कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नारायणी उपक्षेत्रीय अस्पतालको एम्बुलेन्स २ वर्षदेखि आफैं 'बिरामी'

भूषण यादव

वीरगन्ज — नारायणी उपक्षेत्रीय अस्पतालको सुविधासम्पन्न एम्बुलेन्स झन्डै दुई वर्षदेखि वीरगन्जको एक ग्यारेजमा थन्किएको छ । सवारी दुर्घटनामा क्षतिग्रस्त एम्बुलेन्स अस्पताल विकास समिति र कर्मचारीको गलत सम्झौताका कारण थन्किएको पाइएको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालको एम्बुलेन्स २ वर्षदेखि आफैं 'बिरामी'

उक्त एम्बुलेन्स पाकिस्तान सरकारले अनुदानमा दिएको थियो । अस्पतालको एम्बुलेन्स ग्यारेजमा थन्किँदा एकातर्फ बिरामीले चर्को मूल्य तिरेर निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् भने अर्कोतर्फ अस्पतालको आम्दानी पनि गुमिरहेको छ ।

सवारी दुर्घटना हुँदा गल्ती गर्ने सवारी धनीले क्षति पुगेको सवारी ग्यारेजमा लगेर मर्मत सम्भार गराइदिने वा मर्मतका लागि अनुमानित खर्च उपलब्ध गराइदिने सामान्य प्रचलन छ । तर, सरकारी एम्बुलेन्सको अगाडिको भाग कुँचिंदा अस्पतालका कर्मचारी र विकास समितिका सदस्यले गल्ती गर्ने पक्षसँग एम्बुलेन्स मर्मतका लागि नभई बिमा रकमका लागि सहमति गरेका छन् । दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालकले हालसम्म उपचार खर्च पनि नपाएको गुनासो गरेका छन् ।

०७३ वैशाख ३० मा बाराको अमलेखगन्जस्थित तीन नम्बर पुलमा ना३ ख १२४३ नम्बरको ट्रकले उपक्षेत्रीय अस्पतालको ना१झ ९४३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो । ट्रकमा सामान्य क्षति भए पनि एम्बुलेन्समा ठूलो क्षति पुगेको थियो । एम्बुलेन्सको अगाडिको भाग कुँचिएको थियो । सिसाले चालक विजय राउतको हात, शरीर र टाउकोमा चोट लाग्यो ।

९ दिन अस्पतालमा उपचार गराएर उनी घर फर्किए । चालक राउतका अनुसार गाडी मर्मत त टाढाको कुरा घाइते हुँदा उपचारमा लागेको खर्च पनि पाइएको छैन् । ‘बायाँ साइड च्यापेर जाँदै थिएँ,’ दुर्घटनाको दिन सम्झिँदै राउतले भने, ‘अचानक ट्रकले ठक्कर दियो, भगवानले मलाई बचाएँ, ठक्कर लाग्दा केहीबेर बेहोस भएको थिएँ ।’

सवारी दुर्घटनापछि अमलेखगन्ज प्रहरी चौकीले दुवै सवारी र कागजात नियन्त्रणमा लिएको थियो । जेठ १ मा दुवै पक्षबीच प्रहरी चौकीमा सहमति भएपछि सवारी र कागजात प्रहरीले फिर्ता गरिदिएको थियो । सहमति पत्रमा दुवै सवारीमा भएको क्षति आ–आफैंले बनाउने, घाइतेको पनि आफैंले उपचार गर्ने उल्लेख छ । बिरामी तथा एम्बुलेन्सको कागजपत्र, डकुमेन्ट पेस गरी मानिसको र एम्बुलेन्सको बिमा ट्रक पक्षले दाबी गरिदिने तथा तेस्रो पक्ष बिमाबाट आएको रकम पनि एम्बुलेन्सलाई उपलब्ध गराइदिने सहमति गरिएको छ ।

सहमति पत्रमा एम्बुलेन्स मर्मत खर्च उल्लेख गरिएको छैन । उक्त सहमति पत्रमा नारायणी उपक्षेत्रीय अस्पतालबाट सूचना अधिकृत रमेशप्रसाद चौधरी, वीरेन्द्र चौधरी, अशोक श्रीवास्तव र तत्कालीन अस्पताल विकास समितिका सदस्य सुदीप लामाले हस्ताक्षर गरेका छन् । यसैगरी ट्रक पक्षबाट नारायणी यातायात व्यवसायी संघका सचिव शालिकराम ढकाल र राजेश खड्कीले हस्ताक्षर गरेका छन् ।

बिमा दाबीका लागि अस्पताल प्रशासनले सम्पूर्ण कागजात यातायात व्यवसायीलाई बुझाएको लामो समय बितिसक्दा पनि हालसम्म रकम आएको छैन । नारायणी उपक्षेत्रीय अस्पतालका लेखापाल सुवोध यादवका अनुसार एम्बुलेन्स दुर्घटनाबापतको कुनै पनि क्षतिपूर्ति रकम प्राप्त भएको छैन ।

गलत नियतले गरिएको सहमतिकै कारण क्षतिपूर्ति रकम हालसम्म प्राप्त नभएको अस्पताल स्रोतको दाबी छ । ‘कुनै पनि दुर्घटना हुँदा गल्ती गर्ने सवारी पक्षधरले क्षति पुगेको गाडी मर्मत सम्भार गरिदिने प्रचलन रहँदै आएको छ,’ एक कर्मचारीले भने, ‘तर, अस्पतालको एम्बुलेन्स कुँचिंदा तत्काल मर्मत सम्भार नगराई बिमा रकमका लागि सहमति गरिएको छ ।’


वीरगन्जको लालबाबुको ग्यारेजमा थन्किएको उक्त एम्बुलेन्स मर्मतका लागि प्राविधिकले झन्डै ११ लाख रुपैयाँको अनुमानित खर्च लाग्ने अस्पताल प्रशासनलाई जानकारी गराएका छन् । सहमति पत्रमा हस्ताक्षर गर्ने अस्पतालका कर्मचारी अशोक श्रीवास्तवले एम्बुलेन्सको सम्पूर्ण कागजात पठाइए पनि यातायात व्यवसायी संघले हालसम्म रकम उपलब्ध नगराएको बताए । मर्मत खर्च नलिई किन बिमाका लागि सहमति गरेको भन्ने प्रश्न गर्दा श्रीवास्तवले भने, ‘त्यसबेला बनाइदिने भनेका थिए, तर बनाएनन् ।’

अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताले सरकारी अस्पतालमा आर्थिक अराजकता मौलाएको बताए । गलत व्यक्तिलाई कारबाही गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई लिखित रूपमै पत्राचार गरिएको उनले जनाए ।

प्रकाशित : वैशाख ९, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?