२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

३३ किलो सुन तस्करी: दोस्रो तहको ‘कनेक्सन’ खोतल्दै गृह समिति

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो सुनका विषयमा अनुसन्धान गर्न बनेको गृह मन्त्रालयको विशेष समितिले तस्करीलाई सघाउने दोस्रो तहको ‘कनेक्सन’ खोतल्न थालेको छ ।

३३ किलो सुन तस्करी: दोस्रो तहको ‘कनेक्सन’ खोतल्दै गृह समिति

समितिले आइतबार विमानस्थलका तत्कालीन डीआईजी गोविन्द निरौलालाई बयानपश्चात् पक्राउ गरेको थियो । उच्च स्रोतका अनुसार समितिले इटहरीस्थित डीएसपी सञ्जय राउत, एसपी विकासराज खनाल र एसएसपी श्याम खत्रीलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान अगाडि बढाएको छ ।

एसएसपी खत्री २०७३ पुस २१ मा विमानस्थलबाट बाहिरिएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीको अर्को घटनामा समेत मुछिएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलको भन्सारबाट बाहिरिएको सुन विमानस्थलको गोल्डेन गेटबाहिर बरामद गरेको थियो । उक्त सुन पास गराउन संलग्न रहेको भन्दै खत्रीलाई पक्राउ गरिएको थियो । तर उनले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले अब तस्करीलाई सघाउने दोस्रो तहमाथि अनुसन्धान केन्द्रित गरेको स्रोतले बतायो जसमा प्रहरीका केही बहालवाला अधिकारी, विमानस्थलका कर्मचारी र केही सुन व्यवसायीसमेत छन् । आइतबार पक्राउ गरी बानेश्वर वृत्तको थुनुवा कक्षमा राखिएका तत्कालीन डीआईजी निरौलालाई भने सोमबारै मोरङ पठाइएको छ । प्रहरीले सोमबारै जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । स्रोतका अनुसार आइतबारको बयानका क्रममा निरौलाले सुन तस्करीमा मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आफूले चिनेको र उनका बाबु आफ्नो साथी रहेको बताएका थिए ।

विमानस्थलबाट सजिलै बाहिरिएको सुन गुपचुप रूपमा लैजाने क्रममा बीच बाटोबाटै हराएको घटनामा तस्कर समूहले मोरङ स्थायी घर भई गौरीघाट बस्ने सनम शाक्यलाई शंका गरेको थियो । सुन पत्ता लगाउन समूहले शाक्यलाई मोरङ पुर्‍याएर निरन्तर कुटपिट र करेन्ट लगाएर फागुन १८ मा हत्या गरेको थियो । शाक्यको हत्यापछि मात्रै तस्करीको सुन हराएको र उक्त सुन विमानस्थलबाटै ‘सेटिङ’ मा बाहिरिएको तथ्य खुलेको थियो ।

अहिलेसम्म तस्करीमा संग्लन भएको आंशकामा समितिले १८ र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छन् । शाक्यको हत्यालगत्तै फागुन १८ गते महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल मोरङ पुगेका थिए । महाशाखाको उक्त अनुसन्धानमा कैफियत देखिएको भन्दै गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई प्रहरी प्रधान कार्यालय तानिसकेको छ ।

सई समातिए
यसैबीच, विशेष समितिले महानगरीय प्रहरी अपराध महाशाखाका सई गजेन्द्र रावललाई नियन्त्रणमा लिएको छ । सई रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्क देखिएको उच्च स्रोतको दाबी छ ।

स्रोतका अनुसार झन्डै एक वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कक्षबाट बाहिरिएको एक गाडीभित्र रहेको दुई केजी सुन गोरेले दिएको सूचनाका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो । समितिले सई सन्जेलसँग पनि यही प्रकरणमा सोमबार दोस्रोपटक बयान लिएको थियो । गोरेसँग निरन्तर सम्पर्कमा देखिएका सन्जेललाई यसअघि नै प्रहरी प्रधान कार्यालयमा तानिसकिएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?