कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छाप्रामै स्थानीय तह

दोलखा — सुविधाका लागि गाडी किन्न सक्ने स्थानीय तहले कार्यालय भने भाडाको घरमै सञ्चालन गरिरहेका छन् । जिल्लाका ७ वटा गाउँपालिका अझै भाडाका घर र छाप्रामा सञ्चालित छन् ।

छाप्रामै स्थानीय तह

भाडाका घरमा कार्यालय चलाए पनि केही गाउँपालिकाले सवारीसाधन भने खरिद गरिसकेका छन् । केहीले मोटर भाडामा लिएबापत ठूलो रकम खर्चंदै आएका छन् । जिल्लाका दुई नगरपालिका भीमेश्वर र जिरी भने पहिले नै बनेका भवनमा सञ्चालित छन् । दुवै नगरका वडा कार्यालय भने भाडाकै घरमा छन् ।


व्यवस्थित भवन नभएकाले दैनिक कार्यसम्पादन गर्न कठिन भएको जनप्रतिनिधि बताउँछन् । भवन निर्माणका लागि तदारुकता भने देखाउँदैनन् । विगु गाउँपालिकाले आफंैले स्कारपिओ जिप र डोजर खरिद गरेको छ । तर कार्यालय भने लादुक नमुना आदर्श पर्यटन सहकारी संस्थाको भवनमा सञ्चालन गरिरहेको छ । कार्यकारी अधिकृत नवराज वलीका अनुसार आफ्नो भवन नबनेसम्मका लागि मर्मत गरेर उक्त संस्थाको भवनमा कार्यालय सञ्चालन गरिएको हो ।


जिल्लाको सैलुङ गाउँपालिकाले आठवटा कोठा र एउटा सभाकक्ष भाडामा लिएको छ । कर्मचारीका लागि अरू केही कोठा भाडामा लिएको उक्त नगरपालिकाले जनायो । गाउँपालिका अध्यक्ष भरत दुलालले भवन निर्माण गर्न श्यानेडाँडा सामुदायिक वनको साधारणसभाले ५ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको बताए । भवन निर्माणका लागि लालपुर्जा आवश्यक पर्छ । बाघखोर बजार नजिकै करिब डेढ रोपनी क्षेत्रफलमा घर बनाउन चार लाख खर्च गरेर घडेरी खारिसकिएको दुलालले जानकारी दिए ।


वैत्यश्वर गाउँपालिकाले चारकोठे भवन भाडामा लिएको छ । मेलुङ गाउँपालिकाले विभिन्न स्थानमा १८ वटा कोठा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । तामाकोसी गाउँपालिकाले पुरानो गाविस भवन र स्वास्थ्यचौकी भवनमा कार्यालय चलाउँदै आएको छ । अरूको भवनहरूमा कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहलाई दैनिक कार्यसम्पादन गर्न निकै कठिन भइरहेको छ ।


कालिञ्चोक गाउँपालिका छाप्रामा सञ्चालित छ । केन्द्र सार्ने विवादमा अल्झिएको उक्त गाउँपालिका छाप्रामा सञ्चालन गर्दा कर्मचारीलाई बसेर काम गर्न अप्ठेरो परिरहेको गुनासो छ । कार्यालयको समस्या र विवादको झमेलामा अल्झिएको उक्त कार्यालयमा काम गर्ने वातावरण नै नभएको एक कर्मचारीले बताए । गौरीशंकर गाउँपालिकाले १० कोठाको भवन भाडामा लिएर चलाइरहेको छ । प्रदेश कानुन बनेपछि भवन निर्माण कार्य सुरु गरिने उक्त गाउँपालिका अध्यक्ष स्वयम् खड्काले बताए ।

प्रकाशित : वैशाख ३, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?