३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बिरामीलाई गुणस्तरहीन खाना

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य सेवा र प्रशासनिक व्यवस्थापनमै कमजोर पाइएको छ । घोराही उपमहानगरपालिकाले शुक्रबार गरेको अनुगमनमा यस्तो भेटिएको हो ।

बिरामीलाई गुणस्तरहीन खाना

उपमहानगरपालिकाका १४ नम्बर वडाध्यक्ष एवं स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष शक्तिराम डाँगीका अनुसार अस्पताल हाताभित्रै फोहोरका थुप्रा राखिएको, ढल व्यवस्थापन नगरिएको, शौचालय असाध्यै फोहोर रहेको, बिरामीको बिस्तारा च्यातिएको, पर्याप्त पानी व्यवस्था नगरिएको जस्ता समस्या देखिएका छन् ।

‘अस्पतालमा निकै लापरबाही भेटियो, अरूलाई सरसफाइबारे सिकाउने निकायमै ढलको पानी यत्रतत्र बगिरहेको छ । चर्पीमा पानी छैन,’ उनले भने, ‘बिरामीहरू नाक थुन्दै चर्पी गइरहेको पाइयो ।’ अस्पतालको संस्थागत परिवार नियोजन क्लिनिकका सेवाहरू बन्द रहेको डाँगीले बताए । स्थायी बन्ध्याकरण, परिवार नियोजनका अस्थायी साधन वितरण र परामर्श गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको थियो ।

‘सेवाग्राहीले नदेख्ने ठाउँमा बोर्ड राखिएको छ । कोठा पनि भेटाउन सकिने अवस्थामा छैन । स्थायी बन्ध्याकरण सेवा त पूरै बन्द छ,’ उनले भने, ‘जनशक्ति, पूर्वाधार र आवश्यक उपकरणको अभाव देखिएको छ ।’

परिवार नियोजन क्लिनिककै लागि एक मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक अहेब, एक अनमी र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि खटाइएको छैन । ‘जनशक्ति नभएपछि भ्यासेक्टोमी, मिनिल्याप र सर्जिकल गर्भपतन सेवा पूर्णरूपले बन्द भएको छ,’ डाँगीले भने, ‘यसले गर्दा परिवार नियोजन सेवा लिन चाहनेलाई ठूलो समस्या भएको छ ।’ बन्द क्लिनिक सञ्चालन गर्न वडा कार्यालयले पहल गरिरहेको उनले जानकारी दिए ।

अस्पतालमा बिरामीलाई खुवाइने खाना र पकाउने ठाउँसमेत गुणस्तरीय नदेखिएपछि उपमहानगर प्रमुख नरुलाल चौधरीले तत्काल गुणस्तर कायम गर्न अस्पताल प्रशासन र ठेकेदारलाई निर्देशन दिएका छन् । ठेकेदार कम्पनी राजन निर्माण सेवाले वार्षिक २६ लाखमा खाना खुवाउने ठेक्का लिएको छ । ‘बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन । खाना पकाउने, भाँडा धुने र सुत्ने ठाउँ एकै स्थानमा छ,’ चौधरीले भने, ‘यस्तो साँघुरो ठाउँमा कसरी सरसफाइ हुन्छ ? दाउराले खाना पकाउँदा धूवाँले नजिकै रहेका बिरामीलाई समस्या भएको देखियो । यसलाई तत्काल अर्को ठाउँमा व्यवस्थापन गर्नुपर्छ ।’

अस्पतालमा चिकित्सक भनेको समयमा नभेटिने, चिकित्सकलाई सेवा दिन अनुरोध गर्दा झर्किने, गाली गर्ने र राति भिडियो एक्सरे जस्ता सेवा पाउन कठिन हुने गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । अस्पतालमा भइरहेको लापरबाहीप्रति कोही जिम्मेवार नदेखिएको उनको भनाइ छ । अस्पतालमा देखिएका समस्या समाधान गर्न र कमजोरी सुधार्न प्रशासन तयार रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रताप पोख्रेलले बताए । ‘हामी अस्पतालमा देखिएका समस्या सुधार्न तत्काल पहल गर्नेछौं । जनताका गुनासा सम्बोधन गर्न जिम्मेवार छौं,’ उनले भने ।

प्रकाशित : वैशाख ९, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?