कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

परराष्ट्रमन्त्रीद्वारा सिचुवानमा ट्रान्स हिमालय क्षेत्रको विकासमा सहकार्यको प्रस्ताव 

चेतनाथ आचार्य

बेइजिङ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार चीनको छन्दूस्थित सिचुवान विश्वविद्यायमा नेपाल–चीन सम्बन्ध र ट्रान्स हिमालय क्षेत्रको विकास संभावना शीर्षकमा सम्बोधन गरेका छन्।

परराष्ट्रमन्त्रीद्वारा सिचुवानमा ट्रान्स हिमालय क्षेत्रको विकासमा सहकार्यको प्रस्ताव 

चीन भ्रमणको अन्तिम दिन उनले विश्वविद्यालयको प्राङ्गणमा उपस्थित दुई सयजति चिनियाँ विद्यार्थी र विश्वविद्यालयका प्रोफेसरहरुलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको हिमालय क्षेत्रको विकासमा नेपालले चीनसँग मिलेर काम गर्नका लागि विभन्न बुँदाहरु अगाडि सारेका छन् । ‘सबै नदीबाट समुद्रले पानी लिएजस्तै एउटा विद्वानले सबैका कुरा सुन्छ’ भन्ने चिनियाँ उक्ति व्यक्त गर्दै उनले मन्तव्य सुरु गरेका थिए ।


चीनको पश्चिममा पर्ने सिचुवान प्रान्तको सदरमुकाम छन्दू नेपालसँगको सम्बन्धमा विशेष महत्व राख्ने केन्द्र हो । चाइना एयरलाइन्सले यो सहरबाट नेपालमा सबैभन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउँदै आएको छ भने पछिल्लो समयमा नेपालमा लगानी गर्ने कम्पनीहरुमा सिचुवानबाट अधिक रहेका छन् । भौगोलिक तथा जलवायु आदिका कारणले पनि नेपालसँग मिल्दोजुल्दो भएकाले सिचुवानको जलविद्युत तथा कृषि विकासका अनुभव नेपालका लागि सबैभन्दा काम लाग्ने मानिँदै आएको छ । चीनले पछिल्लो समय चीन भ्रमणमा आएका नेपालका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुलाई सिचुवानको पनि भ्रमण गराउनुको मुख्य उद्देश्य यसको नेपालसँगको निकट सम्बन्ध नै हो । तीन वर्ष अगाडि नेपालको महाभूकम्पमा पनि सिचुवान प्रान्तले ठूलो सहयोग प्रदान गरेको थियो ।


मन्त्री ज्ञवालीले सिचुवान विश्वविद्यालयमा मन्तव्य दिने क्रममा सिचुवानको सदरमुकाम छन्दू ऐतिहासिक सिल्करोडको एउटा केन्द्र रहेको उल्लेख गर्दै छन्दूले इतिहासदेखि नै नेपाल, म्यान्मार, भारत र थाइल्याण्डलाई जोड्ने महत्वपूर्ण हबको काम गरेको बताए । सभ्यताको केन्द्र भौगोलिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छन्दूले हिमालय क्षेत्र पार गर्दै नेपालसँग सामाजिक र साँस्कृतिक रुपमा जोड्ने काम गरेको उनले बताए ।


ट्रान्स हिमालय रेशमी मार्ग र चिया घोडा मार्गले नेपालको मुस्ताङ र लुम्बिनीसम्म जोडेको बताउँदै नेपाल र चीनबीचको सहकार्य र सहयोग आदानप्रदानमा हिमालय क्षेत्र कहिल्यै पनि अवरोध नभएको मन्त्री ज्ञवालीले औँल्याए । नेपाली राजकुमारी भृकुटीको बिबाह तिब्बतका तत्कालीन सम्राटसँग भएको र नेपालबाट बौद्धधर्म चीनको तिब्बतमा प्रवेश गरेको भन्दै दुई देशबीचमा समान साँस्कृतिक सम्पदाहरु रहेको उनले बताए । अहिले पनि बेइजिङको लामा टेम्पल दुई देशबीचको सांस्कृतिक सम्बन्धमा जिउँदो इतिहासका रुपमा रहेको मन्त्री ज्ञवालीले जोड दिए । लामा टेम्पलमा कपिलबस्तुमा बनाएर ल्याइएको विश्वकै सबैभन्दा अग्लो काठको मैत्रेय बुद्धको मूर्ति रहेको छ । चिनियाँ बौद्ध गुम्बामा रहेका रन्जना लिपि भेटिनु र अरनिकोले बनाएको श्वेत चैत्य बेइजिङको बीचमा जीवन्त रहनुले पनि दुई देशबीचको ट्रान्सहिमालय सम्बन्ध प्राग ऐतिहासिक समयदेखि ज्वलन्त रहेको ज्ञवालीले बताए ।


हिमालय क्षेत्र नै चीनको पश्चिमी क्षेत्रलाई दक्षिण एसियासँग जोड्ने कडी रहेको भन्दै व्यापार व्यवसायदेखि सभ्यता र साँस्कृतिक आदानप्रदान गराउने काम यही ट्रान्स हिमालयले गरेको उनले बताए । आपसी सहयोगमा शान्ति र समृद्धिको प्रवर्द्धन गर्ने नेपालको आकांक्षा रहेको उनले स्पष्ट पारे । यसका लागि आपसी सन्जाललाई बिस्तार गर्ने र चीनसँगको व्यापार विस्तार गर्दै नेपाली निर्यात वृद्धि गरेर व्यापारिक सन्तुलन मिलाउने कुरा पनि उनले दोहोर्‍याए ।


मन्त्री ज्ञवालीले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई मार्फत नेपालले चीनसँगको समृद्ध सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई पुनर्जागरण गर्ने उल्लेख गरे । चीनसँग मिलेर वृहत शान्ति, समृद्धि र सदभाव विकास गर्दा नेपालले गौरववोध गरेको पनि उनले बताए । बीआरआईमार्फत नेपाल चीन क्रस बोर्डर सडक, रेल, तेल र सूचना राजमार्गसँगै उर्जा, हवाइ यातायात र ट्रासमिसन लाइनको विकास गर्ने कुरालाई उनले जोड दिए ।


चीनसँग क्रसबोर्डर रेलवे लाइन बनाउने कुरा नेपाल सरकारको प्राथमिक कार्य रहेको भन्दै हिमालय क्षेत्रको आर्थिक विकासमा नेपाल र चीनको सहकार्यको विकल्प नभएको पनि उनले औँल्याए । चिनियाँ प्रविधिको प्रयोगले नेपाली कृषि क्षेत्रले छलाङ मार्ने भन्दै नेपालको आर्थिक वृद्धिदरमा यसको महत्वपूर्ण प्रभाव रहने कुरामा उनले जोड दिए ।


चिनियाँ लगानीकर्ताहरुले नेपालमा लगानी गर्ने अवसरबाट आपसी फाइदा हुने भन्दै नेपाल सरकारले चिनियाँ लागनीको पूर्ण: सुरक्षा गर्न प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल र चीनबीचमा पर्यटन आपसी हितको अर्को महत्वपूर्ण क्षेत्र रहेको भन्दै सन् २०१८ को सुरुको तीन महिनामै ३६ हजार चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेको दृष्टान्तबाट अब नेपालमा सबैभन्दा धेरै पर्यटक जाने मुलुकमा चीन स्थापित हुँदै गरेको उनले बताए ।


मन्तव्य दिनु अगाडि उनले विश्वविद्यालयका चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालयका सचिव वाङ चियाङक्वोसँग दुई पक्षीय कुराकानी गरेका थिए । मन्तव्य राखिसकेपछि उनले त्यहाँ अध्ययनरत केही नेपाली विद्यार्थीहरुसँग अनौपचारिक छलफल पनि गरे । सिचुवानमा दुईसयभन्दा बढी नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । परराष्ट्रमन्त्री ज्ञवाली शनिबार बिहान चीन भ्रमण पूरा गरेर स्वदेश फर्कैछन् ।


प्रकाशित : वैशाख ७, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?