कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनसँग मिलेर काम गर्न आतुर छौं : परराष्ट्रमन्त्री

चेतनाथ आचार्य

बेइजिङ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिमालय क्षेत्रको विकासमा चीनसँग मिलेर काम गर्न नेपाल आतुर रहेको बताएका छन् । शुक्रबार चीनको छेन्दूस्थित सिचुवान विश्वविद्यालयमा ‘नेपाल–चीन सम्बन्ध र ट्रान्स हिमालय क्षेत्रको विकास संभावना’ शीर्षकमा धारणा राख्दै उनले त्यस्तो बताएका हुन् ।

चीनसँग मिलेर काम गर्न आतुर छौं : परराष्ट्रमन्त्री

चीन भ्रमणको अन्तिम दिन विश्वविद्यालयमा चिनियाँ विद्यार्थी र प्राध्यापकलाई सम्बोधन गर्दै ज्ञवालीले दुई देशबीचको हिमालय क्षेत्रको विकासमा चीनसँग मिलेर काम गर्नका लागि विभिन्न बुँदाहरु अगाडि सारे ।


‘सबै नदीबाट समुद्रले पानी लिएजस्तै एउटा विद्वानले सबैका कुरा सुन्छ,’ भन्ने चिनियाँ उक्ति उद्दृत गर्दै उनले भने, ‘सिचुवानको सदरमुकाम छेन्दू ऐतिहासिक सिल्करोडको एउटा केन्द्र हो । छेन्दूले इतिहासदेखि नै नेपाल, म्यान्मार, भारत र थाइल्याण्डलाई जोड्ने महत्वपूर्ण हबको काम गरेको छ ।’ छेन्दूले हिमालय क्षेत्र पार गर्दै नेपालसँग सामाजिक र सांस्कृतिक रुपमा जोड्ने काम गरेको उनले बताए । ट्रान्स हिमालय रेशमी मार्ग र चिया घोडा मार्गले नेपालको मुस्ताङ र लुम्बिनीसम्म जोडेको बताउँदै ज्ञवालीले नेपाल र चीनबीचको सहकार्य र सहयोग आदानप्रदानमा हिमालय क्षेत्र कहिल्यै पनि अवरोध नभएको औँल्याए ।


नेपाली राजकुमारी भृकुटीको बिबाह तिब्बतका तत्कालीन सम्राटसँग भएको र नेपालबाट बौद्ध धर्म चीनको तिब्बतमा प्रवेश गरेको भन्दै दुई देशबीचमा समान सांस्कृतिक सम्पदाहरु रहेको उनले बताए । अहिले पनि बेइजिङको लामा टेम्पल दुई देशबीचको सांस्कृतिक सम्बन्धमा जिउँदो इतिहासका रुपमा रहेको मन्त्री ज्ञवालीले उल्लेख गरे । लामा टेम्पलमा कपिलबस्तुमा बनाएर ल्याइएको विश्वकै सबैभन्दा अग्लो काठको मैत्रेय बुद्धको मूर्ति छ । चिनियाँ बौद्ध गुम्बामा रन्जना लिपि भेटिनु र अरनिकोले बनाएको श्वेत चैत्य बेइजिङको बीचमा जिबन्त रहनुले पनि दुई देशबीचको ट्रान्सहिमालय सम्बन्ध प्राग ऐतिहासिक समयदेखि ज्वलन्त रहेको ज्ञवालीले बताए ।


उनले हिमालय क्षेत्र नै चीनको पश्चिमी क्षेत्रलाई दक्षिण एसियासँग जोड्ने कडी रहेको भन्दै व्यापार व्यवसायदेखि सभ्यता र सांस्कृतिक आदानप्रदान गराउने काम यही ट्रान्स हिमालयले गरेको बताए । आपसी सहयोगमा शान्ति र समृद्धि प्रवद्र्धन गर्ने नेपालको आकांक्षा रहेको उनले स्पष्ट पारे ।


यसका लागि आपसी सन्जाललाई बिस्तार गर्ने र चीनसँगको व्यापार विस्तार गर्दै नेपाली निर्यात वृद्धि गरेर व्यापारिक सन्तुलन मिलाउने कुरा पनि उनले दोहोर्‍याए । मन्त्री ज्ञवालीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत नेपालले चीनसँगको समृद्ध सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई पुनर्जागरण गर्ने उल्लेख गरे । बीआरआइमार्फत् नेपाल–चीन क्रस बोर्डर सडक, रेल, तेल र सूचना राजमार्गसँगै उर्जा, हवाइ यातायात र ट्रासमिसन लाइनको विकास गर्ने कुरालाई उनले जोड दिए ।


चीनसँग क्रसबोर्डर रेलवे लाइन बनाउने कुरा नेपाल सरकारको प्राथमिक कार्य रहेको भन्दै उनले हिमालय क्षेत्रको आर्थिक विकासमा दुई देशको सहकार्यको विकल्प नभएको पनि उनले औँल्याए । चिनियाँ प्रविधिको प्रयोगले नेपाली कृषि क्षेत्रले छलाङ मार्ने भन्दै नेपालको आर्थिक वृद्धिदरमा यसको महत्वपूर्ण प्रभाव रहनेमा उनले जोड दिए । चिनियाँ लगानीकर्ताहरुले नेपालमा लगानी गर्ने अवसरबाट आपसी फाइदा हुने भन्दै ज्ञवालीले नेपाल सरकारले चिनियाँ लागनीको पूर्ण: सुरक्षा गर्ने प्रतिवद्धता पनि जनाए । सन् २०१८ को सुरुको तीन महिनामै ३६ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको दृष्टान्तबाट अब नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रने मुलुकमा चीन स्थापित हुँदै गरेको उनले बताए ।

सिचुवानमा दुई सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । चाइना एयरलाइन्सले यो सहरबाट नेपालमा सबैभन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउँदै आएको छ भने पछिल्लो समयमा नेपालमा लगानी गर्ने कम्पनीहरुमा सिचुवानबाट अधिक छन् । भौगोलिक तथा जलवायुलगायतका कारणले पनि नेपालसँग मिल्दोजुल्दो सिचुवानको जलविद्युत तथा कृषि विकासका अनुभव नेपालका लागि सबैभन्दा काम लाग्ने मानिँदै आएको छ ।


चीनले पछिल्लो समय आफ्नो देश आएका नेपालका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुलाई सिचुवानको पनि भ्रमण गराउनुको मुख्य उद्देश्य यसको नेपालसँगको निकट सम्बन्धले गर्दा नै हो । तीन वर्ष अगाडि नेपालको महाभूकम्पमा पनि सिचुवान प्रान्तले ठूलो सहयोग गरेको थियो । परराष्ट्रमन्त्री ज्ञवाली शनिबार बिहान स्वदेश फर्कदैंछन् ।

प्रकाशित : वैशाख ७, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?