कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राजविराज विमानस्थल उडान भर्न तयार

पक्की धावनमार्ग, एप्रोन र ट्याक्सी–वे कालोपत्रे भएपछि वैशाख २० मा परीक्षण उडानको तयारी
अवधेशकुमार झा

राजविराज — लामो समयपछि राजविराज विमानस्थलको निर्माण कार्य पूरा भएको छ । पक्की धावनमार्ग, टावर मर्मत, एप्रोन र ट्याक्सी–वे कालोपत्रे भएपछि जहाज उड्ने र अवतरण हुने गरी तयार भएको हो ।

राजविराज विमानस्थल उडान भर्न तयार

सदरमुकाम राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा विमानस्थल निर्माण भएपछि जहाज चढ्ने सप्तरीवासीको वर्षौंको सपना पूरा भएको छ । एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा धावनमार्ग पक्की भएको छ । ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन र १ सय १० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सी–वे कालोपत्रे गर्ने कार्य सम्पन्न भएपछि स्थानीय उत्साहित भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण राजविराज विमानस्थल परियोजना प्रमुख रामएकवाल महतोका अनुसार विमानस्थल परीक्षण उडानका लागि तयारी अवस्थामा छ ।

उनले आगामी वैशाख २० गते बुद्ध एयरले परीक्षण उडान गर्ने गरी तयारी भइरहेको जानकारी दिए । ‘एक–दुई दिन यता–उता हुन सक्छ, तर वैशाख २० मै परीक्षण उडान गर्ने गरी तयारी गरेका छौं,’ महतोले भने, ‘परीक्षण उडानका लागि बुद्ध एयरको व्यवस्थापनसित कुरा अगाडि बढेको छ ।’

नियमित उडानका लागि भने अझै केही प्राविधिक विषय मिलाउनुपर्ने उनको भनाइ छ । पक्की धावनमार्ग, ट्याक्सी–वे र एप्रोन कालोपत्रे भइसके पनि अहिले टावरको मर्मत कार्य र धावनमार्गको मार्किङ गर्ने कार्य अन्तिम चरणमा रहेको महतोले जानकारी दिए । २०१६ मा तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै यो विमानस्थलमा सेवा बन्द भएको थियो । कच्ची धावनमार्ग तथा अन्य प्राविधिक समस्याका कारण पुन: सञ्चालनमा आउन सकेको थिएन ।

कच्ची धावनमार्ग र अन्य भौतिक पूर्वाधार निर्माण नहुँदा विमानस्थल गाईबस्तु चराउने गौचरनमा परिणत भएको थियो । पटक–पटक विमानस्थल निर्माणको मुद्दा अघि बढे पनि निर्माण कार्यले गति लिन सकेको थिएन । सप्तरीवासीको दबाबपछि सरकारले निर्माण कार्यलाई प्राथमिकतामा राख्दै बजेट छुट्याएपछि २०७३ मा टेन्डर भएको थियो । कामका लागि रमण, कान्छाराम, देव एण्ड सायर जेभीले नेपाल नागरिक उड्डयन प्राधिकरणसित सम्झौता गरेको थियो ।

सम्झौताअनुरूप ०७४ कात्तिक मसान्तभित्र विमानस्थलको काम सम्पन हुनुपर्ने थियो । तर निर्माण कम्पनीले नसकेपछि चैत मसान्तसम्म समय थपिएको थियो । धावनमार्गको कालोपत्रे गर्ने ‘हटमिक्स प्लान्ट’ बिग्रेपछि चैतको दोस्रो सातातिर काम रोकिएको थियो । तर फेरि दु्रतगतिमा काम भएको छ । ३० करोड ३० लाख ६४ हजार ५ सय २८ रुपैयाँमा पक्की धावनमार्ग, ट्याक्सी–वे, एप्रोन र टर्निङ प्वाइन्ट निर्माण भएको हो । तर विमानस्थलका लागि थप आवश्यक जग्गा खरिद गर्न सकिएको छैन । चौडाइ बढाउनुपर्ने अवस्था छ । धावनमार्गको दुवैतर्फ खाली जग्गा राख्नुपर्ने भएका कारण करिब २२ बिघा जग्गा खरिद गर्नुपर्ने अवस्था रहेको परियोजना प्रमुख महतोले जानकारी दिए ।

पर्यटन मन्त्रालयले उक्त जग्गा खरिदका लागि ५२ करोड विनियोजन गरिसकेको छ । अर्थमन्त्रालयले निकासा नदिँदा भने जग्गा खरिदको प्रक्रिया अघि बढ्न सकेको छैन । केही दिनभित्रै रकम निकासा भएमा जग्गा खरिद प्रक्रिया अघि बढ्ने महतोले जनाए । उनका अनुसार हालको अवस्थामै परीक्षण र अन्य नियमित उडान गर्न सकिने भए पनि दीर्घकालका लागि धावनमार्गको दुवैतर्फ खाली जग्गा राख्नुपर्ने भएका कारण जग्गा खरिद गर्न लागिएको हो । ‘राजविराज विमानस्थलको निर्माण कार्य सकिएर परीक्षण उडानका लागि तयार हुनु सप्तरीवासीका लागि खुसीको कुरा हो,’ जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादवले भने, ‘सप्तरीवासीले वर्षौंदेखि देखेको सपना बल्ल पूरा हुने भयो ।’ सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले विमानस्थलको निर्माणसँगै यहाँबाट नियमित उडान हुन सके जिल्लाको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : वैशाख ९, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?