नाम मिल्दा निर्दोष जेल !

पर्वत पोर्तेल

काँकडभिट्टा — अभियुक्तसँग नाम मिल्दा एक जना  व्यक्ति जेल परेका छन् ।  झापा मेचीनगर ६ का ३५ वर्षीय श्याम थापालाई जिल्ला अदालत झापाले सोमबार जेल सजाय फैसला गरेको छ । 

अदालतले उनलाई ६ महिना कैदसहित २६ लाख ९९ हजार रुपैयाँ जरिवाना समेत तोकेको छ। परिवारले उनी निर्दोष रहेको दावी गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै श्यामका दाजु केदारले घटनाबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको भन्दै आपत्ती जनाए।

Citizen

२०६४ जेठ २२ गते तत्कालिन टाघनडुब्वा २ स्थित गुलाम रसुल मियाँको घरबारी परिसरबाट प्रहरीले १ हजार ६ सय ८७ किलो रक्त चन्दन बरामद गरेको थियो। उक्त घटनामा तत्कालिन मेचीनगर १० निवासी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो। अदालतले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो।

घटना हुँदा भाई वैदेशिक रोजगारीमा कतार रहेको दाजु केदारले बताए। विदेशबाट आएर ट्याम्पो चलाएर जीविका चलाउदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट पक्राउ गरिएको थियो।

झापाका एसपी विष्णु केसीले अदालतको आदेशमा थापालाई पक्राउ गरिएको र अदालतले जेल चलान गरेको बताए। उनले भने,‘यदि व्यक्ति निर्दोष हो भने कानुनी उपचार खोज्नु पर्‍यो। ’

प्रकाशित : वैशाख ४, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीको ‘रारा सम्बोधन’ को सन्देश

कलेन्द्र सेजुवाल

रारा मुगु — क्षितिजमा सेताम्मे मुर्माटप हिमाल, फेदमा ‘स्वर्गकी रानी’ रारा । आसनको दायाँतिर राष्ट्रिय झन्डा । यही पृष्ठभूमिमा सामान्य सोफासेट कुर्सीमा बसेर शनिबार प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गरिरहँदा उनको ठीक पछाडि रारा किनारमा एउटा चलायमान दृश्य दोहोरिइरह्यो– मान्छेको आवतजावत ।

फाइल तस्बिर : नयाँ वर्षको अवसरमा मुगुको राराबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : कलेन्द्र सेजुवाल

प्रधानमन्त्रीले रारामै आएर समृद्धिको बिगुल फुक्दा स्वयं रारा र सिंगो कर्णाली प्रदेशलाई उत्साही बनाउने योजना त्यसभित्र परेनन् ।
प्रधानमन्त्रीको करिब ५० मिनेट लामो सम्बोधनको मूलध्येय तिनै मान्छेको जीवन बदल्नु थियो । उनी यही सन्देश प्रवाह गर्न रारा पुगेका थिए । के उनी यसमा सफल भए त ? सम्बोधनलगत्तै स्वाभाविक रुपमा विभिन्न कोणबाट यसको समीक्षा सुरु भएको छ । ‘प्रधानमन्त्री रारा आउनु नै ठूलो उपलब्धि हो’ रारामा भेटिने जोकोहीको मुखबाट झर्ने पहिलो प्रतिक्रिया यस्तै थियो । अवश्य नै, यो उपलब्धि हो । कर्णाली प्रदेश सरकारले करिब तीन साताअघि उनलाई ‘कर्णाली-रारा पर्यटन वर्ष’ उद्घाटनमा प्रमुख अतिथिको निम्तो दिएको थियो । प्रधानमन्त्री अतिथिमात्र बन्न आएनन्, प्राय: सिंहदरबार र संसद्‌को रोष्ट्रमबाट हुने सरकारी सम्बोधनलाई राराको आँगनमै ल्याएर आए । यसले राष्ट्रिय ध्यान रारामा खिच्यो । अभियानले कर्णाली प्रदेश सरकारले सोचेभन्दा राम्रो चर्चा पायो ।

पर्यटन वर्ष अभियान प्रचार समितिका संयोजक रहेका सामाजिक विकासमन्त्री दल रावलले भनेझैं- प्रधानमन्त्रीले राराबाटै सम्बोधन गरेर प्रदेश सरकारको कदमलाई उच्च महत्व दिए । सम्बोधनलगत्तै उनी मुगुको छायाँनाथ र हुम्लाको हिल्साको हवाई अवलोकनमा निस्किए । फर्केपछि प्रदेश सरकारको ‘पर्यटन वर्ष अभियान’ सुभारम्भ गर्दै कर्णालीका पर्यटकीयस्थलको विकासको लागि केन्द्र सरकारले दिल खोलेर सहयोग गर्ने प्रतिबद्धता जनाए । कर्णालीको पर्यटन विकासमा प्रदेश सरकारसँग हातेमालो, प्रधानमन्त्रीको ‘रारा सम्बोधन’को प्रमुख सन्देश यही हो ।

‘नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन् ।’ प्रधानमन्त्रीले यी शब्द उच्चारण गरिरहँदा उनको पछाडिबाट तिनै प्रतिनिधिपात्र हिँडिरहेका थिए । उनले सम्बोधनरुपी शब्द वाचन गर्दै त्यससँग मेल खाने दृश्य पनि नियाल्न भ्याए । त्यसैले यो सम्बोधन कोरा कल्पनाबाट माथि उठेर यथार्थ धरातलमा परिणत भयो । यो आफैंमा प्रतिबद्धता पूरा हुने सन्देश हो ।

सम्बोधनको अर्को पाटो पनि छ । सम्बोधनका अक्षर केलाउँदा भने चर्चा भएजस्तो कर्णालीको ‘महत्वपूर्ण उपलब्धि’ कहींकतै देखिँदैन । प्रधानमन्त्रीले रारामै आएर समृद्धिको बिगुल फुक्दा स्वयं रारा र सिंगो कर्णाली प्रदेशलाई उत्साही बनाउने योजना त्यसभित्र परेनन् । उनले भौतिक रुपमा त कर्णाली छोए, सम्बोधनमार्फत कर्णालीको कथा भने छुन सकेनन् । सम्बोधनमा प्रदेशका प्राथमिकता परुन् भनेरै अघिल्लो दिन प्रदेश सरकारले आफ्नो मन्त्रिपरिषद्‍‍का निर्णय हस्तान्तरण गरेको थियो । सांसद धर्मराज रेग्मी प्रधानमन्त्री यसमा चुक्दा ‘मन खल्लो’ भएको बताउँछन् । उनको विचारमा सम्बोधनको ड्राफ्ट काठमाडौंमै तयार भएको भए पनि रारामा आइसकेपछि स्थानीय भावना सम्बोधन गरिनुपर्थ्यो । ‘प्रधानमन्त्रीले हाम्रै प्रदेशमा आएर देशवासीका नाममा सम्बोधन गर्ने भनेपछि यहाँको विकासको लागि केही न केही घोषणा हुन्छ भन्नेमा ढुक्क थियौं,’ रेग्मी भन्छन्, ‘तर सम्बोधन ‘राष्ट्रिय’बाट ‘स्थानीय’मा प्रवेश नगरिकनै सकियो ।’

प्रधानमन्त्री आउने र सम्बोधन गर्ने भनेपछि रारामा कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुखदेखि सांसद/मन्त्रीको ‘कुम्भमेला’ नै लाग्यो । आवास तथा भोजन व्यवस्थापनमा खटिएका स्थानीय पर्यटन व्यवसायी राजु कार्कीका अनुसार दुईवटा होटेलका अतिरिक्त करिब डेढ सय टेन्ट (पाल)मा सरदर चार जनाका दरले पाहुना भरिभराउ थिए । प्रधानमन्त्रीको ऐतिहासिक सम्बोधन हुने यो कुम्भमेलामा विदेशी अनुहार भने देखिएनन् । रारा सम्बोधनको महत्वपूर्ण उद्देश्य रारालगायत यहाँका पर्यटकीयस्थलमा विदेशी पर्यटक भित्र्याउनु पनि त हो ! के यो अवसरमा विदेशी पर्यटकलाई भित्र्याउन नसकिए पनि उनीहरुका प्रतिनिधिको रुपमा राजदूत तथा विदेशी नियोगका अधिकारीलाई निम्त्याउन सकिँदैनथ्यो ? यदि त्यसो गर्न सकिएको भए प्रधानमन्त्रीको रारा सम्बोधन थप सार्थक हुनेथियो ।

प्रकाशित : वैशाख ४, २०७५ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT