१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

रासस

काठमाडौँ — सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । 

गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ ।

उस्तै साझा प्रश्नका आधारमा अध्ययन गरिएकामध्ये राष्ट्रिय औसत सबै विषयको ५०० निर्धारण गरी तुलना गरिएको सो नजितामा नेपाली विषयमा सामान्य सुधार देखिए पनि गणित र विज्ञानमा सिकाइस्तरमा ह्रास आएको छ ।


केन्द्रले सन् २०१३ मा गरेको परीक्षणमा नेपाली विषयमा ४ सय ९५ औसत सिकाइ उपलब्धि रहेकामा यो पटक ५ सय ४ देखिएको छ । गणितमा अघिल्लो परीक्षणमा ५ सय ८ रहेकामा हाल घटेर ४ सय ९२ र विज्ञानमा ५ सय २ बाट केही घटेर ४ सय ९९ औसत सिकाइ उपलब्धि देखिएको केन्द्रका प्रमुख डा लेखनाथ पौडेलले जानकारी दिए ।


सरकारले दातृ निकायसमेतको सहयोगमा सञ्चालन गरेको विद्यालय क्षेत्र विकास कार्यक्रमको मुख्य लक्ष्य विद्यालय शिक्षाको गुणस्तर सुधार्ने रहेको सन्दर्भमा केन्द्रको प्रतिवेदनले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल नआएको पुनः पुष्टि गरेको छ । केन्द्रले शैक्षिक सत्र २०६८ देखि नियमितरुपमा यस्तो परीक्षण गर्दै आएको छ ।


बिहीबार सार्वजनिक प्रतिवेदनमा तह १ देखि ६ सम्म निर्धारण गरिएको छ । अध्ययनमा सबैभन्दा कमजोर र सबैभन्दा उत्कृष्ट विद्यार्थीको प्रतिशत कम तर सरदर जान्ने विद्यार्थीको प्रतिशत बढी देखिएको छ. ।

तह ६ आउनेलाई सबैभन्दा उत्कृट मानिएको सो अध्ययनमा नेपाली विषयमा तह १ मा शून्य दशमलव पाँच, तह ४ मा ५६ दशमलव चार र तह ६ मा शून्य दशमलव दुई प्रतिशत विद्यार्थी देखिएका छन् । गणितमा तह ४ मा ३८ दशमलव ८ र विज्ञानमा तह ४ मा ३८ दशमलव ९ प्रतिशत विद्यार्थी छन् ।


नमूना छनोटका आधारमा सातै प्रदेशका २६ जिल्लाका एक हजार ९ सय ५० विद्यालयका ४६ हजार २ सय ६६ विद्यार्थीमा गरिएको परीक्षणमा उक्त तीन विषयमा छात्रभन्दा छात्राको सिकाइस्तर केही माथि देखिएको छ भने सामुदायिक विद्यार्थीको तुलनामा निजी विद्यालयका विद्यार्थीको स्तर माथि देखाइएको छ ।


प्रतिवेदनअनुसार नेपालीमा प्रदेश नं २, गणितमा प्रदेश नं ६ र विज्ञानमा प्रदेश नं १ का विद्यार्थीको उपलब्धि सबैभन्दा कमजोर पाइएको छ । प्रमुख डा पौडेलले शिक्षकले कक्षा कोठामा पर्याप्त समय नदिँदा पनि उपलब्धि कमजोर देखिएको बताए ।


मन्त्रालयका सचिव खगराज बरालले सरकारले सुधारका लागि लगानी गर्दा गर्दै किन सिकाइ उपलब्धि माथि आउन नसकेको हो भन्ने बारेमा थप अध्ययन गर्न प्रतिवेदनले प्रेरित गरेको बताए ।

प्रकाशित : वैशाख ६, २०७५ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?