कर्मचारीकै मिलेमतोमा दुई करोडको काठ गायब
काठमाडौँ — कर्मचारीकै मिलेमतोमा करिब दुई करोड रुपैयाँको काठ हिनामिना भएको भन्दै बाराको सहजनाथ साझेदारी वन व्यवस्थापन समितिले दोषीमाथि कारबाही गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको ध्यानाकर्षण गराएको छ ।
बाराका जिल्ला वन अधिकृत (डीएफओ) भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृत अमरदेवप्रसाद यादव र रेन्जर अब्दुल करिम अन्सारीलगायतले बाराको मधुवन सेक्टरको ४ सय ९७ थान गोलिया काठको २५०५.९४ क्युबिक फिट काठ हिनामिना गरेको भन्दै समितिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन् । मधुवन सेक्टरका तत्कालीन निमित्त प्रमुख शशीकान्त तिवारीले उक्त वन क्षेत्रको काठ रि–नम्बरिङ गर्दा १४ सय २३ थान गोलिया काठको ७११६.८० क्युबिक फिट काठ रहेको लगत वन कार्यालय, बारामा बुझाएका थिए । बजारमा अहिले एक क्युबिक काठको मूल्य करिब ५ हजार रुपैयाँ छ ।
पछि मधुवन सेक्टरमा प्रमुख भएर गएपछि सहायक वन अधिकृत अमरदेवप्रसाद यादवले १४ सय २३ थानमा ४ सय ९७ थान घटाएर ९ सय २६ थान गोलिया काठको ४६१०.१६ क्युबिक फिटको मात्र लगत वन कार्यालयमा देखाएर अरु काठ हिनामिना गरेको व्यवस्थापन समिति र सेक्टरका पूर्वप्रमुख तिवारीको दाबी छ । ‘लगत कम देखाएर झण्डै दुई करोड रुपैयाँ हिनामिना गरेको देखिन्छ,’ तिवारीले कान्तिपुरसित भने, ‘कारबाहीका लागि अख्तियारमा समेत उजुरी दिइयो, तर कसैको सुनुवाइ गरेन ।’ यसमा वन विभाग, मन्त्रालयका अधिकारी र अख्तियारका कर्मचारीको समेत संलग्नता भएको उनको आरोप छ । छानबिनका लागि बारा गएको अख्तियारको टोली आरोपितकै ‘मेजमानी खाएर’ फर्किएको थियो ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले समेत बारामा काठको हिनामिना भएको भन्दै वनमन्त्री बस्नेतको ध्यानाकर्षण गराएको स्रोतले बतायो । प्रदेश २ का स्थानीयले घटनाबारे सबै कागजात यादवलाई बुझाएका थिए । यादवले ती कागजात मन्त्री बस्नेतको जिम्मा लगाएका छन् । बस्नेतले बारा वनमा देखिएको बेथितिबारे कारबाही अघि बढाइसकेको प्रतिक्रिया दिए । ‘परिणाम आउने गरी कारबाही अघि बढाएको छु’ बस्नेतले भने ।
समितिका अध्यक्ष भुवनेश्वर धामीले सहायक वन अधिकृत यादव र रेन्जर अन्सारीले काठको परिमाण घटाएर आर्थिक हिनामिना गरेकाले छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका थिए । सहजनाथ साझेदारी वन व्यवस्थापन समितिका काठ कर्मचारीले सीधैं जितपुर सिमराको नेहाल स:मिल एण्ड फर्निचर उद्योगमा चिरानका लागि पठाएका थिए । डीएफओ घिमिरे र सहायक वन अधिकृत यादवकै मिलेमतोमा काठ गायब पारिएको हो । पछि डीएफओ घिमिरेले भने कसको आदेशले काठ चिरानमिलमा पठाएको भनी सेक्टर कार्यालयलाई पत्र काटेर पानीमाथि ओभानो बन्न खोजेको पनि तिवारीको आरोप छ ।
‘सहजनाथ साझेदारी वनका जनताले पाउनुपर्ने काठ मिलेमतोमा बिक्री भएको देखिन्छ’ मन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘डीएफओको समेत प्रत्यक्ष संलग्नता भएकाले कारबाही गर्न माग गर्दछौं ।’ तिवारीले डीएफओ घिमिरे र अर्का सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल मिलेर काठ हिनामिनाका साथै भारततिर काठ तस्करी गर्ने गरेकोसमेत दाबी गरे । ‘हामीसँग पटेलले डीएफओ घिमिरेले भारततिर काठ तस्करी गर्ने गरेको बताउने गरेका छन्,’ उनले भने, ‘वास्तवमा दुबै मिलेर तस्करी गर्ने गरेको देखिन्छ ।’
घटनामा मुछिएका सहायक वन अधिकृत अमरदेवप्रसाद यादवले पनि सहायक वन अधिकृत पटेल र डीएफओ घिमिरे मिलेर जिल्लाको वन सिध्याउने खेलमा लागको आरोप लगाए । उनले भने, ‘विकास बजेटमा पनि अनियमितता गरेका छन् ।’ यादवले दुई जना मिलेर ५० हजार सीएफटी भन्दा बढी काठ बिक्री गरेको र त्यसको कमिसन विभाग र मन्त्रालयसम्म पुगेको बताए ।
अहिले पनि मधुवन सेक्टर कार्यालयअन्तर्गतको वन क्षेत्रमा साललगायतका हरिया रूख काटेर रातारात भारततिर तस्करी हुने गरेको मन्त्रीसमक्ष बुझाएको पत्रमा छ । ‘तर डीएफओले नियन्त्रणमा ध्यान दिएको देखिन्न’ तिवारीले भने, ‘उल्टै सहयोग गरेको देखिन्छ ।’ डीफओ घिमिरेले भने कर्मचारीले आफूमाथि लगाएको आरोपको खण्डन गरे ।
‘त्यसमा सत्यता छैन,’ बाराबाट उनले भने, ‘उनीहरु (कर्मचारी) नै बदमास हुन् ।’ आफूहरूले पाउनुपर्ने काठ हिनामिना गरेको थाहा पाएपछि बोधवन पोष्ट घेराउ गरी स्थानीयले रेन्जर अव्दुल करिम अन्सारीलाई मोसो दलेका थिए ।