कर्णालीमा सडक बहार

कालिकोट — सुर्खेत–जुम्ला सडकको ट्रयाक खुलेसँगै कर्णालीवासीका लागि कठिन युगको अन्त्य भयो । २०६३ चैत ३० बाट गाडी गुड्न थालेपछि स्थानीयका कष्टका दिन सकिए ।

कर्णालीमा सडक बहार

कर्णालीमा भोक, रोग र अभाव उस्तै छ तर सडकले यी सबै पीडा बिर्साइदिएको छ । सबैका मुहारमा उज्यालो छरिएको छ । एक जिल्लाबाट अर्को जिल्ला पुग्न होस् वा व्यापार व्यवसाय गर्न, सबैलाई जोड्ने काम सडकले नै गरेको छ ।

सडक खुलेपछि जीवनमा सबैभन्दा ठूलो खुसी मिलेको अनुभूति गरेका छन्, कालीकोटको खाँडाचक्र नगरपालिका ९, पांखाका तिलप्रसाद अधिकारीले । ‘पहिला दु:खैदु:ख थियो,’ उनले भने, ‘जब बाटो खुल्यो, सडकमा गाडी गुड्न थाले, विस्तारै सुखका दिन सुरु भए ।’ पहिला दु:ख गरेर लगाएको स्याउ, सिमी, आलु खेर जान्थ्यो । कहाँ लगेर बिक्री गर्ने भन्ने पीरलो हुन्थ्यो ।

‘अहिले यो समस्या छैन,’ उनले भने, ‘उत्पादित तरकारी, फलफूल मान्म बजार लगेर बिक्री गर्छौं ।’ पहिले बर्दियाको राजापुर बजारबाट एक बर्षका लागि नुन, मट्टितेल, कपडा, जुत्ताचप्पल र खाद्यान्न बोकेर ल्याउनुपर्ने बाध्यता थियो । घर आइपुग्न २२/२३ दिन लाग्थ्यो । अहिले अहिले डेढ दिनमै राजापुर पुगिन्छ । अधिकारीका अनुसार लेकतिर स्याउ प्रशस्तै हुन्छ । सडकले गर्दा बिक्रीमा समस्या छैन । बजार पुर्‍याएपछि किसानले राखेको मूल्यमै बिक्री हुन्छ ।

राजमार्गकै आडमा पसल राखेका खाँडाचक्र नगरपालिका–६ का ४८ वर्षीय प्रजापति चौलागाईं पनि दंग छन् । ४ वर्षअघि सुरु गरेको पसलबाट लत्ताकपडादेखि खाद्यान्नसम्म बिक्री गर्छन् उनी । बाटो हिँड्नेलाई चिया र खाजा खुवाउने सुविधा पनि उपलब्ध गराएका छन् । त्यही आम्दानीले १३ जनाको परिवार पालिएको छ । ‘पहिला सुर्खेतबाट १०/१२ दिन बोकेर सामान ल्याउनुपथ्र्यो,’ उनी भन्छन्, ‘अहिले मोटरबाटोले धेरै सुविधा भएको छ, बिहान ७ बजे गाडी चढे साँझ ५ बजे यहीँ आइपुगिन्छ ।’ चौलागाईंको घर वडा नम्बर ८ मा पर्छ ।

‘पहिला सुर्खेतबाट चिनी ल्याएर कुरुवाका हिसाबले बिक्री गरिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले किलोको हिसाबले बेचिन्छ, व्यापारीलाई फोनमा भन्नासाथ गाडीमा यही सामान ल्याइदिन्छन् ।’ जे चाहियो त्यही सामान पसलमै आइपुग्छ । उनका छोराछोरी कोही सुर्खेत छन् त कोही घरमै । पसलमा उनलाई पत्नी पद्मशिलाले सघाउँछिन् ।

‘यही आम्दानीले गुजारा चलिररहेको छ,’ पद्मशिलाले भनिन्, ‘सडक बनेपछि खानलाउन दु:ख छैन ।’ चौलागाईंको आडैमा मेडिकल खोलेका हरिप्रसाद आचार्य सडकले गर्दा बिरामीलाई उपचारमा सहज पहुँच भएको बताउँछन् । ‘दैनिक १/२ जना बिरामी उपचारका लागि आउँछन्,’ उनी भन्छन्, ‘आफूले सक्ने प्राथमिक उपचार गरिदिन्छु, नसकिने भए थप उपचारका लागि सुर्खेत, नेपालगन्ज जान सल्लाह दिन्छु ।’


आचार्यले मेडिकल सुरु गरेको ४ वर्ष भयो । उपचारका लागि कोही बोकिएर त कोही हिँडेर आउँछन् । पहिला जिल्ला अस्पतालै धाउनुपर्ने बाध्यता थियो । प्राथमिक स्वाथ्य केन्द्र पुग्न घन्टौं लाग्थ्यो । तर, अहिले बिरामी आफूले चाहेजस्तो अस्पताल जान पाएका छन् । ‘पहिला प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभए जिल्ला अस्पताल मात्रै विकल्प थियो,’ आचार्यले भने, ‘अहिले गाडी चलेपछि नेपालगन्ज, काठमाडौं, भारतसम्मका अस्पताल सहजै पुग्न सकिने भएको छ ।’

सुर्खेतको बांगेसिमलदेखि जुम्ला खलंगासम्म २ सय ३२ किमि छ । सडक निर्माण पूरा हुन दुई दशकभन्दा बढी लाग्यो । सुर्खेतदेखि दैलेख साईसम्म चिनियाँ कम्पनी र पछि सडक विभागले निर्माण पूरा गरेका हुन् । अप्ठ्यारो चट्टान फुटाएर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले लिएको थियो । कालिकोट र जुम्ला सिमाना नाग्मदेखि मुगुको गमगढीसम्म ९४ किमि सडक ट्रयाक सेनाले ०६८ सालमै खोलेको हो ।

सडक सुरक्षाका लागि सेफ्टी बार लगाइएको छ । विश्व बैंकको आर्थिक सहयोगमा ओटासिल कालोपत्रे सकिएपछि रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट (आरएसडीपी) को सहयोगमा पाइलटिङका रूपमा फलामे बार लगाइएको हो । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गमा लगाइएको सेफ्टी बारले हलुका सवारी, यात्रुवाहक बस तथा ढुवानी साधन भीरमा खसेर बजारिनबाट जोगाउनेछ ।

सडक साँघुरो भएकाले दुर्घटनाको जोखिम भने बढी नै छ । भीरको बाटो मनमा त्रास भए पनि स्थानीय बासिन्दा पीडा भुलेर गन्तव्य पुग्न पाएका छन् । उपभोग्य वतु घरगाउँसम्म सहजै ल्याउन पाएका छन् । ‘पहिला हिँडेर ६ दिनमा सुर्खेत पुग्नुपथ्र्यो,’ जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ का भक्तबहादुर बडुवालले भने, ‘अहिले त्यो समस्या छैन, चाहिएको सामान लोड गरेर घरमै ल्याउन पाइएको छ, गाडी चलेको चल्यै गर्छन्, २ दिनमै सुखे पुगिन्छ ।’

मोटरबाटो खुलेपछि सुर्खेत खजुराका देव बीसीले करिब ३५ लाख लगानीमा जिप किने । आफैं गाडी चलाएर सुर्खेतदेखि जुम्लासम्म यात्रु बोक्न थाले । ४ वर्षसम्म सशस्त्र प्रहरीमा रहेका उनी त्यहाँ पनि चालककै रूपमा काम गर्थे । सशस्त्र द्वन्द्वका कारण ०६२ सालमा जागिर छाडेपछि घरगाउँमै बसेर गाडी कुदाउन थालेका हुन् । गाडी चलाउन थालेको १७ वर्ष भए पनि सुर्खेतबाट भीरको बाटो छिचोल्दै जुम्ला पुग्न थालेको ७ वर्ष भयो ।

‘पहिला कालिकोटसम्म आउँथ्यौं, त्यस बेला सुर्खेतबाट जुम्ला पुग्न १४/१५ दिन लाग्थ्यो,’ उनी भन्छन्, ‘कतै अवरोध नभए अहिले एकैदिन जुम्ला पुग्छौं ।’ बीसी यात्रु बोकेर मुगुको रारा तालसम्म पुग्छन् । सर्वसाधारणको आउजाउ बढेको छ । सानो गाडीमा सुर्खेतबाट एकै दिन रारा पुग्न सकिन्छ । ठूलो गाडीमा २ दिन लाग्छ । फोरहिल जिप बढी चल्छन् । स्थानीयले बढी यात्रा बसमा गर्छन् । बाहिरबाट आउनेले जिप खोज्छन् ।

सुर्खेतबाट रारासम्म करिब ३ सय किमि छ । बीसीले महिनामा १५ दिन गाडी चलाउने पालो पाउँछन् । वर्षातको समयमा गाह्रो हुन्छ । सडकमै ढुंगा र पहिरो खस्छ । त्यति बेला बाटोमा खान बस्नकै समस्या हुन्छ । ‘यो राजमार्गमा गाडी चलाउन थालेको ७ वर्ष भयो,’ उनले भने, ‘सडक साँघुरो भए पनि गाडी थपिँदै गएका छन्, स्थानीयलाई सहर बजार आउजाउ गर्न
कुनै समस्या छैन ।’

दुर्घटना जोखिम उच्च
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक सञ्चालनमा आएयता साना–ठूला १ सय ६५ वटा दुर्घटना भइसकेका छन् । यात्रुवाहक बस, ट्याक्टर, मिनी टाटा, मिनी ट्रक र जिप दुर्घटनामा परेका छन् । सबैभन्दा बढी ८७ दुर्घटना कालिकोट खण्डमा मात्र भएका छन् । यहाँ पहाड काटेर सडक लगिएको छ । दैलेखमा ३१ र जुम्लामा २३ वटा दुर्घटना भए । अन्य दुर्घटना सुर्खेतको बांगेसिमलदेखि कल्याणकाँधसम्मको खण्डमा भएका छन् ।

सबै दुर्घटनामा गरी २ सय १३ जनाको मृत्यु भएको छ भने ३ सय ५२ जना घाइते भए । घाइतेमध्ये १ सयभन्दा बढी अपांग भएका छन् । अधिकांश दुर्घटना दैलेखको साइगाउँदेखि कालिकोटको राचुली छिडेनासम्मको ८८ किमि खण्डमा हुने गरेको प्रहरीले जनाएको छ । साँघुरो बाटो, मर्मत अभाव, धेरै मोड, पुराना गाडी र चालकको लापरबाहीले दुर्घटना हुने गरेको जिल्ला प्रहरीप्रमुख डीएसपी सुवासचन्द्र बोहोरा बताए ।

सबैभन्दा ठूलो दुर्घटना ०६६ चैत ५ गते कर्णाली राजमार्गको किटुभीरमा भएको थियो ।

त्यसअघि राजमार्ग निर्माणमा खटिएको सेनाको विकास निर्माण कार्यदलमाथि ०६२ साल साउन २३ गते पिलीमा माओवादीले आक्रमण गर्दा दुवैतर्फ गरी करिब १ सय जनाको मृत्यु भएको थियो । ६० सैनिकलाई माओवादीले अपहरण गरेर जाजरकोट पुर्‍याई पछि छाडिदिएको थियो ।

प्रकाशित : वैशाख ८, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?