कांग्रेसले बहुमत नल्याएसम्म विश्राम लिन्न : देउवा

नगेन्द्र अधिकारी

हेटौंडा — कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको ‘राष्ट्रवाद’ लम्पसारवादमा परिणत भइसकेको आरोप लगाएका छन् । 

तरुण दल मकवानपुरको संयोजनमा केन्द्रीय समितिले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली कहिले पनि राष्ट्रवादी नभएको आरोप लगाए । ‘ओली कहिले पनि राष्ट्रवादी थिएनन्,’ उनले भने, ‘अप्ठ्यारो पर्दा राष्ट्रवादको कुरा गर्ने र भोलिपल्टै लम्पसार पर्ने कुराले प्रमाणित भइसकेको छ ।’

कांग्रेस मात्रै ‘राष्ट्रवादी’ पार्टी भएको दाबी गर्दै उनले राष्ट्रिय एकता नै वास्तविक राष्ट्रवाद भएको तर्क गरे । राष्ट्रको खिलापमा कोही पनि जान नसक्ने भन्दै उनले हिमाल, पहाड तराई सबैको देश भएकाले सबैलाई मिलाएर लैजाने उद्घोष गरे ।

संविधान कार्यान्वयनको लागि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गराएको भन्दै उनले अन्तरघात नभएको भए पहिलो पार्टी हुन सक्ने बताए । ‘दुई कम्युनिष्ट हठात र अचानक मिले, किन मिले, कसरी मिले, मिल्नु हुन्थ्यो, हुदैनथ्यो त्यो म चर्चा गर्न चाहन्न,’ उनले भने, ‘संविधान कार्यन्वयन गराउनु आवश्यकता ठानेर मैले चुनाव गराए, प्रतिकुल अवस्थामा चुनाव लड्नुपरेको थियो, अन्तरघात नभएको भए हामीले कम्तीमा २० सिट बढी जित्थ्यौं ।’

अन्तरघात गर्नेलाई कारवाही नभएका कारण पार्टीमा ‘छाडातन्त्र’ भएको भन्दै उनले कारवाही गरेरै छोड्न बताए । ‘टिकट त एकजनाले मात्रै पाउने हो नि, टिकट नपाउनेले खुलेआम अन्तरघात गर्ने हो भने पार्टी सिस्टम र अनुशासन कसरी हुन्छ ?,’ उनले भने, ‘पार्टी अनुशासन कायम गर्दै गिरिजाबावुले भनेजस्तै पार्टीलाई बहुमतमा नपुर्‍याएसम्म विश्राम लिन्न ।’

‘कम्युनिष्ट एकता हारको प्रमुख कारण’
उद्घाटन कार्यक्रममा बोल्ने अधिकाशं नेताहरुले दुई कम्युनिष्ट पार्टीबिचको गठबन्धन नै कांग्रेस हार्नुको प्रमुख कारण भएको दाबी गरेका छन् । केन्द्रीय सदस्य रामशरण महत, बालकृष्ण खाँड, प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, महेन्द्र यादव, रामकृष्ण यादव, लक्ष्मी परियारलगायतले दुई ठूला कम्युनिष्ट मिलेका कारण अंक गणितीय रुपमा पछाडि भएपनि समानुपातिक मतले कांग्रेस कमजोर नभएको पुष्टि गरेको तर्क गरे ।

१३ जिल्ला, क्षेत्र र नगर समिति सहभागी प्रशिक्षणमा पुर्व अर्थमन्त्री रामशरण महत, तरुण दलका पुर्वअध्यक्ष बालकृष्ण खाड लगायतले प्रशिक्षण दिनेछन् ।

स्थायी राजधानी हेटाैंडा नै कायम गर्न माग
तरुण दलको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी देउवालाई कांग्रेस नेता कार्यकर्ताले हेटौंडालाई नै प्रदेशको स्थायी राजधानी कायम गर्न माग गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस हेटौंडाका सभापति आनन्दराम पराजुलीले हेटौंडालाई नै प्रदेश राजधानी कायम गर्न आग्रह गरे । तरुण दल जिल्ला अध्यक्ष इश्वर पाठकले राजधानीको लागि हेटौंडाको नाममा समर्थन जुटाउन सबै जिल्ला अध्यक्षलाई अनुरोध गरे ।

सम्बोधनको क्रममा सभापति देउवाले भने कुनै प्रतिकृया जनाएनन् । देउवा नेतृत्वकै सरकारले हेटौंडालाई प्रदेश ३ को अस्थायी मुकाम तोकेको थियो । कांग्रेस नेता बालकृष्ण खाँडले हेटौंडाबाट कुनै पनि तागतले राजधानी सार्न नसक्ने दाबी गरे ।

प्रकाशित : वैशाख ३, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाउँ रित्तिदै, लेक भरिंदै 

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको पूर्वी भेगका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाको ‘सिजन’ सुरु भएसँगै मानिसहरु लेकतर्फ उक्लन थालेका छन् ।

सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीको देउढुंगामा यार्सागुम्बा संकलनमा आएका गाउँलेहरु । हिमाली गाउँ फुल्पिङकट्टीको नारायणथानबाट ७ घण्टाको यात्रापछि यरमाला, देउढुंगा हुँदै दोलखा जोड्ने सीमामा यार्सागुम्बा संकलनको लागि पुग्ने गर्छन् । फाइल तस्विर : कान्तिपुर ।

विगतका वर्षजस्तै यस वर्ष पनि यार्सा संकलन क्षेत्रमा ३ महिनाका लागि सामानको ढुवानी गर्नेको लर्को शुरु भएको छ । सीमावर्ती क्षेत्रका बासिन्दाले यार्सागुम्बा संकलन गर्न गाउँ छाडेका हुन् । भोटेकोशी गाउँपालिकाको मार्मिङ, सेलाङकट्टी ,फुल्पिङकट्टीदेखि चौतारा नगरपालिका, जुगलजस्ता हिमाली गाउँका स्थानीयहरु सपरिवार लेक उक्लन थालेका हुन् ।

वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सागुम्बा संकलन पूर्व नै स्थानीयले ३ महिनाको लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामाग्री लेकतर्फ पुर्‍याउने गर्छन् ।
लेकलाई लक्ष्य राखेर दाउरा, गोठदेखि पालको तयारी गर्न स्थानीयहरु चैत नसकिंदै संकलन क्षेत्रमा पुग्छन् । यार्सा इलमको कारणले गाउँबाट बाहिरिएका युवा, महिला सबैजस्तो परिवार सामूहिक रुपमा यार्सागुम्बा सिजनको योजना बनाउँदै लेकको गाउँमा आइपुगेका भेटिन्छन् ।

‘बाहिरी जिल्लाकासमेत् यार्सागुम्बा संकलन गर्न यहाँ आइसकेका छन्,’ भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीका अनेश नेपालले भने, ‘यार्साको आर्कषणले बास बस्नेहरु दैनिक बढ्दैछन्, नारायणथान्गाउँको माथिल्लो गाउँटोलको भेग यार्सा संकलकले भरिन थालिसकेको छ ।’

उनले राजधानीलगायतका अन्य स्थानमा अस्थाई बसोबास गर्ने स्थानीय समेत यार्सागुम्बा संकलनका लागि गाउँ फर्केको बताए । ‘यार्सायाम सुरु भएपछि वर्षैपिच्छे यस्तै भिड हुन्छ, यहाँबाट पनि लेक जानेको लामो लस्कर हुन्छ,’ नेपालले भने ।
लेक जानेका कारण अहिले बजारमा सरसामान किन्नेको निकै भिडभाड हुन थालेको छ । लेकमा आवश्यक पर्ने जुत्ता ज्याकेटलगायतका न्यान लत्ताकपडा तथा उपभोग्य सामाग्री खरिद गर्नेका कारण कारोबार भइरहेको व्यवसायीको भनाइ छ ।
बैशाखदेखि असार महिनासम्म यार्सा संकलन क्षेत्रमा बस्ने गर्छन् । गाउँमा अशक्त, वृद्धवृद्धा, सुत्केरी, महिला, हिडँडुल गर्न नसक्ने बालबालिका मात्र हुने गर्छन् । ‘प्राय अहिल्यै गाउँ रित्याएर लेकको उकालो लागि सके, मैलेपनि धेरै तैयारी सकेर यहाँ आइपुगेको छु,’ नारानथानमा भेटिएका भोटेकोसी गाउँपालिका सेलाङकट्टीका सुन्दान्जे शेर्पाले वरीपरीका बस्ती देखाउँदै भने, ‘यहाँबाट देखिने सबै गाउँ अब रित्तिइसके, सबै यार्सा क्षेत्र डुल्दैछन् ।’ गाउँमा केही अशक्त र वृद्धवृद्धा बाहेक अरु सबै परिवार नै यार्सा टिप्न आएको उनले बताए ।
सेलाङकट्टीको तल्लो माख्लो टोल, शेर्पा बस्तीमा ३ सय परिवार यार्सा संकलन गर्न नारानथानमा बास बसेका छन् । ‘पूरा टोलबस्ती सुनसान बनाएर आएका सेलाङकट्टी, मार्मिङजस्तै प्राय सबै गाउँका परिवार यहाँ बन्दोबस्तीको सम्पूर्ण तयारीमा जुटेका देखिन्छन्’ शेर्पाले भने ।

हिमाली गाउँ फुल्पिङकट्टीको नारायणथानबाट ७ घण्टाको यात्रापछि यरमाला, देउढुंगा हुँदै दोलखा जोड्ने सीमामा पुगिन्छ । सोही क्षेत्रमा यार्सा टिप्नेको ताँती नै लाग्ने गरेको छ । स्थानीय तहको समन्वयमा संरक्षण केन्द्रले यार्सा संकलन क्षेत्रमा जानेहरुबाट राजस्व संकलन गर्ने कामको पूरा तयारी गरिसकेको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहका अनुसार गाउँपालिकामा बसोबास गर्नेबाट प्रतिव्यक्ति पाँचसय र बाहिरी जिल्लाका संकलकबाट दुई हजार र अन्यबाट तीन हजार राजस्व संकलन गरिनेछ । ‘संकलकले नियम पूरा गरेर मात्रै कामलाई अगाडी बढाउन पाउनेछन्,’ उनी भन्छन्, ‘अवान्छनीय गतिविधि हुन् बिलकुल दिने छैनौं ।’

आर्थिक वर्ष ०७५/७६ देखि यार्सासम्बन्धी नयाँ मापदण्ड बनाएर गाउँपालिकाबाट राजस्व संकलन गरिने भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘यस वर्षसम्म संरक्षण केन्द्रले संकलन गर्नेछ, आउँदो वर्षपछि गाउँपालिकास्तरीय कानुनद्वारा नियमन गरिनेछ,’ उनले भने ।

प्रकाशित : वैशाख ३, २०७५ १९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT