कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्ना अभियान: सामुदायिकमा विद्यार्थी घट्दै

राजेन्द्र मानन्धर

दोलखा — भीमेश्वर नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहे पनि शिक्षकको संख्या बढदो छ । पहुँचवाला शिक्षकले नेतृत्व गर्ने विद्यालयमा त झन् शिक्षक आवश्यकताभन्दा निकै बढी छन् । नगरभित्रका प्राथमिक विद्यालयमा एक जना शिक्षकको भागमा औसतमा ९ जना विद्यार्थी छन् ।

भर्ना अभियान: सामुदायिकमा विद्यार्थी घट्दै

तर पनि शैक्षिक गुणस्तर भने चित्तबुझदो नभएर अभिभावकले आफ्ना बच्चालाई निजी विद्यालयमा भर्ना गर्छन् । जिल्ला शिक्षा कार्यालयले हातहातै पुस्तक दिएर विद्यार्थी भर्नाका लागि सामुदायिक विद्यालयमा आमन्त्रण गरे पनि अभिभावक निजीतिरै गइरहेको देखिन्छ ।


भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण घट्नुको प्रमुख कारण शिक्षक भएको बताए । नगरले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि नि:शुल्क पोसाक वितरण अभियान सुरु गरेको छ । केसीले भने, ‘भीमेश्वर नगरभित्रका सामुदायिक विद्यालयमा शिक्षकको ओइरो छ भने निजी विद्यालयमा विद्यार्थीको ।’ केही दिनअघि साखिने निम्न माध्यमिक विद्यालय भवनको उद्घाटन गर्ने क्रममा भीमेश्वरका मेयर केसीले शिक्षकले मिहिनेत र आफ्नो गुणस्तरीयता कायम नगरे विकल्प खोज्नसमेत चेतावनी दिएका थिए ।


करिब ४० हजार जनसंख्या रहेको भीमेश्वर नगरमा ४४ वटा प्राथमिक विद्यालय छन् । विद्यालयमा शिक्षकको संख्या २ सय ३२ छ । तथ्यांकअनुसार त्यति संख्याको शिक्षकले सामुदायिक विद्यालयमा २ हजार ९ सय ४ विद्यार्थीलाई पढाउँछन् । जिल्ला शिक्षा कार्यालयका अनुसार नगरभित्र १२ वटा निजी विद्यालय छन् । कक्षा १ देखि ५ सम्मको भर्नादर हेर्दा निजीले सामुदायिक स्कुललाई उछिनिरहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकले देखाउँछ ।


कक्षा बिस्तार तथा अपग्रेडका लागि उपत्यका तथा तराईमा ५० विद्यार्थी एउटा कक्षामा हुनुपर्छ । पहाडमा ४५ तथा हिमाली जिल्लामा एउटा कक्षाकोठामा ४० विद्यार्थी हुनुपर्ने व्यवस्था छ । तर नगरभित्रका विद्यालयहरू एउटा कक्षामा सरदर ९/१० जना विद्यार्थी हुन्छन् ।


जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार भीमश्वर ८ स्थित पृथ्वीनारायण आधारभूतमा प्रावि तहका १ देखि ५ कक्षामा ५९ जना विद्यार्थी छन् । विद्यालयमा ७ जना शिक्षकको दरबन्दी छ । माथिल्लो माटी आधारभूत विद्यालय प्रावि तहमा ३३ जना विद्यार्थी पढाउन ६ शिक्षक छन् ।


नगरभित्र २० विद्यार्थी पनि नभएको ८ विद्यालय छन् । ती आठ विद्यालयका जम्मा विद्यार्थी १ सय ५० छन् । तर शिक्षकको संख्या भने २६ छ । ती विद्यालयमा ५ विद्यार्थी बराबर औसत १ शिक्षक पर्छन् । शिक्षाका एक कर्मचारीको भनाइमा सिकाइ र उपलब्धिको मापनमा उक्त विद्यालयका विद्यार्थीहरू नै कमजोर पाइएको छ ।


नगरभित्रका १८ प्राविमा ४ सय ५५ विद्यार्थी छन् । उनीहरूका लागि ६५ जना शिक्षक छन् । यो अनुपातले ७ विद्यार्थीलाई १ शिक्षकले पढाइरहेका छन् । विद्यालय शिक्षा व्यवस्थापनको जिम्मेवारी आएसँगै अनावश्यक विद्यालय गाभ्ने र शिक्षकहरू समायोजन गर्ने भीमश्वर नगरपालिकाले योजना बनाइरहेको छ ।


जम्मा ११ जना विद्यार्थी भएको नगरको वडा नं १ स्थित बोसिम्पा प्राविमा २ जना शिक्षक र कार्यालय सहायक छन् । जहाँ कक्षा १ देखि ३ सम्म पढाइ हुन्छ । छात्राहरू मात्रै अध्ययन गर्ने पशुपति कन्या माविको प्रावि तहमा ८२ जना विद्यार्थीका लागि ९ शिक्षक छन् । चेतनशील प्रावि जिलुमा २८ विद्यार्थीका लागि ४ शिक्षक छन् । कुप्रीडाँडा आधारभूत विद्यालय प्राविमा २३ जना विद्यार्थी छन् । त्यहाँ ४ जना शिक्षक छन् । सर्व मावि जिलुको प्रावि तहमा ५४ जना विद्यार्थी छन् । यी विद्यार्थीका लागि ८ शिक्षक छन् । बूढाभीमसेन प्राविमा ८१ जनाका लागि ७ शिक्षक छन् ।


कालिञ्चोकमा २ सय २ विद्यार्थीका लागि १३ शिक्षक छन् । महेन्द्रोदय माविका ६४ जनाका लागि ६ र महांकाल प्रावि चोथाङमा ३८ जनाका लागि ४ शिक्षक छन् । सुर्के मावि भण्डारेमा ६५ जनाका लागि ५, राकुलेश्वरमा ४४ जनाका लागि ५ जना र तिखातल प्राविमा ४८ जनाका लागि ६ जना शिक्षक छन् ।

प्रकाशित : वैशाख ५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?