अति विशिष्ट पाहुना रारामा रमाइरहेका छन् ।

‘बिगुल फुक्न’ रारा तयार

पर्यटकीय विकासमार्फत समृद्धि हासिल गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको आयोजनामा ‘कर्णाली–रारा पर्यटन वर्ष– २०७५’ को शनिबार प्रधानमन्त्री केपी ओलीले घोषणा गर्दैछन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान ८ बजे राराबाटै नयाँ वर्षको शुभकामना सन्देश र देशवासीका नाउँमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवास नेम्वाङ, माओवादी नेता जनार्दन शर्मा रारा आइपुगेका छन् ।

पर्यटन वर्ष उद्घाटनको तयारी पूरा भएको छ । पर्यटकहरूको स्वागतमा रारा बेहुलीझैं सिंगारिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनाल, प्रदेश मन्त्रीहरू, प्रदेश तथा संघीय सांसदहरू, प्रदेश मन्त्रालयका कर्मचारीहरू, स्थानीय जनप्रतिनिधि, सर्वसाधारणहरू रारा आइसकेका छन् । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले स्वागतद्वार, मञ्च, अतिथि व्यवस्थापन लगायतका सबै तयारीहरू पूरा भइसकेको जानकारी दिए । प्रदेश सरकारको निमन्त्रणामा यहाँ आउने आगन्तुकहरूलाई आवासका लागि टेन्टको व्यवस्था गरिएको छ । पर्याप्त होटल नहुँदा करिब डेढ सय टेन्ट बनाइएको छ । ‘पर्यटन वर्षकै सुरु दिनमा पाहुनालाई खाना, बस्नको दु:ख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ,’ मन्त्री बुढाले भने, ‘पर्यटकका लागि सहज रूपमा रारा आउन आवश्यक पूर्वाधारको तीव्र गतिले विकास गर्नेछौं । पर्यटकलाई रारा आउँआउँ लाग्ने गरी पूर्वाधार विकासमा जोड दिँदैछौं ।’

प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरूका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना, आवास व्यवस्थापनको जिम्मा लिएको छ । प्रदेश मन्त्रीहरूलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको छ । सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा बसालिको छ । जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्षले राराको मात्रै नभई सिंगै मुगुको विकासमा टेवा पुग्ने बताए । ‘पर्यटकलाई स्थल र हवाईमार्गबाट सहज रूपले रारा ल्याउन समस्या छ,’ अब सरकारले यातायात पूर्वाधारको विकासमा ध्यान देओस्,’ उनले भने, ‘निकुञ्जले पनि होटल व्यवसाय सञ्चालनमा मद्दत पुग्ने गरी सहजीकरण गरिदिनुपर्छ ।’

त्यस्तै, पर्यटकको सुविधाका लागि वल्र्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराएको छ । पाहुनाको स्वागतका लागि मुगुको स्थानीय झाँकी देखाउनुका साथै देउडा, रत्यौली प्रस्तुत गरियो । ताल परिसर घुम्नेहरूका लागि घोडाको व्यवस्था पनि मिलाइएको छ । रारामा आवश्यक सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित छन् । कर्णाली प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो । ‘कर्णाली समृद्धिको आधार : पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधनलगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका अवलोकनमा जानेछन् । ११ बजे पुन: रारा फर्केर प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यक्रम छ । १२ बजे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को घोषणा गरेर दिउँसो २ बजे जुम्ला प्रस्थान गर्नेछन् । जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ । प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग भेटघाट तथा विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ, जसअन्तर्गत बालबालिकालाई स्कुलमा भर्ना गर्नेछन् ।

किन राराबाटै घोषणा ?
मुगुको छायानाथ रारा नगरपालिका ९ मा पर्छ, राराताल । १६७ मिटर गहिराइ र ५ किमी लम्बाईको झन्डै ३ किमि चौडाइ रहेको यो नेपालकै ठूलो ताल हो । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्दछ । वरिपरि घना जंगल, माथि हिमाल, मानव बस्तीरहित राराताल सुन्दरताको अनुपम नमुनाका रूपमा देख्न सकिन्छ । भूस्वर्ग, स्वर्गकी अप्सरा जस्ता उपमा पाएको छ रारातालले । तत्कालीन राजा महेन्द्रले २०२० सालमा राराको भ्रमण गरी मविवि शाहको नाममा ‘स्वर्गकी अप्सरा’ शीर्षक दिएर राराको बयान गरेका थिए । रारातालको संरक्षण गर्न तत्कालीन राजाले राराको बस्ती बाँकेको चिसापानी स्थानान्तरण गरेका थिए ।

कर्णाली राजमार्ग सुचारु भएसँगै रारा आउने पर्यटकको संख्या बढ्दै गएको छ । रारा आउनलाई नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थल, सुर्खेत विमानस्थल पनि प्रयोग हुने गरेको छ । मुगु सदरमुकाम गमगढीदेखि २ घण्टा पैदल हिँडेपछि पुगिन्छ । रारा क्षेत्रकै प्रदेशसभा सांसद दानसिं परियारले यातायातको पहुँचसँगै पर्यटकहरूको संख्या बढ्न थालेकाले राराबाट मनग्य राजस्व संकलन गर्न सकिने बताउँछन् । ‘राराको पर्यटन पूर्वाधारको विकास गर्ने हो भने कर्णाली प्रदेशलाई धान्ने स्रोत यहाँबाटै जुट्न सक्छ’ उनी भन्छन्, रारासम्म यातायात पूर्वाधारको विकास गर्न सके जुम्लाको सिञ्जा, हुम्लाको मानसरोवर, दैलेखको पञ्चकोसीलगायत स्थलमा पर्यटकको चहलपहल बढ्छ ।’

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्थ्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले राराले विश्वको ध्यानाकर्षण गर्ने भएकाले प्रधानमन्त्रीबाट पर्यटन वर्ष घोषणा गर्नुपरेको बताउँछिन् । ‘रारा हाम्रो प्रदेशको सान हो । राराबाटै प्रदेशले समृद्धिको यात्रा तय गर्दैछ,’ उनी भन्छिन्, ‘नयाँ वर्षसँगै कर्णाली प्रदेशको विकास र समृद्धिको रेखा कोर्नेछ ।’ प्रधानमन्त्रीले देशवासीका नाउँमा गर्ने सम्बोधनसमेत राराबाटै गर्न लागेकाले कर्णाली रारा पर्यटन वर्षको महत्त्व झन् बढेको उनको भनाइ छ ।

रारा किनारमा प्रदेश मन्त्रिपरिषद् बैठक
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार साँझ कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठक बस्यो । बैठकले कोहलपुर–सुर्खेत–हिल्सा सडकलाई प्रधानमन्त्री पर्यटन लोकमार्ग निर्माण गर्ने, कर्णाली एकीकृत नमुना बस्ती निर्माण गर्ने, सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, कर्णालीका उत्तर नाकाहरू हुम्लाको हिल्सा, मुगुको नाक्चेनांगला र डोल्पा नाकालाई खोल्न पहल गर्ने, राराको पर्यटन विकासको गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ । बैठकलगत्तै निर्णयहरू प्रधानमन्त्रीलाई जानकारी गराइयो ।

प्रदेश मन्त्रिपरिषद्का निर्णयहरू जानकारी पाएपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सम्भावनै सम्भावनाको प्रदेश भएको बताए । ‘प्रशस्त जडीबुटी छन् । खानी, जलस्रोतको अथाह भण्डार छ, उनले कर्णाली सरकारका मन्त्रीहरूलाई ब्रिफिङ गर्दै भने, तपाईंहरूले जेजे माग राख्नुभएको ती मागमा केन्द्र सरकार सकारात्मक छ ।’ उनले नयाँ ढंगले काम गर्न र नयाँ ढंगले योजना बनाउन निर्देशन दिए ।

प्रकाशित : वैशाख १, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?