१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मच्छड–धाम !

बाहिरबाट यहाँ आइपुग्नेहरू मच्छड आतंकले हैरान भएर प्रश्न गर्छन्, ‘यो जनकपुरधाम हो कि मच्छड–धाम ?’
अजित तिवारी

जनकपुर — एउटा मच्छडले एक पटकमा २ सय ५० वटा फुल पार्छ । र, आफ्नो जीवनकालमा यसले तीन पटक फुल पार्छ । एउटै मच्छडका ७ सयभन्दा बढी सन्तान हुन्छन् । मच्छडको बढ्दो प्रजननदरले अन्यत्र फरक नपर्ला, जनकपुरवासीलाई भने हैरान बनाएको छ । त्यसै मच्छड धेरै, त्यसमाथि बढेको बढ्यै । 

मच्छड–धाम !

तर, मच्छडलाई यतिबिघ्न पन्पिन र लार्भा पार्नमा भने जनकपुरवासी नै ‘सहयोगी’ बनिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, धनुषाका औलो तथा कालाजार फाँटका कर्मचारी अशेश्वर यादवका अनुसार जनकपुरमा जताततै थुप्रिएका फोहोर तथा नाला र सडकमा जमेको पानी नै मच्छडका निम्ति सुरक्षित ‘प्रसूति कक्ष’ हो । मच्छडलाई जनकपुरवासीले यी दुवै सुविधा मनग्य प्रदान गरेका छन् । त्यही कारण धार्मिक नगरी जनकपुरधाम ‘मच्छड–धाम’ झैं बनेको

छ । कतिपय त जनकपुरलाई मच्छडको ‘राजधानी’ नै भन्छन् ।

मच्छडसँग जोडिएका यी दुवै ‘उपमा’ जनकपुरले उसै गुथेको भने होइन । स्थानीय राजकुमार महतो जनकपुरलाई मच्छडमय बनाउनमा यहाँका स्थानीयको पनि भूमिका देख्छन् । ‘घरअगाडि नै फोहोर फ्याँक्ने, वरिपरि सरसफाइ नगर्दा मच्छड बढेको हो,’ सामाजिक कार्यकर्ता महतोले भने, ‘यसको निराकरणतर्फ कसैले ध्यान दिएनन् ।’

मच्छड धपाउन कोठाभित्र झुल, धुप, अगरबत्ती, इलेक्ट्रिक लिक्विड मेसिनलगायत जोरजाम गरिए पनि यहाँ यो परजीवीको संख्या बढ्दो छ । नियन्त्रणका लागि जनकपुर उपमहानगरपालिकाले मौसमी प्रयास पनि गरिरहेकै छ । तर फोहोर व्यवस्थापन र नालामा जमेको पानीको निकास नखोजिँदा मच्छड प्रकोप न्यून हुने छाँट छैन । गर्मी चढ्दै जाँदा बजारमा झुल र मच्छड रोक्ने अन्य औषधिजन्य वस्तुको बिक्री बढ्छ । साँझपख जनकपुरका अधिकांश पसलमा बाक्लो धूवाँ निस्कने धुप बालिन्छ । त्यही धूवाँले आँखा रातोपिरो पारेर पसलमा बस्ने बिक्रेता नै भएभरको फोहोर सडकमै फाल्छन् । र, फेरि मच्छडलाई निम्त्याउँछन् ।

गत साता जनकपुर घुम्न आएका विराटनगरका सञ्जीव चौधरी मच्छड आतंकबाट तर्सिएर आफन्तका घरमा बसेनन् । अलि सुरक्षित ठानेर होटलमै रात काटे । बिहान आफन्तको घर पुग्दा भने उनी होटल सञ्चालकलाई नै सराप्दै थिए । ‘बेडमा झुल पनि टाँगे, कोठामा इलेक्ट्रिक लिक्विड मेसिन पनि बाले,’ चौधरीले सुनाए, ‘तैपनि मच्छडले टोकेर सुत्नै दिएन ।’ रातभर मच्छडसँग जुधेका चौधरीको पीडा देखेर उनका आफन्तले जिस्क्याए, ‘कति वटा मच्छडले टोक्यो, गन्ती गर्नुपथ्र्यो नि । प्रदेश सरकारले पछि क्षतिपूर्ति दिन्छ ।’


जानकी मेडिकल कलेजका बिरामी आफैंले लगेको झुलभित्र ।

जिल्ला जनस्वास्थ्य कार्यालय, धनुषाको तथ्यांकले मच्छडको प्रकोप ‘रेला’ गर्ने खालको मात्र होइन, ज्यानमारा नै बनिरहेको देखाउँछ । गत वर्ष धनुषाको तुल्सीचौरा र गोदारमा मच्छडको टोकाइबाट मलेरिया महामारी नै फैलियो । यी दुई गाउँमा मलेरियाका ५५ बिरामी भेटिए । औलो तथा कालाजार फाँटका कर्मचारी यादवका अनुसार मलेरियाले महामारीकै रूप लिएपछि गाउँमा मच्छड नियन्त्रणका लागि औषधि छर्कियो । जनस्वास्थ्य कार्यालयकै तथ्यांकअनुसार यस वर्ष पनि धनुषामा मलेरियाका १५ बिरामी भेटिए । महोत्तरीको बर्दिबास, धनुषाको ढल्केबर र महेन्द्रनगरमा डेंगुका बिरामी देखिएपछि महामारी रोक्न औषधि र प्राविधिक खटिए ।

‘मच्छडबाट रोग फैलिन नदिन वर्षको दुई पटक औषधि छर्किइन्छ,’ यादवले कान्तिपुरसँग भने, ‘वैशाख–जेठ र साउन–भदौ दुई सिजन मच्छड नियन्त्रण गर्ने औषधि डेल्टा मेथ्रिन छर्किने गरिन्छ ।’ मच्छडले नै मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको धनुषाको १० गाउँमा जिल्ला जनस्वास्थ्य कार्यालयले सुपानेट झुलसमेत वितरण गरेको छ । ढल्केबर, हरिहरपुर, पुष्वलपुर, गोदार, तुल्सीचौरा, नक्टाझिझ, उमाप्रेमपुर, बरमझिया, नवटोली र बेंगाडाबरमा दुई व्यक्ति बराबर एउटा सुपानेट झुल बाँडिएको छ । मच्छडप्रतिरोधी डेल्टा मेथ्रिन औषधि प्रयोग गरेर बनाइएको सुपानेट झुलमा मच्छड बस्दा नै मर्छ । गर्भवतीलाई मच्छडबाट जोगाउन सरकारी स्तरमै वितरण थालिएको सुपानेट झुलको दुरुपयोग उत्तिकै छ ।

झुल ओढेरै प्रदर्शन

मच्छडले हैरान जनकपुरवासीले चैतको पहिलो साता झुल ओढेर अनौठो विरोध प्रदर्शन गरे । ५० जना युवाले १२ वटा झुल ओढेर जनकपुरलाई मच्छडमुक्त बनाउन माग गरे । दुई स्थानीय सामाजिक संस्थाले आयोजनामा झुल ओढेर गरिएको प्रदर्शनपछि उपमहानगरले सहरी क्षेत्रमा औषधि छर्कियो । सामाजिक कार्यकर्ता सुशील कर्णले जनकपुरवासी मच्छडबाट हैरान भए पनि जनप्रतिनिधिले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाए । ‘सहरमा मच्छडको आंतक नै छ,’ उनले भने, ‘फोहोर र मच्छडले जनकपुरवासी परेसान छन् तैपनि स्थानीय निकायले नियन्त्रणका लागि चासो देखाएका छैनन् ।’

जानकी युवा क्लबका अध्यक्ष बिटु पञ्जियारले प्रदेश २ को राजधानी बने पनि सरकारी निकाय र जनप्रतिनिधिले काम नगर्दा यो समस्याग्रस्त सहर बनेको आरोप लगाए । मच्छड नियन्त्रणमा उपमहानगरपालिकाले पनि मौसमी प्रयास मात्र गरिरहेको आरोप उनको छ ।

जनकपुरमा व्यवस्थित ढलनल निकास छैन । सहर फोहोरको डम्पिङ साइटझैं देखिन्छ । स्यार्र पानी पर्दा नै मुख्य बजार हिलाम्मे बन्छ । वर्षाको पानी हप्तौं जम्छ । चुनावका बेला फोहोर र मच्छडमुक्त सहर बनाउने वाचा गरे पनि जनप्रतिनिधिको चासो त्यसतर्फ नदेखिएको स्थानीय वीरेन्द्र कर्णको गुनासो छ ।

जनकपुर उपमहानगरपालिकाको कार्यालयसँग मच्छड नियन्त्रणकै लागि एक करोड रुपैयाँ बजेट छ । जनकपुर उपमहानगरका उपमेयर रीताकुमारी मिश्रले मच्छड नियन्त्रणका लागि छर्किएको औषधिले मानव स्वास्थ्यमै हानि पुर्‍याउन थालेकाले समस्या भएको बताइन् । ‘जनकपुरका सबै नाला र ढल खुला छन्, लार्भा मार्न औषधि र मोबिल प्रयोग गरिरहेका छौं,’ उनले भनिन्, ‘तैपनि मच्छड प्रकोप नियन्त्रणमा आएको छैन ।’

शय्यामा पनि झुल

गम्भीर बिरामी हुन् वा सामान्य, जनकपुरका अस्पतालमा शय्यामै झुल नटाँगे रात काट्नै मुस्किल पर्छ । जानकी मेडिकल कलेजको जनकपुर र ब्रह्मपुरीस्थित शिक्षण अस्पतालमा आकस्मिक तथा अन्य कक्षमा उपचाररत बिरामीको शय्यामा झुल झुन्डिएकै हुन्छ । अस्पताल अन्य ठाउँभन्दा सफा र परजीवीमुक्त हुनुपर्छ । जनकपुरका अस्पताल भने फोहोरकै कारण मच्छड र झिंगाले घेरिएका छन् ।

मेडिकल कलेजको शिक्षण अस्पतालमा आकस्मिक कक्षमा उपचाररत राजन श्रेष्ठ घरैबाट झुल लिएर आएका छन् । मच्छडले सुत्नै नदिएपछि शय्यामै झुल बाँधेको उनले सुनाए । महोत्तरीको पिपराबाट प्रेसरको उपचार गराउन आएका सहदेव साहले भने, ‘दिनमा पनि मच्छड लाग्छ, राति त सुत्नै दिँदैन ।’ बिरामी र कुरुवा दुवैलाई झुल चाहिन्छ, नत्र मच्छड धपाउँदै रात काट्नुपर्छ ।

बिरामी भेट्न मेडिकल कलेजको शिक्षण अस्पताल पुगेका जनकपुर–९ का विमलेश सिंहले मच्छड आतंकले बिरामीको स्वास्थ्यमा असर पारिरहेको बताए । ‘बिरामी निको हुन अस्पताल आउँछन्,’ सिंहले भने, ‘यहाँका अस्पताल आउनेलाई त मच्छडले टोकेर थप बिरामी परिएला भन्ने पीर छ ।’ जनकपुरको अञ्चल अस्पताल र दर्जन बढी निजी अस्पतालका बिरामी पनि राति शय्यामा झुल टाँगेरै सुत्छन् । अस्पतालका वार्डहरूको नियमित सफाइ नहुँदा मच्छड आतंक बढेको छ ।

जनकपुर अञ्चल अस्पतालका चिकित्सक विजय सिंहले सहरभरि फोहोर र दुर्गन्ध रहेकाले मच्छडको प्रकोपले सबै क्षेत्र तनावमा रहेको बताए । बिरामीको चाप बढिरहेकाले सफाइ गरिए पनि फोहोरमुक्त बनाउन नसकिएको उनले स्विकारे । ‘अस्पतालको नियमित सरसफाइ गरिए पनि मच्छड नियन्त्रण गर्न सकिएको छैन,’ उनले भने, ‘सहरै सफा नभएपछि नियन्त्रण गर्नै गाह्रो भो ।’ यद्यपि, कालो बादलमाथि चाँदीको घेरा भने देखिएको छ । अर्थात् जनकपुरलाई व्यवस्थित सहर बनाउन यहाँ ६ लेन सडक बन्दै छ । ढलनल निर्माण र भित्री सडक निर्माण जारी छ । जनप्रतिनिधिले आवश्यक चासो दिए जनकपुर फेरि ‘जनकपुर धाम’ मै फर्कने आस स्थानीयलाई छ ।

प्रकाशित : वैशाख ८, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?