बीपी प्रतिष्ठान सुधारको माग गर्दै हस्ताक्षर

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण संरचना र उपकरण खरिदमा भएको अनियमितता रोक्न माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । एक्सन धरान र धरान स्वतन्त्र समाजले यस्तो अभियान थालेका हुन् ।

बीपी प्रतिष्ठान सुधारको माग गर्दै हस्ताक्षर

ती संस्थाले प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई ज्ञापनपत्रसमेत बुझाए । प्रतिष्ठानको ‘पूर्ण पारदर्शिता’ सर्वसाधारणको अधिकार भएको जनाउँदै हस्ताक्षर अभियान सुरु गरेको संयोजक सचित शर्माले बताए ।

‘प्रतिष्ठान विभिन्न विवादमा फसेर लथालिंग हुनुमा राजनीतिक दलको आडमा कर्मचारीले मनोमानी गर्नु हो,’ उनले भने, ‘प्रतिष्ठानको नियमलाई कुल्चेर जनताको कर दुरुपयोग गरे पनि कारबाही नहँुदा बेथिति झनै बढेको छ ।’

नियमअनुसार चिकित्सक तथा कर्मचारीले राजनीति गर्न नपाउने भए पनि विभिन्न दलका नेता–कार्यकर्ता बनेर जागिर खानेलाई प्रतिष्ठानले कारबाही गर्न सकेको छैन । भवन निर्माण गर्ने ठेकेदार र मेडिकल उपकरण आपूर्ति गर्ने एजेन्सीसँग मिलेमतोको भागबन्डा नमिल्दा अनेक विवाद उत्पन्न भएको ती संस्थाको दाबी छ । ‘प्रतिष्ठानभित्र बेथिति मौलाएको छ,’ शर्माले भने, ‘यो चाँडै अन्त्य हुनुपर्छ ।’

ती संस्थाले निर्माणाधीन मातृ तथा शिशु उपचार केन्द्र भवनको दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी अविलम्ब काम सुरु गर्न पनि माग गरेका छन् । प्रतिष्ठान व्यवस्थापन पक्षकै लापरबाहीले मुटुरोग र क्यान्सर सेन्टरको भवन निर्माण रोकिएको भन्दै तत्काल ती योजना सुरु गर्न दबाब दिइएको छ ।

मुटु उपचार केन्द्र र क्यान्सर उपचार केन्द्रको भवन निर्माण गर्न परामर्श तथा प्राविधिक छनोट गर्दा नियमविपरीत केज कन्सल्टेन्सीलाई छनोट गरेकामा पनि आपत्ति जनाइएको छ । ‘नन प्राक्टिसिङ इन्स्टिच्युट’ हुँदाहँुदै पनि प्रतिष्ठानका चिकित्सक धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, सप्तरी र सिरहासम्म पुगेर लुकीछिपी पैसा कमाउ धन्दामा लागेको आरोप स्थानीयको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?