३३४ गाउँपालिका स्वास्थ्य समूहविहीन हुँदै

भिषा काफ्ले

काठमाडौँ — सरकारले ल्याएको नयाँ कर्मचारी संरचना अनुसार कर्मचारी पदस्थापन गर्दा देशभरका तीन सय ३४ गाउँपालिका स्वास्थ्य समूहको कर्मचारी विहीन हुने भएका छन् ।

३३४ गाउँपालिका स्वास्थ्य समूहविहीन हुँदै

सरकारले तयार गरेको नयाँ संरचनामा २५ हजार भन्दा कम जनसंख्या भएका गाउँपालिकामा स्वास्थ्य समूहका कर्मचारीको दरबन्दी नतोकेपछि स्वास्थ्यका कर्मचारीविहीन हुने भएका हुन् । देशभर २५ हजार भन्दा कम जनसंख्या भएका तीन सय ३४ गाउँपालिका रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको सो संरचना १४ चैतको मन्त्रिपरिषद् बैठकबाट पारित भएको थियो ।


नयाँ संरचनामा दरबन्दी नतोकिएपछि हाल खटिएका स्वास्थ्य समूहका कर्मचारीको व्यवस्थापन पनि अन्यौल सिर्जना भएको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय तहको गठनसँगै प्रत्येक गाउँपालिकामा कम्तीमा २ जना स्वास्थ्य समूहका कर्मचारीलाई खटाएको थियो ।

मन्त्रिपरिषद्बाट पारित स्थानीय तह संरचनामा २५ हजार भन्दा कम जनसंख्या भएका गाउँपालिकामा स्वास्थ्य समूहका कर्मचारीको दरबन्दी छैन,’ स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशाशन महाशाखाका उपसचिव बाबुराम खनालले भने, ‘हामीले प्रत्येक स्थानीय तहमा कम्तीमा २ जना पठाएका छौं, ती कर्मचारीलाई के गर्नै भन्ने अन्यौल रहेको छ ।’


संरचना बनाउँदा स्वास्थ्य मन्त्रालयसँग समन्वय हुन नसक्दा स्वास्थ्यका यस्तो अवस्था आएको उनको भनाइ छ । सामान्यले बनाएको नयाँ संरचनालाई परिर्वतन गरी कम्तीमा १ जना स्वास्थ्य समूहका कर्मचारी रहनेगरी पुन प्रस्ताव गर्ने तयारीमा रहेको उपसचिव खनालले बताए ।

गाउँपालिकामा स्वास्थ्य समूहका कर्मचारी नयाँ कार्यक्रम तय गर्न र तिनलाई सञ्चालन गर्न अफ्ठ्यारो हुने उनको भनाइ छ । ‘स्वास्थय सेवालाई स्थानीय तहलाई जिम्मा दिएको छ, त्यहा नीति योजना तय गर्नदेखि लिएर अनुगमन तथा मूल्यांकनको लागि स्वास्थ्य समूहको कर्मचारीको आवश्यकता पर्छ,’ खनालले भने ।


सरकारको नयाँ प्रस्ताव अनुसार २५ सम्म जनसंख्या रहेका ३१ वटा नगरपालिकामा भने स्वास्थ्य समूहबाट सातौं वा आठौं तहका १ जना कर्मचारी रहने व्यवस्था छ । त्यसैगरी २५ देखि ५० हजार जनसंख्या रहेका १ सय ५१ नगरपालिकामा पनि सातौं वा आठौं तहका १, ५० देखि ७५ हजार जनसंख्या रहेकोमा सातौं वा आठौं तहको १ र पाचौं या छैटौं तहका १ जनाको दरबन्दी तय गरिएको छ ।

७५ हजार भन्दा माथि जनसंख्या रहेका २६ वटा नगरपालिकामा पनि सातौं वा आठौं १ र पाचौं र छैटौं तहका १ जना स्वास्थ्यका कर्मचारी रहनेछन् ।


११ वटा उपमहानगरपालिका र संघीय राजधानी नरहेको महानगरपालिकामा भने नवौं वा दशौं तहका १ जना, सातौं या आठौं तहका १ जना र पाचौं वा छैटौं तहका १ गरी ३ जना रहने व्यवस्था छ ।

संघीय राजधानी रहेको महानगरपालिकामा भने नवौं वा दशौं तहको १ जना र सातौं वा आठौं तहको १ जना गरी दुई जनाको मात्र दरबन्दी रहेको छ । नयाँ संरचना अनुसार देशभरीका सबै तहमा गरी स्वास्थ्य समूहका ५ सय ४६ मात्र दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०७५ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?