कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रेडियो नेपालको जग्गा भाडामा दिएकोमा खुमलटारवासीको विरोध

स्थानीयको जग्गा अधिग्रहण गरिएको थियो, अहिले स्थानीयलाई आवश्यकता परेकाले उनीहरूलाई नै प्रयोग गर्न दिनुपर्छ 
प्रशान्त माली

ललितपुर — खुमलटारस्थित रेडियो नेपालको जग्गा भाडामा लिने ठेकेदार कम्पनी कुवेर ज्ञान हाउजिङले संरचना बनाउन थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीयले भाडामा लगाएको जग्गामा आइतबार कार्यक्रम गरेर सरकार र ठेकेदार कम्पनीको ध्यानाकर्षण गरेका छन् ।

रेडियो नेपालको जग्गा भाडामा दिएकोमा खुमलटारवासीको विरोध

उनीहरूले उक्त जग्गा प्राकृतिक विपद्का बेला स्थायी र अस्थायी रूपमा व्यवस्थापन गर्नुपर्ने हुँदा खुला राख्न माग गर्दै आइरहेको थियो ।


स्थानीयले भूकम्प जाँदा उक्त जग्गामा हजारौं मानिसले आश्रय लिएको र वडा कार्यालयभित्र विपद् व्यवस्थापन गर्न खुला ठाउँ नभएको भन्दै ठेकेदार कम्पनीसँग भएको ठेक्का तत्काल रद्द गर्न अनुरोध गरेका छन् । माओवादी नेता टोपबहादुर रायमाझीले स्थानीयको सम्पत्ति स्थानीयको आवश्यकतामै उपयोग गर्न दिनुपर्ने बताए । ‘पहिला सरकारले स्थानीयको जग्गा अधिग्रहण गरेर लिएको थियो,’ उनले भने, ‘अहिले स्थानीयलाई आवश्यकता परेकाले उनीहरूलाई नै प्रयोग गर्न दिनुपर्छ ।’


रेडियो प्रसार सेवा विकास समितिले जेठ २९ मा खुमलटार ट्रान्समिसन स्टेसनको सातदोबाटो–गोदावरी जाने मूल बाटोको उत्तरपट्टिको ४२ रोपनी जग्गा कुवेर ज्ञान हाउजिङ कम्पनीले प्रतिरोपनी प्रतिमहिना ४१ हजार ५१ रुपैयाँमा बर्सेनि १० प्रतिशतले वृद्धि हुने गरेर ३० वर्षका लागि भाडामा पाएको थियो । ललितपुर महानगरपालिका–१५ का वडाध्यक्ष सुदर्शन मिश्रले ठेकेदार कम्पनीले अटेर गरेर संरचना बनाएमा कडा रूपमा प्रस्तुत हुन बाध्य हुने बताए ।


‘यसअघि संरचना बनाउँदा पनि नगर प्रहरी बलको सहयोगमा सामान जफत गरिएको थियो,’ उनले भने, ‘जग्गा भाडामा दिनेबारे वडा कार्यालयबाट पनि सिफारिस लिएको छैन ।’ सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ मा सरकारी जग्गा लिजमा लिँदा स्थानीय निकायको सिफारिस र त्यस्तो जग्गा प्रकोप उद्धार तथा व्यवस्थापनका लागि आवश्यक नपर्ने भन्ने गृहमन्त्रालयको सिफारिस लिनुपर्छ । रेडियो नेपालले वडा कार्यालय र गृहमन्त्रालयलाई ‘बाइपास’ गरेर भाडामा लगाएको वडाध्यक्ष मिश्रको भनाइ छ । उनले स्थानीय सरकार सञ्चालन ऐन, ०७४ मा पनि विपद् व्यवस्थापन र पूर्वतयारी गर्नुपर्ने कानुनी प्रावधान रहेको बताए ।

‘सोही ऐनको परिच्छेद–३ मा विपद्को पूर्वतयारी, योजना र पूर्वसूचना प्रणाली खोज, राहत सामग्रीको पूर्वभण्डारण, वितरण र समन्वय गर्ने प्रावधान रहेकाले जग्गा खुला राख्नुपर्ने उल्लेख छ,’ उनले भने । रेडियो नेपालका प्रवक्ता निर्देशक बुद्धिबहादुर केसीले विरोध कार्यक्रमबारे कार्यालयमा लिखित कुनै पत्र प्राप्त नभएको बताए । ‘खुमलटारमा रेडियो नेपालको कार्यालय छ,’ उनले भने, ‘त्यहाँको इन्चार्जसँग के भएको रहेको छ, बुझ्नेछु ।’

रेडियो नेपालले उक्त जग्गा भाडा दिँदा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । रेडियो नेपालले अत्यन्त कम मूल्यमा भाडामा दिएको वडा कार्यालयको भनाइ छ ।


महानगरको ०७३/७४ मा घरजग्गा कर प्रयोजनको सरकारी मूल्यांकन पनि उक्त क्षेत्रमा प्रतिरोपनी चक्रपथ बाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको ३२ लाख २५ हजार रुपैयाँ कायम छ । रेडियो प्रसार सेवा विकास समितिले प्रतिरोपनी ३५ हजारलाई न्यून भाडादर कायम गरेर त्योभन्दा माथि रकमका लागि सिलबन्दी बोलपत्रमार्फत प्रतिस्पर्धा गराई भाडा दिने निर्णय गरेको थियो ।

यसले सरकारलाई बर्सेनि ४२ रोपनी जग्गाबाट मात्रै झन्डै ३ करोड रुपैयाँ घाटा हुने महानगरका अधिकारी बताउँछन् । रेडियो नेपालको खुमलटार प्रसारण केन्द्रमा उत्तर र दक्षिणपट्टि १ सय १८ रोपनी गरेर जम्मा १ सय ६० रोपनी जग्गा छ ।

प्रकाशित : वैशाख ३, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?