कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बूढीगण्डकी र पश्चिम सेती परियोजनाको अध्ययन गरेर उपयुक्त निर्णय गरिनेछ’ 

चेतनाथ आचार्य

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बूढीगण्डकी र पश्चिम सेती परियोजनाबारे अध्ययन गरेर उपयुक्त बाटो अवलम्बन गर्ने बताएका छन् । ६ दिने औपचारिक भ्रमणक्रममा बेइजिङमा रहेका ज्ञवालीले कान्तिपुरसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘बूढीगण्डकी र पश्चिम सेती परियोजनाको अध्ययन गरेर उपयुक्त निर्णय गरिनेछ’ 

बेइजिङस्थित नेपाली दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट फाइदा लिन नेपाल अग्रसर हुने र चिनियाँ रेललाई केरुङ हुँदै नेपाल लैजाने तयारीबारे कुरा हुने बताए । तपाईंको भ्रमण प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारी हो भन्ने जिज्ञासामा उनले हरेक सद्भाव भ्रमणको उद्देश्य दुईपक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गराउनेमै केन्द्रित रहने धारणा राखे ।


मंगलबार मध्याह्न बेइजिङ आइपुगेका ज्ञवालीले अपराह्न अरनिकोले निर्माण गरेको श्वेतचैत्य अवलोकन गरेका थिए । बुधबार बिहान उनले चीनका उपराष्ट्रपति वाङ छिसानसँग भेट गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति तथा उपराष्ट्रपतिको निवास रहेको चोङनानहाइमा उनले वाङसँग भेट गर्नेछन् । वाङलाई चीनमा शक्तिशाली नेता मानिन्छ ।


समकक्षीसँग भेट गरेर मात्र स्टेट लिडरसँग भेट गर्ने प्रचलनभन्दा फरक यसपटक उपराष्ट्रपति वाङसँग भेटेर मात्र समकक्षी वाङ यीसँग ज्ञवालीले भेट्ने छन् । उपराष्ट्रपतिलाई चोङनानहाइमा भेट गरेपछि आफू बसेकै ठाउँ चिनियाँ स्टेट गेस्टहाउस त्याउथाइमा चिनियाँ समकक्षीसँग ज्ञवालीले भेट गर्ने कार्यक्रम छ । उक्त भेटपछि संयुक्त पत्रकार सम्मेलन गरिनेछ । परराष्ट्रमन्त्री ज्ञवाली चिनियाँ रिफर्म फोरमले आयोजना गर्ने एक गोष्ठीमा बिहीबार सहभागी हुनेछन् । यसका निर्देशक च्या ली नेपालसँग घनिष्ट सम्बन्ध भएका बुद्धिजीवी मानिन्छन् ।


दूतावासको स्वागत कार्यक्रममा ज्ञवालीले केपी ओलीका मुख्य भाषणको चिनियाँ भाषामा अनुूदित पुुस्तक विमोचन पनि गरे । उक्त पुस्तक सिचुवान विश्वविद्यालयकी प्रोफेसर ली तावोले अनुवाद गरेकी हुन् ।

प्रकाशित : वैशाख ४, २०७५ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?