कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामूहिक बलात्कारपछि हत्या प्रकरण: ४६ दिन बितिसक्दा समेत पक्राउ परेनन् हत्यारा

हत्यारा पक्राउ नगरेकाेप्रति अाफन्तद्वारा आपत्ति
अर्जुन राजवंशी

दमक — सामूहिक बलात्कारपछि हत्या गरेको डेढ महिनासम्म हत्यारा पत्ता नलागेको भन्दै मोरङ मधुमल्लाको एक परिवारले आन्दोलनको चेतावनी दिएको छ । 

सामूहिक बलात्कारपछि हत्या प्रकरण: ४६ दिन बितिसक्दा समेत पक्राउ परेनन् हत्यारा

मिक्लाजुंङ गाउँपालिका–७ मधुमल्लाकी ४४ वर्षीया शान्तिकुमारी तामाङको हत्यारालाई अझैसम्म पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ । पीडित परिवारले बुधबार दमकमा पत्रकार सम्मेलन गरी तत्काल हत्यारा पक्राउ गर्न स्थानीय प्रशासन समक्ष पुन: माग गरेको छ ।


परिवारले डेढ महिना बितिसक्दा समेत हत्यारा पक्राउ पर्न नसक्नु प्रशासनको लाचारी भएको बताए । उनीहरुले अबपनि हत्यारा पक्राउ नपरे प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए । मृतककी भदैनी रेणुका राईले हत्यारा पक्राउ गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रशासनले बेवास्ता गरेको आरोप लगाइन ।


उनले भनिन, ‘हामी कमजोर परिवारको भएकैले घटनाप्रति प्रहरीले गम्भीरता देखाएनन् । यतिका समयसम्म हत्यारा पक्राउ नगरेर घटनालाई दबाउन खोजेको देखिन्छ ।’ उनले घटनालाई कमजोर बनाउन प्रहरी प्रशासनको गतिविधिले आशंका जन्माएको बताइन् ।


हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट केही व्यक्तिलाई पक्राउ गरेपनि तत्कालै छाडेकोप्रति परिवारले आपत्ति जनाएको छ । दाजु भविराज राईले आन्दोलन गरेर भएपनि हत्यारालाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए । उनले आफ्नै गाउँमा बहिनीको निर्मम हत्या भएकाले गाउँलेहरु अझै त्रसिद भएर बस्नु परेको बताए ।


उनले हत्यारा सार्वजनिक नहुँदासम्म गाउँलेले सुरक्षित तथा पीडित परिवारले राहत महसुस नगर्ने बताए । उनले भने,‘डेढ महिनासम्म हामीले अरु कुनै काम राम्ररी गर्न पाएका छैनौँ । प्रहरीले हत्यारा खोज्दैछौँ भनेकोले हत्यारा पक्राउ पर्ने आशामा बसिरहेका छौँ । तर, अहिलेसम्म कुनै प्रगति भएको देखिदैन । ’ स्थानीय नगेन्द्रकुमार लामिछानेले दबाब नपुगेकाले घटनाप्रति प्रहरी प्रशासन गम्भीर नबनेको आरोप लगाए । उनले कानुनी राज्यमा डेढ महिनासम्म हत्यारा पक्राउ पर्न नसक्नु आम जनताको लागि चिन्ताको विषय भएको टिप्पणी गरे ।


४६ दिनअघि फागुन १९ गते राति आफ्नै गाउँमा शान्तिकुमारीको हत्या भएको थियो । सामूहिक बलात्कारपछि ढुंगाले कुच्याएर शान्तिकुमारीको शव निर्वस्त्र अवस्थामा गाउँकै राम्री खोला किनारमा भेटिएको थियो ।


घटनालगत्तै अनुसन्धानका लागि भन्दै स्थानीय प्रहरी प्रशासनले केही व्यक्तिलाई सोधपुछ गरेपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले भने घटनाबारे अनुसन्धान गर्ने क्रम जारी रहेको बताए । उनले अहिलेसम्मको अनुसन्धानबाट घटना स्थानीयबासीबाटै भएको देखिएको बताए । ‘घटनाप्रति गम्भीर नभएको भन्ने आरोप निराधार छ । हामी निरन्तर अनुसन्धानमा जुटिरहेका छौं’ थापाले भने,‘केही टेक्निकल अनुसन्धान पनि गर्नुपर्ने भएकाले हामी त्यसतर्फ जुटिरहेका छौँ ।’ उनले केही ढिला भएपनि हत्यारा पत्ता लगाउनेमा कुनै आशंका नगर्न विश्वस्त दिलाए ।


शान्तिकुमारी हत्याको विषयलाई लिएर प्रदेश नम्बर १को प्रदेशसभा बैठकमा प्रदेश सांसद कुशल लिम्बूले घटनाको अनुसन्धान गर्न र दोषीलाई पक्राउ गर्न माग गरेका थिए ।

प्रकाशित : वैशाख ५, २०७५ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?