कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भासियो पुल

झन्डै ३ करोड रुपैयाँ लागतको पुल निर्माणको ठेक्का वीरगन्जको पप्पु कन्स्ट्रक्सनले पाएको थियो
भूषण यादव

वीरगन्ज — पर्साको विन्दवासिनी गाउँपालिकाको गर्दौलस्थित नौरंगिया नदीमाथि निर्माण भएको पुल हस्तान्तरण नहुँदै भासिएको छ । झन्डै ३ करोड रुपैयाँ लागतको पुल निर्माणको ठेक्का वीरगन्जको पप्पु कन्स्ट्रक्सनले पाएको थियो ।

भासियो पुल

०६८ साउन २७ मा सडक विभागले निर्माण कम्पनीसँग सम्झौता गर्दा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । हस्तान्तरण नहुँदै पुलका दुवैपट्टिका एप्रोच स्लेब भासिएका छन् । सडकमा निर्माण गरिएका खम्बा पनि बांगिएका छन् ।


स्थानीयले पुलको गुणस्तरमाथि प्रश्न उठाउँदै विरोध गरेपछि हाललाई पुल हस्तान्तरण कार्य रोकिएको छ । जिल्ला समन्वय समितिमा पुल अनुगमन र निरीक्षणका लागि निवेदन दर्ता भएको छ । सडक विभागले समेत एप्रोच स्लेब, एप्रोच सडक मर्मतका ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ ।


वर्षांैदेखि पुलको सपना देखेका गर्दौल र परसौनीका बासिन्दा ठेकेदारको गुणस्तरहीन कार्यले निराश बनेका छन् । सामान्य वर्षामा पनि दुई गाउँबीच सम्पर्क टुट्ने गरेको थियो । गर्दौल निवासी ४७ वर्षीय नागेन्द्र यादव भन्छन्, ‘ठेकेदारले ठग्ने काम गरेका छन् । नत्र बन्दाबन्दै पुल कसरी भासिन्थ्यो ।’


परसौनीका अधिकांश बासिन्दाको खेत नदीपारि छ । ‘वर्षातको मौसममा खेतमा आउन सकिँदैन,’ परसौनीका दिल हुसैन गद्दीले भने, ‘खेतमा नआउँदा बालीको हेरचाह गर्न सकिन्न, बाली भगवान्भरोसा छाड्नुपर्छ ।’ सामान्य आवागमनसमेत प्रभावित हुने गरेको छ ।


‘सडक विभागले ठेक्का लगाएपछि खुसियाली छाएको थियो,’ गद्दीले विगत सम्झे, ‘ठेकेदारले ढिला काम गरे पनि एकदिन न एकदिन कसो पुल नबन्ला भन्ने लागेको थियो । तर, अहिले बन्दाबन्दै पुल भासिएपछि निराशा फैलिएको छ ।’ उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका हरिनारायण रौनियारका छोरा सुमित रौनियार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक हुन् ।


गत साता अनुगमनमा गएका जिल्ला समन्वय समिति अध्यक्ष नेक महम्मद अन्सारीले पुलको दुवै स्लेब भासिएको फेला परेको जनाए । ‘स्थानीयको लिखित उजुरीका आधारमा स्थलगत अनुगमनमा गएका थियौँ,’ उनले भने, ‘हस्तान्तरण नहुँदै पुल भासिनु गम्भीर विषय हो ।’


सरोकारवाला निकायलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिइएको उनले बताए । सडक विभागका इन्जिनियर आशुतोष कर्णका अनुसार २ करोड ९८ लाख रुपैयाँमा ठेक्का सकार गरेको पप्पु कन्स्ट्रक्सनले ठेक्का अवधि सकिएको ४ वर्ष बितिसक्दा पनि पुल निर्माण गरी बुझबुझारथ गर्न नसकेको हो ।


पछिल्लो समय पुलमा प्राविधिक समस्या देखिएपछि मर्मतसम्भारका लागि पत्राचार गरिएको उनले जनाए । ‘समयमै निर्माण गर्नका लागि ३ पटक पत्र लेख्यौँ,’ इन्जिनियर कर्णले भने, ‘सडक विभागलाई ठेकेदारले टेर्दैनन् ।’


पुल निर्माण कार्य सम्पन्न भई बुझबुझारथ गर्न गत वर्ष नै ठेकेदारले सडक विभागमा पहल गरेको थियो । ‘पुल निर्माण सम्पन्न भएपछि स्थानीयमा खुसियालीलगायतका समाचार पनि सम्प्रेषण गराएको थियो,’ एक इन्जिनियरले भने, ‘अनुगमनमा जाँदा पुलमा त्रुटि भेटियो ।’ विभागको पत्राचारपछि ठेकेदारले एप्रोच सडक र स्लेब मर्मत गरे पनि त्यो चित्तबुझ्दो छैन । ‘पुलमाथि प्लास्टरले टालिएको छ,’ इन्जिनियर कर्णले भने, ‘तर, पुलको तल अझै भ्वाङ छ ।

मर्मतसम्भार पनि प्राविधिक रूपले चित्तबुझ्दो छैन ।’ सडक विभागका अनुसार ठेक्काका क्रममा उक्त पुल तीन स्पेन (खण्ड) मा निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । पछि भेरियसन गरी २ स्पेनको पुल र एक स्पेन बराबर एप्रोच सडक निर्माण गर्ने सहमति भएको थियो ।

प्रकाशित : वैशाख ३, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?