कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चिनियाँ बुद्धिजीवी भन्छन्–‘एमाले–माओवादी एकता चाँडै होस्’

कतिपय गैससले नेपाली समाज विभाजित गर्ने र चीनसँगको सम्बन्धमा आँच पुग्ने गतिविधि गरेका छन्
चेतनाथ आचार्य

बेइजिङ — चिनियाँ बुद्धिजीवी एवम् पूर्वकूटनीतिज्ञहरूले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

चिनियाँ बुद्धिजीवी भन्छन्–‘एमाले–माओवादी एकता चाँडै होस्’

‘पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छु । यो राजनीतिक विजयलाई दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक विकासमा अगाडि बढ्नेछन् भन्ने आशा गर्दछौं,’ चिनियाँ बुद्धिजीवी छङ सिचोङले भने, ‘एमाले र माओवादी केन्द्रका बीचमा चाँडै एकता हुनेमा हामी आश्वस्त छौं ।’

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चिनियाँ बुद्धिजीवीले चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष यस्तो धारणा राखेका हुन् । छङसहितका बुद्धिजीवीले केही सामाजिक, आर्थिक तथा राजनीतिक प्रवृत्ति र गैरसरकारी संस्था नेपालको विकासमा अवरोध बनेको भन्दै आलोचनासमेत गरेका थिए ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रमुख अतिथि बनाएर ‘चाइना रिफर्म फोरम’ ले बिहीबार बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध र बीआरआई’ शीर्षकको सेमिनारमा उनीहरूले त्यस्तो धारणा राखेका हुन् । चिनियाँ बुद्धिजीवी छङले नेपालमा कानुन कार्यान्वयन पक्ष फितलो रहेको औंल्याउँदै भने, ‘विगत लामो समयसम्म नेपाल सामाजिक अस्थिरता, असंख्य प्रदर्शन र गतिविधिका कारणले आक्रान्त बनेको छ । यो अवस्था चाँडै परिवर्तन हुनेछ र नेपाल सरकारले कानुन कार्यान्वयन गर्दै ल एन्ड अर्डर कायम राख्ने हाम्रो अपेक्षा छ ।’

छङ काठमाडौंस्थित चिनियाँ दूतावासमा सैनिक सहचरीका रूपमा सात वर्षभन्दा लामो समय बिताएर तीन वर्षअघि बेइजिङ फर्केका हुन् । चीन र भारतको बीचमा रहेको नेपालको भूराजनीतिक महत्त्व रहेको उल्लेख गर्दै उनले दक्षिण र पश्चिमका शक्तिहरूले आआफ्नो स्वार्थपूर्ति गर्नका लागि नेपालमा अनावश्यक हस्तक्षेप गरिरहेको दाबी गरे । नेपालमा दसौं हजार गैरसरकारी संस्था रहेका र नेपाली समाजलाई विभाजित गर्ने मुख्य काम नेपालका गैरसरकारी संस्थाहरूले गरिरहेको भन्दै छङले भने, ‘कतिपय गैरसरकारी संस्थाका क्रियाकलापले चीन र नेपालबीचको सम्बन्धमा समेत आँच पुग्ने गतिविधि गरिरहेका छन् । यसबारे चीन जानकार छ । नेपाल सरकार पनि जानकार छ ।’

सेमिनारका सञ्चालक चाइना रिफम फोरमका कार्यकारी निर्देशक मा च्यालीले नेपाल–चीन सम्बन्ध विवादरहित ढंगले विकासमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । नेपालका लागि पूर्वचिनियाँ राजदूत ली तप्यावोले नेपाल र चीनको सम्बन्धलाई पश्चिमा वा अन्य कुनै शक्तिले चलाउन नहुने बताए । चीनको वाणिज्य तथा लगानी अनुसन्धानअन्तर्गत वैदेशिक आर्थिक संस्थाका निर्देशक वाङ हाइफङ, पेकिङ विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धकी प्रोफेसर हान हालगायतले नेपाल विकासको चरणमा प्रवेश गरेको र उसले अब कानुनी शासनको पालना गराउँदै समृद्धिका लागि काम गर्नुपर्ने बताए ।

सेमिनारमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीच सहकार्यका पाँच क्षेत्र औंल्याएका थिए । नेपाल र चीनबीच यातायात सञ्जालको विकास पहिलो प्राथमिकतामा रहेको उनले बताए । उनले सडकमार्ग, रेलमार्ग र हवाईमार्गमार्फत

दुई देशको अरू घनिष्ठतामा आफूहरूले जोड दिएको बताए । त्यसैगरी उनले कृषि, उद्योग र प्रविधि हस्तान्तरणलाई दोस्रो बुँदामा प्रस्तुत गरे ।

नेपाल कृषिप्रधान देश रहेको र नेपालको कृषि उद्योगको विकासमा चिनियाँ प्रविधिको माग उच्च रहेको बताए । नेपालको मानव संसाधन ‘भर्जिन’ रहेको भन्दै यसको सशक्तीकरणमा चीनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको तेस्रो बुँदा उनले उल्लेख गरे । चौथो बुँदामा प्राकृतिक स्रोतको विकास, पर्यटन, सांस्कृतिक विविधतालगायत क्षेत्रमा चिनियाँ पुँजी र प्रविधिको प्रयोग गर्न नेपाल आतुर रहेको स्पष्ट पारे । उनले व्यापार तथा लगानीलाई बीआरआईको फ्रेमवर्कभित्र राखेर नेपालले चीनसँग सहकार्य गर्ने स्पष्ट किटान गर्दै परियोजना छनोट भइरहेको बताए ।

उनले नेपाल कुनै पनि छिमेकीविरुद्ध उपयोग नभएको र नहुने स्पष्ट पार्दै त्यसमा संलग्नलाई नेपालको कानुनले छुट नदिने समेत बताए । नेपालको परराष्ट्र नीति नै छिमेकबाट आरम्भ हुने हुनाले छिमेकसँगको सम्बन्ध र सहकार्य अन्यको तुलनामा बढी रहेको पनि बताए । उनले छिमेक, नेपाललाई सहयोग गर्ने मुलुक, नेपालीहरूलाई रोजगारी दिने मुलुक र विकसित मुलुकहरूसँगको सम्बन्धलाई आफ्नै तवरले फरक फरक ढंगबाट छलफल र सहकार्य गरेर अघि बढ्ने बताए ।

मन्त्री ज्ञवालीले आफ्नो लिखित मन्तव्य राखेपछि चिनियाँ बुद्धिजीवीहरूले नेपालसँगको सम्बन्धमा आफ्ना भनाइ व्यक्त गरेका थिए । कार्यक्रम आयोजक संस्था चाइना रिफम फोरम चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कुलमातहतको संस्था हो । यसमा नामुद विज्ञहरूले चीनको आन्तरिक र बाह्य नीति निर्माण गर्ने काम गर्छन् ।

परराष्ट्रमन्त्रीले चिनियाँ पर्यटकलाई नेपालमा न्यानो आतिथ्य रहने भन्दै एकपटक नेपाल भ्मण गर्नसमेत आग्रह गरे । बेइजिङको तीनदिने बसाइ सकेर ज्ञवालीको टोली सिचुवान प्रान्ततर्फ गएको छ । बेइजिङमा चीनका उपराष्ट्रपति र विदेशमन्त्री भेटेर उनले प्रधानमन्त्री केपी ओलीको आगामी भ्रमण तथा अन्य सहकार्यका बारेमा छलफल गरेका थिए । ज्ञवाली सिचुवानमा दुई दिन बसेर नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित : वैशाख ७, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?