३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिदेशीय छोटो मार्ग आश्वासनमै

राजेन्द्र मानन्धर

लामाबगर (दोलखा) — हरेक पटक जिलेटिन पडकिएको आवाज सुन्दा लामाबगरवासीको आँशा पलाउन थाल्छ । उनीहरू केही मिटर भए पनि सडक तिब्बततिर लम्किएको ठान्छन् । ‘लामाबगर—चीन सडक निर्माण हुन्छ रे’ भन्ने सुन्न थालेको दशक भइसक्यो । स्थानीयले मिजार भनेर बोलाउने तेम्बाछिरिङ शेर्पा भन्छन्, ‘बर्सेनि बजेट आइरहेको छ, काम पनि भइरहेको छ, तर सडकको प्रगति भने फिटिक्कै देखिँदैन ।’

त्रिदेशीय छोटो मार्ग आश्वासनमै

लामाबगरबाट करिब ३२ किमि ट्रयाक खुल्ने हो भने यो सडक दुई छिमेकी चीन र भारत जोड्ने हालसम्मकै छोटो मार्ग हुन सक्छ । एक अध्ययनअनुसार सुरुङ मार्ग बनाउने हो भने करिब ९ किमिले नाका छुन्छ । करिब २ सय ६६ किमि सडकले चीन र भारत जोड्छ । करिब ५७ किलोमिटर सडकको ट्रयाक खुल्नेबित्तिकै त्रिदेशीय नाका जोड्न सक्ने अध्ययनले देखाएको छ ।


त्रिदेशीय महत्त्व राख्ने उक्त सडकका लागि ५ वर्षदेखि सरकारले बजेट विनियोजन गरिरहेको छ । काम सुस्त छ । खर्च हुन नसकेर रकम फ्रिज गएको गयै छ । डिभिजन सडक कार्यालयका प्रमुख अशोक तिवारीले भौगोलिक जटिलता र भूकम्पलगायत विपत्तिका कारण हालसम्म करिब दुई किलोमिटर जति मात्र ट्रयाक खुलेको बताए ।


नाका खोल्नुपर्छ भनेर प्रधानमन्त्रीदेखि चिनियाँ राजदूतहरूसम्मले पटकपटक लामाबगरमा आएर अठोट गर्दै आएका छन् । पछिल्लोपटक गत चैतको अन्तिममा आएका प्रधानमन्त्री केपी ओली ‘सुरुङ बनाएर भए पनि नाका खोल्नुपर्छ’ भनेर फर्किए । प्रधानमन्त्री ओलीको अठोटलाई स्थानीयले पत्याउन सकिरहेका छैनन् । यसअघि आएका प्रधानमन्त्रीहरूले पनि यसरी नै आश्वासन दिने गरेकाले विश्वस्त हुन नसकेको स्थानीयले बताए ।


प्रधानमन्त्री हुँदा झलनाथ खनाल माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शिलान्यास गर्न लामाबगरस्थित गोंगर आएका थिए । उनले पनि नाका जोड्ने विषय उठाए । स्थानीयका अनुसार ०६९ मा डा. बाबुराम भट्टराई र ०७३ मा पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीको हैसियतले नाकासम्म सडक पुर्‍याएरै छाड्ने आश्वासन दिए । यो यत्तिमै सीमित भएन । आश्वासनको शृंखला लामै छ । पूर्वप्रधानमन्त्री माधव नेपाल र शेरबहादुर देउवाले पनि यस्तै आश्वासन दिएर गए ।


‘बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूले नाका खोल्ने आश्वासन दिएका थिए, तर सडकको काम कछुवा गतिमै छ,’ तेम्बाछिरिङ भन्छन्, ‘नाका खुले व्यापारका दृष्टिले चीन, नेपाल र भारतसम्मको अत्यन्तै चर्चित नाका बन्न सक्छ ।’ चैत अन्तिममा प्रधानमन्त्री ओलीसँगै आएकी चिनियाँ राजदूतले पनि उक्त नाकाबारे चासो देखाएकी थिइन् ।


तातोपानी खुल्नुअघिसम्म लामाबगर नाका चालु अवस्थामा थियो । राम्रो राजस्व उठाउने भन्सार कार्यालयमध्येमै पथ्र्यो, लामाबगर नाका । सीमारक्षाका लागि चार दशकअघिसम्म भारतीय प्रहरीले पहरा दिइरहेको दृश्यलाई स्थानीय अझै पनि सम्झन्छन् । उक्त नाका नजिक तिब्बतका चर्चित सहर पर्ने भएकाले पनि प्राचीनकालदेखि आउजाउ र व्यापार विनिमय हुने गरेको अभिलेखहरूमा भेटिन्छ ।


मिलारेवी, मञ्जुश्री र भृकुटी पनि यसै मार्गबाट आउजाउ गर्थे । तिब्बत माइत भएकी लामाबगरकी कामी शेर्पाको भनाइमा लामाबगर र तिब्बती सीमाका गाउँ फलेक र कुतीसँग बिहे, मितेरी र अन्य साइनो कायमै छ । केही वर्षअघिसम्म चाडपर्वमा आवतजावत बाक्लै हुन्थ्यो । अहिले तिब्बततर्फ कडाइ गरिएकाले आउजाउ बन्द छ । दलाई लामा भेट्न भन्दै तिब्बतीहरू भागेर आउने गरेकाले चिनियाँ प्रशासनले सीमा पुल नै भत्काएको स्थानीयको दाबी छ ।


चीनको रेलमार्ग जोडिएको सिगात्से र भारतको ठूलो जनसंख्या ओगटेको पटना सहर जोड्न लामाबगर नाका सबैभन्दा छोटो पर्छ । सिगात्सेबाट तातोपानी र केरुङभन्दा लामाबगर नजिक पर्छ । पटना भिड्डामोड नाकाबाट करिब ९० किलोमिटर मात्रै टाढा छ ।


तर, यो मार्ग निर्माणमा सरकारले भने बर्सेनि कनिका जस्तो बजेट छुट्याउँदै आएको छ । चीन जोड्ने ९ वटा नाका खोल्ने सरकारी सूचीमा परे पनि राष्ट्रिय प्राथमिकतामा नपरेको चरिकोटस्थित डिभिजन सडक कार्यालयका एक कर्मचारीले बताए । ‘सरकार प्रमुखहरू आउँछन्, बोल्छन्, जान्छन् तर त्यसैका आधारमा उत्साहित भएर योजना बनाउँदा बेवास्ता हुन्छ,’ नाका खुलाउने अभियानमा निरन्तर दौडधुप गरिरहेका एक नेताले गुनासो गरे ।


गएका केही चुनावी अभियानमा लामाबगर आइपुगेका सबै नेताहरूले आफ्नो भाषणमा नाका खोल्ने आश्वासन छुटाएका थिएनन् । निर्वाचन जितेपछि प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, प्रदेशसभा सांसदहरू पशुपति चौलागाईं र विशाल खडका लामाबगरै पुगे । जितको खुसियाली बाँडदा उनीहरूले पनि नाका जोड्ने प्रतिबद्धता दोहोर्‍याए ।


राष्ट्रिय प्राथमिकताको माथिल्लो तामाकोसी आयोजनाको ड्यामसाइटबाटै सडक बन्ने भएकाले आयोजनाकै तर्फबाट सुरुङ मार्गबारे अध्ययन भएको थियो । ड्याममा पर्न सक्ने असरलाई मध्यनजर गर्दै करिब ९ सय मिटर सुरुङ निर्माण गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘अप्ठेरा चट्टानी पहाडभित्रबाट बाटो लादा नाका खोल्न पनि सहज हुनेछ ।’ तर उक्त प्रतिवेदनसहितको बजेट माग गरिएको फाइल करिब छ महिनादेखि अर्थ मन्त्रालयमा थन्किएको छ ।


चरिकोटस्थित डिभिजन सडक कार्यालयले अर्थ मन्त्रालयमा पेस गरेको फाइलमा डबल लेन सात मिटरको नौ सय ९२ मिटर सुरुङका लागि करिब ४० करोड लाग्ने अनुमान गरिएको छ । पहाड र चट्टान काटेर लप्चीसम्म करिब ३१ किलोमिटर ट्रयाकका लागि एक अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ । डिभिजन प्रमुख तिवारीका अनुसार करिब डेढ अर्ब भएमा नाका खुल्छ भने केरुङ र तातोपानी नाकाबाट तिब्बतको नेलम हुँदै सिगात्से सहर पुग्न पनि लामाबगर नाका नजिक पर्छ ।


लगानीका लागि ‘पर्ख र हेर’को अवस्था

दोलखा सदरमुकाम चरिकोटबाट लामाबगरसम्मको ६८ किलोमिटर सडकको निर्माण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले गरेको थियो । लामाबगरबाट ३२ किलोमिटर सडक खोल्न उक्त स्थानमा लाइसेन्स ओगटेर बसेका जलविद्युत् आयोजनाहरूले चाहेमा सम्भव छ ।


सरकारी तहका उच्च अधिकारीहरूले जलविद्युत् कम्पनीहरूले नै उक्त मार्ग खोल्न लगानी गर्नुपर्ने वताउँदै आएको सडक विभाग अन्तर्गतका कर्मचारी बताउँछन् । लामाबगरबाट सीमातर्फको नेपाली अन्तिम गाउँ लप्चेसम्म ५२ मेगावाटको अपर लप्चे, डुगर्डको १ सय ६० र सानिमा हाइड्रोको ५६ मेगावाट विद्युत् उत्पादन गर्ने लाइसेन्स जारी छ ।


लाइसेन्स ओगटेर बसेका ती कम्पनी सरकारले सडक निर्माण गरेपछि काम अघि बढाउने दाउमा छन् । ‘तामाकोसी आयोजनाले ६८ किलोमिटर सडक बनाउन हुने, उक्त तीन वटा आयोजनाले चाहीँ लाइसेन्स ओगटेर मात्रै वस्ने, सडकमा लगानी गर्न नहुने,’ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका एक उच्च अधिकारीले भने ।

प्रकाशित : वैशाख ७, २०७५ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?