कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहत पर्खाइमा असिनापीडित

पाकेर भित्र्याउने बेलाको गहुँ र जौ बाली सखाप भएपछि कृषक भोकमरी निम्तिने चिन्तामा
तुलाराम पाण्डे

कालिकोट — खाँडाचक्र ३ ताडीका कृषक मणिराम पाण्डेले गत वर्ष १२ बोरा गहुँ उत्पादन गरेका थिए । आधा आफ्नो ६ जनाको परिवारका लागि राखेर बाँकी बिक्री गरे । त्यसबाट आएको आम्दानीले घरखर्च चलाए । यसपटक ३६ पाथी बीउ जाने जमिनमा गहुँ छरे ।

राहत पर्खाइमा असिनापीडित

हिउँदको सुक्खाबाट गहुँ बचाउन रातभरि नसुती खानेपानी पाइपबाट सिँचाइ गरे । बाली पनि राम्रै थियो । तर, पाकेर काट्ने बेला भएको गहुँ गत चैत २७ गतेको असिनापानीले सोत्तर पारेपछि उनी संकटमा छन् ।

‘१२ बोरा गहुँ फल्ने जग्गामा यसपालि दुई बोरा पनि भित्र्याउन पाइएन । खेतबारीमा गरेको दु:ख खेरै गयो,’ पाण्डेले भने, ‘अब के खाने ?’ जमिनका नाममा घरबारी मात्र भएका अर्का कृषक गोबी पाण्डेको अवस्था पनि उस्तै छ । ‘बारीको उत्पादनले ३ महिना खान पुग्थ्यो,’ ११ जनाको परिवार रहेका उनले गुनासो गरे, ‘यस वर्ष त वैशाखमै बेसाहा खोज्नुपर्ने भयो ।’ खाँडाचक्र–३ बिगारचाखाको बारीमा विगतमा ९ बोरा गहुँ उत्पादन हुने गरेकामा यसपालि असिनाले सबै सखाप पारिदियो ।

चैत १७ र २७ परेको असिनाले त्यस क्षेत्रको बाली पूरै नष्ट गरेको वडाध्यक्ष महावीर पाण्डेले बताए । उनका अनुसार ३ नंं. वडाका ३ सय घरधुरीका सबैजसो कृषकले गहुँ, जौ र तरकारी बाली भित्र्याउन पाएनन् । असिनाले खाँडाचक्रका वडा नं. ३ ताडी, वडा नं. ११ बरातुु, बदालकोट र जिम्जेडी, वडा नं. ४ दलित टोल, वडा नं. १ र २ मान्म र पोरीपाल्नी, कालिका–१ मा पर्ने छाती, नरहरिनाथका कोटबाडा, कुमालगाउँ, रुप्सालालु तथा माल्कोट, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका केही वडामा असिनाले गहँु, जौ, मसुरो र तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी क्षति खाँडाचक्र नगरपालिकाका १, २, ३ र ११ नं. वडामा पुगेको छ । खाँडाचक्र नगरपालिका, रास्कोट, कालिका, सान्नीत्रिवेणीलगायतमा आधा घण्टासम्म परेको असिनाले बाली नष्ट गरेको कार्यालयका बागवानी अधिकृत भक्तिराम शर्माले बताए । ‘सबैतिर ९० प्रतिशत जति बाली नष्ट भएको छ,’ उनले भने । पाकेर भित्र्याउने बेलाको गहुँ र जौ बाली सखाप भएपछि कृषकहरू भोकमरी निम्तिने चिन्तामा छन् । ‘बाली लगाउने बेला पनि पानी परेन,’ खाँडाचक्र ३ की मेनकाकुमारी पाण्डे चौलागाईंले भनिन्, ‘खानेपानीको पाइपले जसोतसो सिँचाइ गर्‍यौं तर काट्ने बेलामा असिनाले सबै झारिदियो ।’ खाँडाचक्रमा मात्र ३ करोड बढीको अन्न तथा तरकारी बाली क्षति भएको नगरपालिकाले जनायो ।

असिनाकै कारण कृषक मारमा परेपछि सांसद दुर्गाबहादुर रावत र जीवन बुढाले चैत २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । क्षतिको विवरण संकलन गर्न चैत २८ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसे पनि अझै टुंगिनसकेको प्रजिअ चन्द्रनाथ गौतमले बताए । ‘रास्कोट नगरपालिकाले पठाएको विवरण अस्वाभाविक देखिएको छ,’ उनले भने ।

शंकाको घेरामा विवरण
रास्कोट नगरपालिकाले मात्र १२ करोडको अन्न, फलफूल र तरकारी नष्ट भएको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाएको छ । यसमा समितिका अधिकांश सदस्यले आपत्ति जनाएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा बिहीबार मान्ममा आयोजित बैठकमा सहायक प्रजिअ राजकुमार दुलालले स्थानीय तहबाट आएका क्षतिको विवरण प्रस्तुत गरेका थिए । रास्कोटका सिप्टी विशाली, पलातीवाडा, स्युना, हप्पी स्युना, सिप्खाना, बड्डालालगायत स्थानका किसानको नामसहित क्षति विवरण आएको छ । बैठकका सहभागीले एउटै पालिकामा १२ करोडको तरकारी, फलफूल र अन्न उत्पादन हुन्छ–हुँदैन भन्ने बुझेर मात्र अघि बढ्नुपर्ने प्रस्ताव राखे । यसमा सहमति जनाउँदै दल, कर्मचारी र पत्रकारमार्फत अनुगमन गराएर मात्र विवरण यकिन गर्ने निर्णय भएको छ ।

रास्कोटका निमित्त कार्यकारी अधिकृत र नगरप्रमुखले नाम नलेखी हस्ताक्षर मात्र गरेर समितिलाई पठाएको विवरणमा ९ सय २७ हेक्टरमा लगाएको तरकारी, ४ सय ८६ हेक्टरमा लगाएको फलफूल, १ सय ६२ हेक्टरमा लगाएको गहुँ, जौ बाली (कुल १२ हजार ९ सय ६२ मेटिक टन) को अनुमानित मूल्य १२ करोड ९ लाख ६४ हजार ८ सय १० रुपैयाँबराबर क्षति भएको उल्लेख छ । जनप्रतिनिधिले सही तथ्य दिनुपर्नेमा हचुवाको भरमा विवरण पठाएको सहभागीले आरोप लगाए ।

प्रकाशित : वैशाख ११, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?