यातायात सिन्डिकेटबारे सर्वोच्चको परमादेश

‘आयोग बनाएर बेथिति छानबिन गर्नू’
‘तर, तापनि, तथापि’ जस्ता शब्द प्रयोग गरेर आदेश कार्यान्वयनमा अलमल नगर्नू : सर्वोच्च
कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले यातायात क्षेत्रका बेथिति र अव्यवस्था छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

यातायात सिन्डिकेटबारे सर्वोच्चको परमादेश

व्यवसायीको एकाधिकारका कारण यात्रुले गुणस्तरीय सेवा नपाएको दाबी गर्दै दायर रिटमा सुनुवाइपछि सर्वोच्चले जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गरी प्रतिवेदन पेस गर्न आदेश दिएको हो ।


आयोगको क्षेत्राधिकार : सवारीसाधनको गुणस्तर, सडकको न्यूनतम मापदण्ड, प्रदूषणको अवस्था, रुट पर्मिट, यातायात साधन सञ्चालन विधि, सञ्चालन र व्यवस्थापनसँग जोडिएका निकायको पारदर्शिता र जवाफदेहिताका विषयमा छानबिन

सर्वोच्चको आदेशअनुसार गठन हुने आयोगले सवारीसाधनको गुणस्तर, सडकको न्यूनतम मापदण्ड, प्रदूषणको अवस्था, रुट पर्मिट, यातायात साधन सञ्चालन विधि, सञ्चालन र व्यवस्थापनसँग जोडिएका निकायको पारदर्शिता र जवाफदेहिताका विषयमा छानबिन गर्ने क्षेत्राधिकार पाएको छ । त्यसैगरी सुरक्षा, क्षतिपूर्ति, दुर्घटनामा दायित्व निर्धारणलगायत विषयमा समेत आयोगले अध्ययन गर्नेछ । न्यायाधीश आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘यातायात क्षेत्रमा रहेका बेथिति र अव्यवस्था पहिचान गरी कानुनी, नीतिगत र व्यवस्थापकीय पक्षमा गर्नुपर्ने सुधारका विषयमा समेत अध्ययन गरी प्रतिवेदन पेस गर्न एक उच्चस्तरीय आयोग गठन गर्नेतर्फ कानुनबमोजिम आवश्यक कार्य गर्नू/गराउनू ।’


सर्वोच्चले प्रधानमन्त्री कार्यालय, गृह, भौतिक पूर्वाधार तथा यातायात, अर्थ र वाणिज्य मन्त्रालय तथा यातायात व्यवस्था विभागका नाममा यस्तो आदेश दिएको हो । मुद्दामा विपक्षी बनाइए पनि अदालतले अख्तियार, मानव अधिकार आयोग, यातायात व्यवसायीका दुई महासंघ, साझा यातायात र ट्रक व्यवसायी महासंघका हकमा भने कुनै आदेश जारी गरेको छैन । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता ज्योति बानियाँले रिट दर्ता गरेका थिए ।


यसअघि पनि यातायात क्षेत्रमा देखिएका विकृति, विसंगति र एकाधिकारको विषयवस्तु र त्यसबारे कायम भएको नजिरलाई ‘नोटिस’ मा लिँदै सर्वोच्चले आदेश कार्यान्वयनमा ‘तर, तापनि, तथापि’ जस्ता शब्द प्रयोग गरेर अल्मल्याउन नहुने ठहर गरेको छ ।


सार्वजनिक यातायात क्षेत्रमा रुट पर्मिटसम्बन्धी व्यवस्था, व्यावसायिक संघ दर्ताको छानबिन, यातायात साधनको स्थिति, बाटो तथा रुट निर्धारण, भाडा निर्धारण विधि र प्रक्रियाका बारेमा उठेका गुनासालाई गम्भीरतापूर्वक लिँदै सर्वोच्चले नयाँ ढंगले उठेका सवाललाई समेत नजरअन्दाज गर्न नहुने राय व्यक्त गरेको छ । सडक सञ्जाल र सडकको अवस्था, यात्रुको चाप हेरी यातायात साधनको संख्या निर्धारण, खेप निर्धारण, कमाइको सुनिश्चितता, आन्दोलनका नाममा हुने नोक्सानीको क्षतिपूर्ति, यातायात मजदुरको सुरक्षालगायत विषयमा समेत अध्ययन गरी समाधान खोज्न सर्वोच्चले आदेश गरेको छ । ‘विधिको शासन कार्यान्वयनका लागि यो क्षेत्रको सुधार र सुव्यवस्था अपरिहार्य भएकोमा दुईमत हुन सक्दैन,’ निर्णयको पूर्णपाठमा भनिएको छ, ‘यी सबै विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार भएपछि मात्रै कानुनी र संस्थागत सुधारतर्फ मापदण्ड निर्धारण गरी काम गर्ने एवं सामूहिक हितको संवद्र्धन गर्न सकिने हुन्छ ।’


सर्वोच्चले हालको सवारी तथा यातायात व्यवस्थापन ऐनले समेट्न नसकेका विषयवस्तु र नयाँ ऐनमा हुनुपर्ने व्यवस्थाबारेमा समेत आयोगले अध्ययन गर्नुपर्ने औंल्याएको छ । यातायात व्यवस्थापन र उपभोक्ता हितसम्बन्धी कानुनले स्वच्छ प्रतिस्पर्धाको विषयवस्तुलाई महत्त्व दिएको व्याख्या गर्दै सर्वोच्चले संविधानको मौलिक हकमा समावेश उपभोक्ता अधिकारको विषयवस्तुलाई नजरअन्दाज नगर्न भनेको छ । नेपाल विश्व व्यापार संगठनको समेत सदस्य भइसकेको अवस्थामा अस्वस्थ क्रियाकलापविरुद्ध कदम चाल्नु सरकारलगायत सरोकारवालाको राष्ट्रिय दायित्व हुने सर्वोच्चले औंल्याएको छ ।


यसअघि पनि सिन्डिकेट र कार्टेलिङविरुद्ध विभिन्न मुद्दामा फैसला भएको उल्लेख गर्दै सर्वोच्चले यातायात क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा, सिन्डिकेट, कार्टेलिङलगायत कामको अन्त्य, पारदर्शी र यथार्थपरक भाडादर, दुर्घटनाको नोक्सानीको क्षतिपूर्ति बिमाबाट हुनुपर्ने विषय आदेश कार्यान्वयन नभएको सम्झाएको छ । निर्णयमा भनिएको छ, ‘सवारी तथा यातायात क्षेत्रमा विद्यमान भाडा, बिमा, सिन्डिकेट, कार्टेलिङसमेतका विषयमा यस अदालतबाट पटक–पटक निर्णय भए पनि विद्यमान बेथिति हटिसकेको देखिँदैन ।’


सर्वोच्चले यातायात क्षेत्रमा जारी भएका आदेश र फैसलाविरुद्धको आचरण र व्यवहारले लोकतन्त्र र विधिको शासनलाई कमजोर बनाउने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । २०७३ साल मंसिर ३० गते जारी भएको आदेशको पूर्णपाठ हालै तयार भएको हो ।

प्रकाशित : वैशाख ९, २०७५ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?